+
+
Shares

उत्कृष्ट गाईपालक किसान, जसले शून्यबाट ४ करोड बनाए पूँजी

ढकालका ६ वटा गोठमा साना–ठूला गरी १६० वटा होलिस्टिन र जर्सी गाई छन् । तीमध्ये ५५ वटा दूध दिने, ४० वटा बाच्छी र बाँकी ब्याउने गाई छन् ।

सुवास पण्डित सुवास पण्डित
२०८२ साउन २६ गते १८:१५

२६ साउन, काठमाडौं । गत १० असारमा राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका १४ जना किसानलाई राष्ट्रिय कृषक पुरस्कारबाट सम्मान गरे । तीमध्ये एक थिए, चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरका चेतप्रसाद ढकाल ।

ढकालले उत्कृष्ट किसान भएर पुरस्कार पाएको यो पहिलो पटक भने होइन । उनले गत वर्ष बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाबाट उत्कृष्ट किसान भएवापत २० हजार पुरस्कार पाएका थिए ।

राष्ट्रपतिबाट राष्ट्रिय पुरस्कार पाएकोमा ढकाल निकै खुसी छन् । राज्यले सम्झिएर दुई लाख नगदसहित सम्मान गरेकोमा हौसला थपिएको उनले बताए ।

२०७२ सालदेखि व्यावसायिक रूपमा गाई पाल्न थालेका ढकालका ६ वटा गोठमा साना–ठूला गरी १६० वटा होलिस्टिन र जर्सी गाई छन् । तीमध्ये ५५ वटा दूध दिने, ४० वटा बाच्छी र बाँकी ब्याउने गाई छन् । गोठमा २०० जति गाई बनाउने सोच उनको छ ।

हरेक बिहान ३ बजे उठेर गाईको काममा खटिने ढकालले ७ बजेसम्म गोठको काम भ्याउँछन् । त्यसपछि गाईलाई औषधि खुवाउने, दूध दुहुने, दाना बनाउने, सामान जुटाउने काम गर्छन् ।

उनले गाईको गोबर बगाएर सिधै खाडलमा लैजाने र त्यहाँबाट तानेर बारीमा हाल्ने गरी गोठ बनाएका छन् ।

अहिले दैनिक ८०० लिटर दूध बेचिरहेका ढकाल पिक सिजनमा १ हजार ४०० लिटरसम्म दूध बेच्छन् । वर्षमा औसत दैनिक १ हजार १०० देखि १ हजार २०० लिटर दूध ७२ रुपैयाँ लिटरमा बेच्ने गरेको उनी बताउँछन् ।

‘अहिले त दूध कम भएकोले खासै नाफा छैन । तर सालाखाला महिनामा एक/डेढ लाख जोगाउन कुनै समस्या हुँदैन,’ ढकाल भन्छन्, ‘गाई पालेर कहिल्यै घाटा लाग्दैन ।’

रत्ननगर नगरपालिकाले लिटरमा १ रुपैयाँ दूधमा अनुदान दिने गरेको छ । नगरपालिकाबाट सिधै अनुदान पाउने किसानमा उनी पर्छन् ।

ढकालले घरमा नै दूध चिस्याउन चिलिङ भ्याट राखेका छन् । दैनिक डेरीले दूध लैजान्छ । दूध दुहुने १० वटा मेसिन छन् । चिलिङ भ्याट, दूध दुहुने मेसिन, साइलेज बनाउने मेसिन प्रदेश सरकारको लागत साझेदारीमा ल्याएका हुन् ।

ढकालले गोठको सेड पनि प्रदेश सरकारसँग लगानी साझेदारीमा बनाएका छन् । गाई फार्ममा ८ जनाले रोजगारी पाएका छन् ।

आफ्नो ७ कठ्ठा जग्गामा घर र गोठ बनाएका ढकालले ६ बिघा जग्गा घर नजिकै लिजमा लिएर घाँस रोपेका छन् ।

जागिरबाट व्यावसाय

राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय कृषक पुरस्कारबाट सम्मानित हुँदै ।

२०५६ सालतिर जुटपानीको कालिका दूध चिस्यान केन्द्रमा ६ वटा सहकारीका किसानले दूध जम्मा गर्थे । ढकाल पनि भैंसीको दूध लिएर डेरी जान्थे । सो डेरीले एक कार्यालय सहयोगी मागेपछि उनले पनि फारम भरे । नाम निस्कियो । मासिक १ हजार २०० रुपैयाँमा काम गर्न थाले । पछि व्यवस्थापक भएर १७ वर्ष काम गरे ।

२०६८ सालमा ढकाल आफैंले ४ वटा होलिस्टिन गाई किने । ऋण धन गरेर २ लाख ४० हजार रुपैयाँमा गाई ल्याएको ढकाल सम्झन्छन् ।

आफ्नो गाईको दूध पनि डेरीमा लैजान्थे । २०७२ मा जागिर नै छाडे । अनि गाई थपेर २० वटा बनाए । पछि गोठहरू विस्तार गर्दै लगे ।  दैनिक २०० लिटरसम्म दूध बेच्न थाले । घरमै ५०० लिटरको चिलिङ भ्याट पनि राखे । अहिले २ दिनको दूध अटाउने २ हजार लिटर क्षमताको चिलिङ भ्याट ढकालसँग छ ।

जुटपानीबाट सधै दूध लैजाने ‘संयुक्त डेरी’ ललितपुरले ढकालको घरबाट पनि दूध लैजान थाल्यो । विगत १० वर्षदेखि सोही डेरीले नियमित दूध लैजाने गरेको छ । दूधको भुक्तानी कोरोना महामारीको बेलामा पनि रोकिएन । दूध दुहुने मेसिन र चिलिङ भ्याट राखेपछि दैनिक डेरीमा दूध लैजानुपर्ने र दूध दुहुने झन्झन्ट पनि हट्यो । डेरीमा जाँदा एक बिहान सकिन्थ्यो । अहिले घरको काम गर्ने समय मिलेको ढकाल बताउँछन् ।

ढकालका भाइहरू भेटेरियन छन् । जसले गर्दा ढकाललाई धेरै सजिलो भएको छ । एआई गर्नदेखि गाई बिरामी हुँदा भाइहरुले नै हेरिदिन्छन् । उनीहरूले उत्पादन गरेको दूध पनि ढकालले बेच्ने गरेका छन् । कच्चा पदार्थ ल्याएर ढकाल आफैं दाना चोक्कर बनाउँछन् ।

युवालाई ढकालका टिप्स

गाई फार्ममा चेतन ।

देशमा केही भएन, रोजगारी पाइएन भनेर १८/१९ वर्षका युवा विदेश जाने लहर नै चलेको छ । ढकाल यसरी विदेश जाने युवालाई महिनामा २०/३० हजार कमाउन विदेश नजान सुझाव दिन्छन् । पाँच वटा गाई पालेर दूध बेच्न सके घरमै बसेर महिनामा ३०/४० हजार कमाउन सकिने उनको दाबी छ । आफूले शून्यबाट चार करोड बराबरको पूँजी गाई पालेर नै बनाएको ढकालले बताए ।

‘५ वटा गाई पाल्नुस्, ३ वटा लैनो हुन्छन्, २ वटा ब्याउने हुन्छन् । घरमा श्रीमती वा बाबुआमाले पनि साथ दिइहाल्नुहुन्छ, कामदारलाई तलब दिनु पनि पर्दैन, अलिकति घाँस छरे भैहाल्यो,’ ढकाल भन्छन् ‘यति सजिलो छाडेर ४०/५० डिग्री गर्मीमा अरूका देशमा काम गर्न किन जाने ? भाँडा माझ्न, घर सफा गर्न किन जाने ? यहाँ गर्न नहुने विदेश गएर गर्न हुने भन्ने हुन्छ र ?’

देश भित्र केही हुँदैन भन्ने हुरी चलाएर युवाहरुलाई विदेश ठेल्ने काम भइरहेको उनको बुझाइ छ । ‘मैले विदेशमा महिनामा २/३ लाख कमाए पनि कसले चिन्थ्यो र ?,’ ढकाल भन्छन्, ‘आज गाई राम्रोसँग पाल्यो, उत्कृष्ट किसान बन्यो भनेर धेरैले चिने । कम्तीमा पनि देश भित्र सम्मान छ ।’

उनले आफ्नै छोराछोरीलाई विदेश जान रोक्न नसकेको दुखेसो पोखे । उनका दुई छोरी विदेश जाने भनेर तम्सिएका छन् । कान्छी छोरी अष्ट्रेलिया पुगेर फर्किएर आएको ढकालले गुनासो पोखे ।

गाई पालेर छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएको ढकाल सम्झन्छन् । ठूली छोरीलाई बिएससी एजी, कान्छी छोरीलाई इलेक्ट्रिकल इन्जिनियर बनाएका ढकालका छोराले भरखरै १२ पास गरे । छोरीले बिएससी एजी (कृषि) पढेपछि आफूलाई केही सहयोग होला भन्ने अपेक्षा राखे पनि त्यस्तो भएन ।

किसानका समस्या

सरकार जथाभावी अनुदान बाँड्ने, कर्मचारीका कार्यक्रम बनाउने र निरीक्षण गर्ने भनेर समय मात्रै बर्बाद पारेको अनुभूति उनलाई छ । ‘किसानलाई पर्दा कोही पनि प्राविधिक गोठमा पुग्दैनन् । लम्पी स्किनको भ्याक्सिन आएको छ तर लगाउन जान प्राविधिक मान्दैनन्, पैसा अतिरिक्त खोज्छन् भन्ने गुनासो छ,’ ढकाल भन्छन्, ‘किसान पनि उनीहरूको दायित्व हो भनेर दिन खोज्दैनन् । गाईका खुर बढेका हुन्छन्, काटिदिने मान्छे हुँदैन ।’

गाईमा बाँझोपनको समस्या छ । सिमेनको कारणले वा अन्य बाहिरी वातावरणले गाईमा बाँझोपनाको समस्या देखिने गरेको उनको बुझाइ छ । उनको गोठमा पनि १०/१२ प्रतिशतसम्म बाँझोपना देखिने गरेको छ । एआई गराउन पनि कतिपय किसानलाई समस्या भएको छ ।

पछिल्लो समय बाच्छी पाल्न किसानहरूले झन्झट मान्ने गरेका छन् । तर ढकालले बाच्छी हुर्काउने, कतिपय आफैंले राख्ने र कतिपय बेच्ने गरेका छन् । राम्रोसँग पाल्दा एउटा बाच्छी २ वर्षभित्र ब्याउँछ । २ वर्ष पाल्दा प्रतिबाच्छी १ लाख खर्च आउँछ । ब्याउने वा पहिलो बेतमा बेच्न परे १ लाखदेखि २ लाखसम्म बिक्री हुन्छन् । बाच्छी पाल्दा न त नाफा, न त घाटाको अवस्था रहेको ढकालको अनुभव छ ।

‘नयाँ गाई किन्दा केही न केही समस्या भएको हुन्छ,’ ढकाल भन्छन्,  ‘बाच्छी हुर्काउँदा दीर्घकालमा फाइदा छ । कम्तीमा १० वर्षलाई गाई किन्नुपर्दैन ।’

सरकारी अनुदानप्रति ढकालको धारणा

सरकारले प्रदान गर्ने अनुदानप्रति पनि ढकालको फरक धारणा छ ।  सरकारले दिने अनुदान रकम उत्पादन आधारमा दिए मात्रै अहिलेको विकृति रोकिने ढकाल बताउँछन् ।

अनुदान पाइन्छ भनेर हचुवाको भरमा गाईभैंसी पाल्ने योजना बनाउँदा पछि समस्या आएको उनको बुझाइ छ । राज्यको लगानीको प्रतिफल आएको छैन ।

‘अनुदानको रकम गोठमा लगानी गर्‍यो, दुई महिना जति कमाइ हुन्छ त्यसपछि विभिन्न समस्या हुन्छ, अनि छाड्यो, हिँड्यो । राज्यको पैसा पनि डुबायो, आफू पनि डुब्यो,’ ढकाल भन्छन्, ‘देखासिकी र रहरले मात्रै हुन्दैन, भित्रबाट नै म यसमा लाग्छु भनेर काम गर्नुपर्छ । गाई पालेर कहिल्यै घाटा हुँदैन, अरूको भरमा छाड्न भएन ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?