Comments Add Comment

फर्पिङ र छैमलेका कृषकको पिरलो : नास्पाती बारीमै कुहिने भो !

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोक्न लागू भएको निषेधाज्ञाले कृषकहरुलाई समस्या परेको छ । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूलहरु बजार अभावमा कुहिएर जाने अवस्थामा आएको हो ।

संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बोटमै कुहिने अवस्थामा पुगेको छ । वषर्ाको सिजनमा नास्पाती बिक्रीबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ ।

विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष कोरोना र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन -निषेधाज्ञा) का कारण आएका छैनन् । दक्षिणकाली नगरपालिका ८ छैमलेका तेजबहादुर लामा नास्पातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कुहिएर खेर जाने पो हो की भन्ने चिन्तामा छन् ।

गत वर्ष ९० हजार बराबरको २ सय बोरा नास्पाती बिक्री गरेका उनको खेतबारीमा ३४ बोट नास्पाती छन । यो वर्षपनि २ सय बोराभन्दा बढी फलेपनि बिक्री नै नहुँदा घर खर्च कसरी धान्ने समस्या लामालाई परेको छ ।

विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजार देखि १ लाख रुपैयाँसम्मको नास्पाती बिक्री गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिँदै लाग्दा पनि बजार व्यवस्थापनमा समस्या हुँदा समस्यामा परेका हुन् ।

जीविका चलाउने आधार नै नास्पाती भएपनि बिक्री नहुँदा सरकारले व्यवस्थापन गर्नपर्ने बताउँछन् किसान पूर्ण बहादुर तामाङ । महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लकडाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउदा कुहिने अवस्थामा रहेका फलफूल, तरकारी लगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment