Comments Add Comment

माछा पोखरीको विद्युतीय धराप : कानुनी कि गैरकानुनी ?

१५, भदौ, चितवन । भरतपुर महानगरपालिका – ८ मा चुडामणि शर्मासहितका चार जना युवाले तीनवटा पोखरीमा माछा पाल्दै आएका थिए ।

माछापालनसँगै कागती खेती र हाँस पनि पालेका थिए । उनीहरुको पोखरीबाट दिनदिनैजसो माछा हराउँदै थयो । धेरै समयपछि उनीहरुले अनुमान गरे कि कसैले पोखरीबाट माछा चोरेर लैजाने गरेको छ ।

रातको समयमा माछा चोरी भएको निष्कर्षमा पुगेपछि उनीहरुले माछापोखरीको डिलमा जीआई तारले बेरे र तारमा करेन्ट छाडिदिए । उनीहरुले हरेक दिन राति १० बजेदेखि विहान ४ बजेसम्म नाङ्गो तारमा करेन्ट छाड्थे । लकडाउनपछि कामदारलाई नबोलाएपछि चूडामणि आफैं बसेर पोखरीको रेखदेख गर्थे । आइतबार आफू नबसेको हुनाले उनले करेन्ट छाडेका थिए ।

राति स्थानीय दुई युवा पोखरीबाट माछा निकाल्न झुल लिएर पोखरीमा गए । पोखरीमा छेउमा टाँगिएको नाङ्गो तारको विद्युतीय धरापमा परे । दुबै जनाको त्यहीँ नै मृत्यु भयो । मृत्यु हुनेमा भरतपुर–८ का ३५ वर्षीय नवराज दराई र ३५ वर्षकै निरबहादुर रानामगर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले विहान ६ बजे घटनाका बारेमा थाहा पाएर प्रहरीलाई खबर गरे ।

घटनास्थल हेर्दा एकजना घोप्टो परेको र अर्को उत्तानो परेर लडिरहेका अवस्थामा भेटिएको वडा नं. ८ का वडाध्यक्ष दामोदर न्यौपानेले बताए । एकजनाको हातमा लामखुट्टेको झुलसमेत भेटिएको थियो । मृतक दुबै जना ज्याला मजदुरी गर्ने युवाहरु हुन् ।

मृत्य हुने एक जना यसअघि पनि पक्राउ परेर छाडिएका युवा हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार पोखरी सञ्चालक सुरेन्द्र शर्मा र चूडामणि पौडेल पक्राउ परेका छन् । उनीहरुले विद्युतीय तारवार लगाउने बारेमा वडा कार्यालय, स्थानीय टोल विकास संस्थालाई जानकारी दिएका थिएनन् र अनुमति पनि लिएका थिएनन् ।

स्थानीय टोल विकास संस्थाका अध्यक्ष दिनेश अधिकारीले घटनापछि मात्रै माछा पोखरीको डिलमा विद्युतीय तारबार गरिएको जानकारी पाएको बताए । विद्युत वितरण केन्द्र भरतपुरका प्रमुख सुरेश महतोले विद्युतीय तारबार लगाउने अनुमतिका लागि कोही पनि नआएको बताए । ‘अहिलेसम्म यसरी अनुमति माग्न कोही आएको थाहा छैन, विद्युुतीय झट्का लगाउन पाइन्छ जस्तो त मलाई लाग्दैन, यो पहिलो घटना हो’ महतोले भने ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्दै प्रवक्ता थापाले मृतकको पोष्टमार्टम पछि थप कुरा पत्ता लाग्ने बताए ।

विद्युतको झट्का लगाउन पाइदैन

चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुले मध्यवर्ती क्षेत्रका बासिन्दाको बालीनाली नोक्सानी गर्ने भएकोले सीमा क्षेत्रमा विद्युतीय झट्का दिने गरिएको छ । सायद यसैको देखासिकी गर्दै यी युवाहरुले पनि विद्युतीय झट्काका नाममा सिधै विद्युत लाइनमा जोडेर दिएको हुनसक्ने वडाध्यक्ष दामोदर न्यौपानले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जको सहमतिमा मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट जोगाउन विद्युतीय झट्का दिने फेन्सिङ विभिन्न ठाउँमा बनाएको छ । कोषले २०६३ सालदेखि नै मध्यवर्ती क्षेत्रमा यस्तो विद्युतीय झट्का दिने बार लगाउँदै आएको छ ।

विद्युतीय फेन्सिङमा सोलार सिष्टम जोडिएको हुन्छ । धारा विद्युत जोडिएको हुँदैन । कोषका इन्जिनियर आनन्दराम थापाले सोलार सिष्टमबाट मात्रै विद्युतीय झट्का दिन पाइने तर विद्युत लाइनबाट सिधै झट्का दिन नपाइने बताए ।

मध्यवर्ती क्षेत्रमा ग्यालगरको सहायताले २ किलो भोल्टदेखि १० किलो भोल्टसम्म रातको समयमा सोलारको विद्युतीय करेन्ट छाड्ने गरिएको इन्जिनियर थापाले बताए । ‘साना साना जनावरलाई दुई किलोभोल्ट नै झट्का हान्छ र भाग्छन् भने, ठूला जनावर हात्तीलाई १० किलोभोल्टसम्म प्रयोग गरिन्छ’ इन्जिनियर थापाले भने ।

तर हिजोआज ८ किलो भोल्टभन्दा बढी करेन्ट छाडिएको छैन । यस्तो झट्का एक दुईपटक वन्यजन्तु परेपछि फेरि फर्किएर कुनै पनि हालतमा नआउने इन्जिनियर थापाले बताए । निकुञ्ज क्षेत्रमा ५० किलोमिटर यस्तो सोलार फेन्सिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment