Comments Add Comment

म्यूजिक भिडियोमा महंगा नायिका, तर मेकरलाई फाइदा के ?

 

एक समय थियो, चलचित्रमा चलेका नायिकाहरु म्युजिक भिडियो खेल्न भनेपछि नाक खुम्च्याउँथे । तर, अहिलेको परिस्थिति अर्कै छ ।

विगत ६ महिनादेखि चलचित्र क्षेत्र ठप्प छ । फागुनदेखि रोकिएको चलचित्रको छायांकन भदौको मध्यसम्म आइपुग्दा पनि सुचारु हुन सकेको छैन । यसले, सयौ प्राविधिक बेरोजगार भएका छन् भने कलाकारहरु पनि घरमै थन्किएका छन् । केही कलाकार सम्झौता गरेको चलचित्रको छायांकन सुरु नहुँदा अलमलमा छन् भने केही भविष्यको चिन्तामा डुबेका छनज् ।

तर, संगीत क्षेत्रको अवस्था भने फरक छ । लकडाउन सकिएलगत्तै गीत रेकर्डिङ र म्यूजिक भिडियोको छायांकन धमाधम सुरु भयो । फुर्सदिला नायिकाहरुलाई म्युजिक भिडियोबाट अफरअरु आउन थाले । उनीहरुले नाई भन्ने कुरा थिएन । बरु ५ महिनादेखि घरमा थन्किएका उनीहरु उत्साहका साथ म्युजिक भिडियो खेल्न थाले । खासगरि नायिकाहरुलाई म्युजिक भिडियोले धेरै राहत दिएको छ ।

लकडाउनपछि छायांकन भएका धेरै म्यूजिक भिडियोमा नेपाली चलचित्रका नायिकाहरुको बाहुल्यता देखियो । नायक–नायिकाको उपस्थिति म्युजिक भिडियो ‘रिच’ देखिने लोभ भिडियो निर्मातालाई छ । नायक–नायिकालाई थोरै भए पनि आम्दानीको स्रोत खुलेको छ । यद्यपि, कतिपय भिडियो निर्माताहरु भने महंगा नायिकाभन्दा टिकटक स्टारमा भर पर्न थालेका पनि छन् ।

को–को नायिका व्यस्त ?

लकडाउनपछि म्यूजिक भिडियोमा केही चल्तीका नायिकाहरु व्यस्त देखिएका छन् । निकै कम म्यूजिक भिडियोमा काम गरेकी नायिका पूजा शर्माले लकडाउनपछि ४ वटा भिडियो खेलिन् । जसमध्ये नायक आकाश श्रेष्ठ र पल शाहसँग उनले काम गरेका २ वटा म्यूजिक भिडियो सार्वजनिक भैसकेका छन् ।

नायिका स्वस्तिमा खड्काले पनि केही भिडियोमा काम गरिन् । चर्चित गीत ‘मायालु तिमी कता छौ…’ को दोश्रो भागमा उनले नायक पल शाहसँग रोमान्स गरेकी थिइन् । नायक नाजिर हुसेनसँग पनि एक गीतमा उनले काम गरिन् ।

म्यूजिक भिडियोबाटै चर्चामा आएकी नायिका आँचल शर्मा, नायिका वर्षा राउतका पनि केही भिडियो सार्वजनिक भएका छन् । यस्तै, नायिका वर्षा सिवाकोटी, प्रियंका कार्की, नीता ढुंगाना, अनु शाह लगायत पनि भिडियोमा काम गरिरहेका छन् । नीता ढुंगानाले आफैं एउटा भजन गाएर पनि भिडियो सार्वजनिक गरेकी छन् ।

नायिका लिँदा के फाइदा ?

उसो त म्यूजिक भिडियोमा नाम चलेका मोडलदेखि टिकटकमा रुचाइएका नयाँ अनुहारलाई लिएर पनि भ्यूज राम्रै गइरहेको मेकरहरु बताउँछन् । तर, नायिकालाई भिडियोमा खेलाउँदा केही फाइदा हुने उनीहरुको तर्क छ ।

निर्देशक निकेश खड्का भन्छन्–‘नायिकाहरुलाई लिदा दर्शकको सुरुवाती आकर्षण बढ्न सक्छ । तर, नायिकाहरुले पनि भिडियो सँधै गर्न भने हुँदैन । कहिलेकाहीँ मात्र मात्र भिडियो गर्ने कलाकारलाई दर्शकहरुले चासोपूर्वक हेर्छन् ।’

नायिका पूजा शर्मालाई लिएर हालै एक भिडियो तयार गरेका निकेशले अगाडि भने–‘चलचित्रका कलाकारको फ्यान क्रेज राम्रो हुन्छ । उनीहरुले थोरै तर स्तरिय भिडियो खेलेको खण्डमा यसले भिडियो बनाउनेलाई फाइदा हुने देखिएको छ ।’

नायिकाहरुलाई लिएर म्यूजिक भिडियो बनाउँदै आएका निर्देशक तथा मेकर सरोज वली भन्छन्– ‘नायिकाहरुलाई लिदा भिडियो फिल्मी हुँदो रहेछ । यदि कुनै मेकरले आफ्नो भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गर्न चाह्यो भने नायिका खोज्छ ।’

को कति महंगा ?

म्यूजिक भिडियो होस् या चलचित्र, कलाकारहरु पारिश्रमिक सार्वजनिक गर्न चाहँदैनन् । तर, चलचित्रका नायिकाहरुलाई भिडियोमा लिदा मेकरले महंगो रकम तिर्ने गरेका छन् ।

चलेका नायिकाहरुले एउटा भिडियो खेलेको एक लाख रुपैयाँसम्म माग्ने गरेको पाइएको छ । यद्यपि, व्यक्तिगत चिनजान, गीतको गुणस्तर वा गायक–गायिकाको क्रेज हेरेर कम शुल्कमा पनि काम गर्न तयार हुन्छन् । नायिका केकी अधिकारीले प्रकाश सपुतको सन्देशमुलक ‘बदला बरिलै…’ गीतमा निशूल्क अभिनय गरेकी थिइन् । अन्यथा केकीले एउटा भिडियो खेलेको ५० देखि ६० हजार रुपैयाँ चार्ज गर्छिन् । एक समय म्युजिक भिडियोमा केकीको निकै बोलबाला थियो । अहिले केही घटेको छ ।

कम म्युजिक भिडियोमा खेलेकी नायिका पुजा शर्माले ८० हजारदेखि १ लाख रुपैया लिने गरेकी छन् । नायिका प्रियंका कार्कीले एक लाख रुपैयाँ डिमान्ड गर्छिन्, तर कममा पनि खेल्न तयार हुन्छिन् । म्युजिक भिडियोमा अत्यधिक चलेकी आँचल शर्माले ८० हजारको हाराहारी लिन्छिन् । यस्तै वर्ष शिवाकोटी र वर्षा राउतको रेट ७० हजारको आसपास छ । नीता ढुंगानाले ४० देखि ५० हजारमा काम गर्छिन् । चलचित्रमा निकै सफल भइरहेकी स्वस्तिमा खड्का पनि म्युजिक भिडियोमा ७० देखि ८० हजार रुपैयाँ लिएर अभिनय गर्छिन् ।

म्युजिक भिडियोमा नायक र नायिकाहरुले लिने पारिश्रमिकमा फिल्ममा जस्तो ठूलो अन्तराल छैन । नायकहरुले पनि बढिमा १ लाख रुपैयाँ लिने गर्छन् । पल साह र पुष्प खड्काको डिमान्ड म्युजिक भिडियोमा बढि छ । पलले एउटा भिडियोमा एक लाख रुपैयाँसम्म माग्छन् । पुष्पको उनको भन्दा केही कम छ । अर्का नायक नाजिर हुसेनले ५० देखि ६० हजार लिएर खेल्छन् ।

नायिकाहरुले चलचित्रको काममा व्यस्त भइरहँदा भिडियोलाई हेप्थे । भिडियोको प्रचार नै नगरिदिने, फेसबुकमा शेयर पनि नगरिदिने गर्दा मेकरहरु उनीहरुसँग विच्किए । जसले गर्दा मेकरहरु टिकटक स्टारतिर लागे । अहिले हातमा चलचित्र नभएकाले हुनसक्छ, नायिकाहरु भिडियो प्रमोशनमा खुलेरै लागेका छन् । भिडियोको वर्कशपका लागि समय दिने, २–३ दिन लगाएर भिडियो छायांकन गर्ने, प्रचारमा पनि खुलेरै लाग्ने गरेको देखिएको छ । यसले भिडियो बनाउने मेकरलाई फाइदा मिलेको छ नै ।

नायिका पूजा शर्माले चलचित्रलाई समय दिनुपरेको अवस्थामा आफूले भिडियो नखेल्ने बताइन् । उनले भनिन्–‘म चलचित्र रिलिज भएको समयमा खासै भिडियो खेल्दिनँ । तर, अहिले चलचित्र नभएकाले दर्शकले नविर्सिउन् भनेर अनि आफ्नो काम दर्शकमाझ सार्वजनिक गर्न पाइने भएकाले पनि भिडियो खेलेकी हुँ । यसले मेरो चलचित्रको कामलाई असर गर्दैन ।’

नायिकालाई फाइदा र वेफाइदा

नायिका होस् या नायक, म्युजिक भिडियो खेल्दा उनीहरुको स्टारडमलाई असर गर्ने टिप्पणी गरिन्छ । त्यही भएर केही चर्चित स्टारहरु अहिलेसम्म म्युजिक भिडियोमा देखिएका छैनन् ।

म्युजिक भिडियोमा धेरै देखिने नायिकाहरु दर्शकका लागि प्रतिक्षित हुँदैनन् र उनीहरुको चलचित्र हेर्ने कौतुहल पनि कम हुन्छ । यसले गर्दा फिल्ममा नायिकाहरुको डिमान्ड घट्न सक्छ । निर्माता–निर्देशकले म्युजिक भिडियोमा बढि देखिने नायिकालाई ठूलो भाउ नदिन सक्छन् । अर्कोतर्फ कतिपय समय चलचित्र र म्युजिक भिडियो एकैसाथ आउँदा दर्शक झुक्किने खतरा पनि हुन्छ ।

तर, धेरै कलाकार यो कुरा मान्न तयार छैनन् । नायिकाहरु भिडियो होस् या चलचित्र, काम काम नै हुने भएकाले सानो र ठूलो भन्न नहुने तर्क गर्छन् । त्यसो त, धेरै नायिकाको आम्दानीको मुख्य श्रोत नै भिडियो बनेको छ । त्यसैले, जति आलोचना भएपनि नायिकाहरु भिडियोमा देखिने गरेका छन् ।

राम्रो गीतमा स्तरिय भिडियो खेल्दा नायिकाहरुलाई वेफाइदा भएको छैन । केही नायिकाहरुले आफ्नो खस्कदो करिअरलाई म्युजिक भिडियोबाटै चम्काएका पनि छन् । जस्तो कि ‘सालको पात..’ बोलको गीतको भिडियो खेलेर मरिश्का पोखरेल चर्चामा आइन् । वर्षा राउतलाई ‘दारी फुले बैंशैमा’ ले निकै फाइदा भयो । नीता ढुंगानाले ‘लाहुरै गै गयो.. ’ बोलको भिडियोबाट तारिफ पाइन् । अहिले केकी अधिकारीले ‘बरिलै..’ बाट प्रशंसा बटुलिरहेकी छन् ।

तर, पैसाका लागि आँखा चिम्लिएर जस्तो पायो त्यस्तो भिडियो खेल्दा नायिकाको क्रेज खस्किने पक्का छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment