Comments Add Comment

चितवनमा पनि प्लाज्मा थेरापीबाट उपचार सुरु

कोरोना संक्रमणमुक्त भएकालाई रक्तदान गर्न आह्वान

१९ भदौ, चितवन । चितवनमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरिएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ की ५२ वर्षीया कोरोना संक्रमित महिलामा प्लाज्मा थेरापी विधीबाट उपचार सुरू गरेको हो ।

सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या भएपछि ती महिला भदौ ११ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी थिइन् । आइसियूमा उपचाररत महिलामा भदौ १२ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

रगत समूह ‘बी’ पोजेटिभ रहेकी ती महिलाका लागि कोरोना संक्रमित भएर निको भएका सोही रगत समूहका व्यक्तिले रक्तसञ्चार केन्द्र भरतपुरमा रगत दिएका थिए ।

चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले दिएको जानकारी अनुसार डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले संक्रमित महिलामा प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको हो ।

कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार आइसियूमा भेन्टिलेटरको सहायतामा रहेका सिकिस्त संक्रमितलाई प्लाज्मा थेरापी विधीबाट उपचार गर्दा नजिता सुखद आउने विश्वास लिएको बताए । डा. लम्सालले भने, ‘चितवनमा पहिलोपटक हामीले प्लाज्मा थेरापीबाट उपचार सुरू गरेका छौं, सकारात्मक नतिजा आउने विश्वास लिएका छौं ।’

कलेजको आइसियूमा अहिले पनि ११ जना संक्रमित छन् । उनीहरूको अवस्था जटिल रहेको डा. लम्सालले जानकारी दिए । उनले दाताहरू पाए प्लाज्मा थेरापीबाट उपचार गरिने बताए ।

चिकित्सिकहरूका अनुसार बिरामीको शरीरमा रहेको भाइरस एन्टिजिनलाई एन्टिबडीमार्फत उपचार गर्ने विधीलाई प्लाज्मा थेरापी भनिन्छ ।

कलेजले गम्भिर संक्रमित बिरामीहरुलाई एकसाता अघिबाट रेम्डिसिभिर औषधीसमेत ल्याएर चलाएको निर्देशक डा. लम्सालले बताए । कलेजले कोरोना संक्रमितका लागि ५९ बेड आइसियूसहित २०४ बेड उपचारका लागि छुट्टयाएको छ ।

क्षेत्रिय रक्तसञ्चार केन्द्रमा प्लाज्मा बैंक

यसैबीच कोरोना संक्रमण मुक्त भएर १४ दिन आइसोलेसनमा बसेकाहरूले चितवनमा प्लाज्मा थेरापीका लागि रगत दान दिन सुरु गरेका छन् । विहिवार क्षेत्रिय रक्तसञ्चार केन्द्रमा पुगेर तीन जना संक्रमणमुक्त व्यक्तिहरूले रक्तदान गरेका हुन् । बिहीवार ‘ओ’ पोजेटिभ भएका दुई जना र ‘बी’ पोजेटिभ एक जनाले रगत दान गरेका छन् ।

अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । उनीहरूले कोरोना संक्रमितको उपचारका लागि सहज होस् भनेर रगत मार्फत प्लाज्मा दान गर्न पाउँदा खुसी लागेको बताए ।

क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले संक्रमणमुक्त व्यक्तिहरुलाई फूलमालाले स्वागत गर्दै प्लाज्मा दानको सुरूआत भएको घोषणा गरेको छ ।

चितवनमा कोरोना संक्रमण कम गराउन निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम बढ्दै गएको छ । करिब तीन सातामा आइसियूमा जाने बिरामीको संख्या तीन गुणाभन्दा धेरै भएको छ । गम्भिर संक्रमित बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार गराउन संक्रमणबाट निको भएकाहरूको नाम, सम्पर्क नम्बर र रगत समूहको सूची बनाइएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस रक्तदान : परोपकार मात्र होइन, आफ्नो स्वास्थ्य–लाभ पनि

क्षेत्रिय रक्तसञ्चार केन्द्रले विहान ८ बजेबाट साँझ ५ बजेसम्म प्लाज्मा निकाल्ने र दिने समय निर्धारण गरेको छ । एउटै रगत समूह भएका बिरामीलाई कोरोना निको भएको व्यक्तिबाट दिइने रगतबाट निकालिने प्लाज्मा दिनुपर्ने हुन्छ । रगतबाट प्लाज्मा निकाल्न एक घण्टा लाग्छ । एक पोका ३५० एमएल रगतबाट ५५ प्रतिशत प्लाज्मा निकाल्न सकिने केन्द्रका प्रमुख पौडेलले बताए ।

प्लाज्मा रगतमा पाइने तरल (पहेंलो) खण्ड हो । रगतमा करिब ५५ प्रतिशत हुने प्लाज्मामा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई कम गराउने एन्टिबडीको उच्च क्षमता हुन्छ । कोरोना निको भएको व्यक्तिको स्वास्थ्य परीक्षण, मनोपरामर्श लगायतका कामका लागि भरतपुर अस्पतालले डा. कल्याण सापकोटालाई जिम्मा लगाएको छ । भरतपुर अस्पताल र क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरले यसमा समन्वय गरेका छन् ।

भरतपुर अस्पतालले केही दिन अघि सूचना निकालेर संक्रमण मुक्त भएकाहरुलाई रक्तदान गर्नका लागि अपिल गरेको थियो । अहिलेसम्म रगत दिनका लागि कोरोना संक्रमणमुक्त आठ जना तयार भएको केन्द्रले जनाएको छ । माडी नगरपालिकाका पाँच जना र भरतपुरमा रहेका स्वास्थ्यकर्मीहरू तीन जना छन् । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले रिपोर्ट नेगेटिभ आएपछि आफू प्लाज्मा दिनका लागि तयार रहेको घोषणा गरेका थिए ।

चितवनमा झण्डै १६० जना कोरोना संक्रमणमुक्त बनेका छन् । तर, निको भएकाहरू रगत दिन त्यति इच्छुक देखिएका छैनन् । संक्रमणमुक्त बनेका स्वास्थ्यकर्मीहरू प्लाज्मा दिन तयार भए पनि अन्य निको भएका संक्रमित त्यति सकारात्मक छैनन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार निको भएका संक्रमितहरू रगत दिन डराउने, हिच्चकिचाउने, नमान्ने अवस्था छ । ‘भरखरै यति ठूलो संक्रमणबाट निको भएको छु कहाँ रगत दिने भन्नुभएको पाएँ,’ डा. अधिकारीले भने, ‘उहाँहरूको स्वास्थ्य जाँच गरेर, मनोपरामर्श गरेर मात्रै रगत निकाल्छौं, गम्भिर ब्यक्ति जोगाउन उहाँहरूको पनि दायित्व हुन्छ जस्तो लाग्छ ।’

केन्द्रले कोरोना संक्रमित धेरै राखेर निको बनाएको नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालयसँग पनि समन्वय गरिरहेको छ ।

भरतपुर अस्पतालका फिजिसियन डा. पौडेलले संक्रमणमुक्त भएकाहरूलाई परामर्श दिँदै यस अभियानमा क्रमशः जोड्दै लगिने बताए । उनले कोरोना संक्रमणबाट हुने मृत्युमा प्लाज्मा थेरापीको सहायतामा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

डा. पौडेल कोरोनाबाट निको भएका बिरामीको रगतमा रहेको प्लाज्मा निकालेर सिकिस्त संक्रमितहरूलाई हालेपछि छिटो एन्टिबडी बनाउन सहयोग पुग्ने र बिरामीलाई राहत पुग्ने बताउँछन् ।  छुट्याइएको प्लाज्मा संक्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment