Comments Add Comment

हात्तीको तनाव भगाउन गाँजाको तेल

काठमाडौं । कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन् ।

मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको खोप पत्ता नलाएसम्म नहुने पक्का छ । यही मेलोमा पोल्याण्डका वैज्ञानिकहरुले चाहिँ हात्तीको तनाव कम गर्न गाँजाको तेल खुवाउन थालेका छन् ।

पोल्याण्डको राजधानी वार्सास्थित एक चिडियाखानामा रहेका हात्तीहरुको तनाव कम गर्नका लागि गाँजाको तेल उपयोगी हुने तथ्यलाई पुष्टि गर्न उनीहरुले हात्तीको रगत, र्याल र अन्य नमूना समेत लिएर परीक्षण गरेका थिए ।

चिडियाखानाकी भेटेनरी डाक्टर एग्नेज्का जुकोस्काका अनुसार घोडा तथा कुकुर लगायतका जनावरको तनाव तथा एन्जाइटी कम गर्नका लागि गाँजाको तेल लाभदायी हुने कुरा यसअघि नै प्रमाणित भैसकेको थियो ।

चिडियाखानामा रहेका जिराफ, हात्ती, पोलार भालु तथा गैँडा लगायतका जनावरमा पनि त्यही विधि अबलम्बन गर्न सकिन्छ कि भनेर उनीहरुले प्रयास सुरु गरेका छन् र पहिलो चरणमा चिडियाखानामा रहेका ३ वटा हात्तीमा परीक्षण गरेका छन् ।

गत मार्चमा चिडियाखानामा रहेको साथी हात्ती मरेसँगै ती तीनवटा हात्तीहरु तनावका कारण असामान्य व्यवहार देखाउन थालेका थिए । सोही कारण निकट भविष्यमै गर्भवती हुने सम्भावना रहेको एक पोथी हात्तीलाई जोखिम हुने, हात्तीहरु एक आपसमा लडेर दाह्रा भाँच्ने वा घाइते हुने जोखिम रहेको उनको भनाइ छ । त्यसैले चिडियाखानामा त्यस्तो अप्रिय घटना नहोस् भनेर हात्तीको तनाव घटाउन गाँजाको तेल खुवाउने परीक्षण उनीहरुले सुरु गरेका हुन् ।

हात्तीलाई गाँजाको तेल खुवाउन लागेको भनी कतिपयले आलोचनासमेत नगरेका होइनन् । हात्तीलाई ड्रग्स खुवाएको भनेरसमेत आलोचना भएसँगै चिडियाखानाले गाँजाको तेल ड्रग्स नभएको र यसमा गाँजामा हुने लठ्याउने तत्व टिएचसी नहुने प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment