Comments Add Comment

भरतपुरमा इटालीको झल्को : जब केही घण्टाको फरकमा तीन संक्रमित ढले …

१६, भदौ, चितवन । मंगलबार भरतपुर अस्पतालको आकस्मिक कक्षको दृश्य अरु दिनभन्दा फरक थियो । अस्पतालको आकस्मिक कक्षमा डा. सुजन अधिकारीको नेतृत्वमा दुई चिकित्सक, दुई नर्स र दुई पारामेडिक्स गरी ६ जना स्वास्थ्यकर्मीहरु डिउटीमा थिए ।

बिहान ७ बजेतिर पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १३ की ५५ वर्षीया बिरामी महिला अस्पतालको आकस्मिक कक्षमा आइपुगिन् । उनमा दुई दिनदेखि उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो ।

आकस्मिक कक्षका स्वास्थ्यकर्मीले अक्सिजनको सपोर्टमा उनको उपचार सुरु गरे । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले कोभिडको आंशका गरेर उपचार गरेको डा. सुजन अधिकारी बताउँछन् ।

उनलाई आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था भएपनि अस्पतालभित्र न त आईसीयू खाली थियो, न भेन्टिलेटर । आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरु जेनतेन अक्सिजनको सपोर्टमा बिरामी राखेर बचाउने प्रयासमा थिए ।

डा. सुजन अधिकारी

यहीवीच, बिहान ११ बजेतिर भरतपुर महानगरपालिका वडा नं. ११ की १८ वर्षीया युवतीलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि परिवारका सदस्यले हतार-हतार आकस्मिक कक्षमा ल्याए । उनको अवस्था उस्तै जटिल थियो ।

बाहिरका निजी अस्पतालमा कतै पनि उपचार हुन नसकेपछि उनलाई भरतपुर अस्पतालमा ल्याइएको थियो । बाहिरको एक निजी अस्पतालमा छातीको एक्स-रे गराएर आइसीयूमा राख्नुपर्ने भन्दै बिरामीलाई यहाँ रिफर गरिएको थियो ।

उनको छातीको एक्स-रे हेर्दा चिकित्सकहरू छक्क परे । छातीमा कडाखालको निमोनिया देखिएको थियो । परिवारका सदस्यका अनुसार उनको एकदिन अघिसम्म अवस्था सामान्य थियो । केही समस्या थिएन । तर, अचानक स्वास्थ्य जटिल बनेको थियो ।

उनलाई पनि चिकित्सकहरूले अक्सिजनको सपोर्टमा राखे ।

दुई घण्टापछि दिउँसो १ बजेतिर भरतपुर महानगरपालिका वडा नं. ११ कै ६५ वर्षका अर्का बिरामीलाई आकस्मिक कक्षमा ल्याइयो । उनको अवस्था पनि अन्य दुईको जस्तै थियो ।

तीनैजनाको अवस्था आकस्मिक कक्षमा ल्याउँदा निकै गम्भीर थियो । श्वास-प्रश्वासमा धेरै कठिनाइ र रगतमा अक्सिजनको मात्रा निकै कम थियो । यीबाहेक आकस्मिक कक्षमा अन्य बिरामी पनि थिए । जनशक्ति सीमित थियो, अर्थात ६ जना ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु के गर्ने, कसो गर्ने अवस्थामा पुगे । ‘बाहिरका मेडिकल कलेजमा सम्पर्क गरेर पठाउन खोज्यौं, कसैले पनि आईसीयू र भेन्टिलेटर खाली छ भनेनन्, हाम्रो त खाली नै थिएन,’ उपचारमा संलग्न डा. अधिकारीले भने, ‘यस्तो अवस्था भयो कि उनीहरूलाई कसरी बचाउने ? के गर्ने, के नगर्ने ?’

