Comments Add Comment

टर्कीमा इब्रु तिम्तिकको भोक हड्तालको क्रममा २३८ औं दिनमा मृत्यु

१४ भदौ, काठमाडौं । टर्कीका मानव अधिकारवादी वकिल इबू तिम्तिकको भोक हडतालको क्रममा २३८ औं दिनमा मृत्यु भएको छ । आफ्नो र अन्य मानिसहरुको लागि स्वच्छ कानुनी कारबाहीको माग गर्दै भोक टर्कीको जेलमा नै भोक हडतालमा बसेकी तिम्तिकको मृत्यु भएको हो ।

सन् २०१७ को सेप्टेम्बरमा सरकारविरोधी मानिसहरुको पक्षमा वकालत गरेको भन्दै सरकारले उनीसहित १८ वकिललाई पक्राउ गरेको थियो ।

तिम्तिकको भोक हडतालको क्रममा मृत्यु भएसँगै युरोपेली संघको विदेश मामिलाका प्रवक्ता पिटर स्टानोले टर्कीले विश्वसनीयरुपमा मानव अधिकारको अवस्था र टर्कीको न्यायालयमा देखिएका गम्भीर कमजोरीमा सुधार गर्नुपर्ने बताए ।

यसअघि राष्ट्रपति रिसेप तेइप एर्दोगानको शासनमा अदालतको निष्पक्षतामा प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय र स्थानीय समूहहरुले वकिलको रिहाइको माग गरेका थिए । बिहीबार राति तिम्तिकको मृत्युको घोषणा गरिएको थियो ।

यसअघि गत अप्रिल र मे महिनामा भोक हडतालकै क्रममा वामपन्थी संगीतकारहरुको मृत्यु भएको थियो । जेलमा नै भोक हडतालमा बसेकी तिम्तिकलाई गत जुलाईमा अस्पतालमा सारिएको थियो । तिम्तिककी बहिनी (काकाकी छोरी) ले जेलमाभन्दा अस्पतालमा उनको अवस्था नाजुक भएको बताइन् ।

अस्पतालमा तिम्तिकको कोठामा रातको समयमा बत्ती हुँदैनथ्यो भने निरन्तर चिसो हावा आइरहन्थ्यो । उनका अनुसार अस्पतालका कर्मचारीहरु निरन्तर तिम्तिकलाई खाना खान र औषधि लिन दबाब दिइरहन्थे ।

गत वर्षको अक्टोबरमा टर्कीको पुनरावेदन अदालतले तिम्तिकसहित १८ वकिललाई यसअघि तल्लो अदालतले सुनाएको लामो समयको जेल सजाय कायम राख्ने फैसला सुनाएको थियो । उनीहरुमाथि अवैध माक्र्सवादी संगठनसँग सम्बन्ध रहेको आरोप लगाइएको थियो ।

सन् २०१८ को सेप्टेम्बरमा तिम्तिकलाई अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको थियो । गत फेब्रुअरीबाट तिम्तिक र उनकी एक साथीले तरल र भिटामिन मात्र खाँदै भोक हडताल शुरु गरेका थिए ।

स्रोत : न्युयोर्क पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment