
१२ भदौ, काठमाडौं । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी दाङ जिल्लामा भदौ १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसअघि दाङ प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाउँदै आएको थियो ।
निषेधाज्ञा अवधिभर सरकारी कारोबार गर्न अनुमति प्राप्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरु सन्चालन गर्न दाङ प्रशासनले रोक लगाएको छ । निजी बैंक तथा वित्तीय संस्था नखोली नहुने भएमा सरकारबाट तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गरी निश्चित अवधीसम्म न्यूनतम कर्मचारीबाट मात्रै खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।
अत्यावश्यक सवारी साधनबाहेक सार्वजनिक यातायात, सवारी पास नलिएका निजी सवारी साधनहरु सन्चालन गर्न पाइने छैन ।
अत्यावश्यक सेवा तथा बस्तु उत्पादन र वितरण गर्ने उद्योग तथा व्यवसायहरु बाहेकका अन्य उद्योग, व्यापार र व्यवसाय सन्चालन गर्न पनि पाइने छैन ।
कुनै पनि प्रकारका मेला, महोत्सव, सभा, सम्मेलन, जुलुसलगायतका भीडभाड बढाउने गतिविधिमा पनि रोक लगाइएको छ ।
निषेधाज्ञामा होटल, रेष्टुराँ र खाजा घर पनि खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
दाङ जिल्लामा हालसम्म ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचना
प्रतिक्रिया 4