हठात् आएको आपत्ति

तीनैजना बिरामीका परिवारले दिएको ‘हिस्ट्री’ अनुसार उनीहरुमा केही दिनअघिसम्म खासै समस्या थिएन । तर, अचानक स्वास्थ्य बिग्रिएर उनीहरु जीवन मरणको दोसाँधमा पुगे ।

अस्पतालले पूर्ण अक्सिजन सपोर्टमा उपचार गर्‍यो । तर, आँखै अगाडि दुई घण्टाको फरकमा तीनैजना बिरामीले आकस्मिक कक्षमा प्राण त्यागे ।

दिउँसो १.३० बजे भरतपुर-११ का ६५ वर्षका पुरुष, १.४५ बजे खैरहनी १३ की ५५ वर्षीया महिला र ३.३० बजे भरतपुर-११ की १८ वर्षीया युवतीको ज्यान गयो ।

‘हामीलाई अचम्म भयो, हदप्रद बन्यौं, दिमागले केही सोच्नै सकेन, एकाएक तीनैजनाको अथक प्रयास गर्दागर्दै आँखै अगाडि मृत्यु भयो,’ डा. अधिकारीले भने, ‘एक चिकित्सकका लागि यस्तो अति नै दुःखद परिस्थिति मैले जीवनमा पहिलोपटक भोगें, सक्ड भएँ ।’

आकस्मिक कक्षमा रुवाबासी सुरु भयो । तीनजनाका परिवारका सदस्यहरूको रूवाबासीले आकस्मिक कक्ष कारूणिक बन्यो । एक-दुई जनाको मृत्युपछि कोरोना परीक्षणका लागि स्वाब पठाइयो भने एक जनाको मृत्युअघि नै स्वाब निकालिएको थियो । ‘गह्रुँगो मन बनाएर घर गएँ, स्वाबको रिपोर्ट नआएसम्म मनमा खुल्दुली भयो,’ डा.अधिकारीले भने ।

बेलुका बल्ल रिपोर्ट आयो । मृतक तीनै जनाको कोरोना पोजेटिभ ! उनी छाँगाबाट खसैजस्तै भए । डा. अधिकारी सुनाउँछन्, ‘सम्भवतः नेपालमा एकै ठाउँमा कोरोना संक्रमित यसरी एकैपटक र यति छिटो बितेको यो पहिलो घटना होला, मैले अन्यत्र यस्तो सुनेको छैन ।’

इटालीको झल्को !

मंगलबारको यो घटनाले नेपालमा कोरोनाको अवस्था भयावह हुनसक्ने अनुमान आफूले लगाएको डा.अधिकारी बताउँछन् । ‘छोटो समयमा संक्रमण, फोक्सो छिट्टै बिग्रिने, अवस्था तुरुन्तै निकै जटिल बन्ने तर उपचारका लागि भरपर्दो ठाउँ र उपकरण नहुँदा सडकमै मर्नुपर्ने इटालीको जस्तो अवस्था हाम्रोमा नहोला भन्ने मलाई लाग्दैन,’ डा. अधिकारीले भने ।

कोरोना संक्रमित बिरामीसँग सम्पर्कमा आएकाले डा.अधिकारी अहिले होम आइसोलेसनमा बसेका छन् ।

भरतपुर अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै गम्भीर प्रकृतिका बिरामीहरू एउटा अस्पतालमा उपचारमा रहेको अवस्थामा विनाजानकारी अन्यत्र रेफर गर्दा बिरामीले समयमै उपचार नपाउनुका साथै अनावश्यक दुःख पाउने र ज्यानसमेत जोखिममा पर्ने देखिएकाले समन्वय गर्ने संयन्त्र बनाउन माग गरेको छ ।

चितवनका केही निजी अस्पतालहरूमा बिरामीको अवस्था हेरेर मात्रै भर्ना लिने, नभए अन्यत्रै पन्छाउने क्रम सुरू भएको छ ।

अन्य बेलामा भरतपुर अस्पतालबाट बाहिर बिरामी रिफर गराउन अनेक जालझेल र पैसाको खेलोफड्को गर्ने यहाँका निजी अस्पतालहरुले यतिबेला भने बिरामीलाई जसरी पनि भरतपुर अस्पताल रिफर गर्ने गरेको पाइएको छ ।

चितवनमा बिरामीले अस्पताल चाहार्दा चाहार्दै मृत्युवरण गर्नुपर्ने दुःखद परिस्थिति जबरजस्त बन्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment