Comments Add Comment

चेम्बर अध्यक्ष भन्छन्-उपत्यकामा आवत-जावत रोकौं, १७ गतेपछि निषेधाज्ञा हटाऔं

१४ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले १७ गतेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्न नहुने बताएका छन् ।

बन्द थपेको थप्यै गर्दा मुलुकको अर्थतन्त्र डामाडोल हुने भन्दै उनले १७ गतेपछि काठमाडौं प्रवेश गर्ने नाकाहरुबाट मान्छेको आवात-जावत रोकेर काठमाडौं उपत्यका भने खोल्नुपर्ने बताएका हुन् ।

उनले जोरबिजोर प्रणाली भने कायम गर्नुपर्ने बताए । व्यापार व्यवसायहरु पनि निश्चित समय र दिन तोकेर सञ्चालनमा ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । ‘बन्द नै समाधान होइन, मुलुकको अर्थतन्त्रलाई बचाउन पनि हामीले निषेधाज्ञा खोल्नैपर्छ’ उनले भने, ‘ बजार खुला गरेपछि सतर्कता अपनाउनुपर्छ, तर बन्द राख्नुहुँदैन ।’

काठमाडौं भित्रिने थानकोट, दक्षिणकाली, साँगा लगायतका नाकाहरुमा मान्छे रोकेर काठमाडौं उपत्यकालाई जोगाउन सकिने बताए ।

उनले अहिले सरकारले डेलिभरी सेवा प्रदायकलाई रोक लगाएकोप्रति पनि दुःख व्यक्त गरे । उनले ई-कर्मलाई प्रोत्साहन गर्नुपर्ने बताए । पछिल्लो समय व्यापार ठप्प हुँदा उद्योगी-व्यवसायीहरुको मनोवल घटेको उनको बुझाइ छ । अब सरकारले उद्योगी/व्यवसायीको मनोबल बढाउने नीति लिनुपर्ने उनले बताए ।

यसरी बन्द हुँदा राज्यको आम्दानी राजस्व पनि गुम्ने र धेरैको रोजगारी पनि गुम्ने भएकाले लामो समय बन्द राख्न नहुने उनको तर्क छ ।

अब सरकारको भर पर्ने भन्दा पनि सबैजना आफैं सचेत हुनुपर्ने श्रेष्ठको सुझाव छ । सबै सचेत हुने हो भने बन्द गर्नैपर्ने आवश्यकता नरहेको  उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment