Comments Add Comment

ढोरपाटनमा बाढी प्रभावित बस्ती सार्न राष्ट्रिय जनमोर्चाको माग

१९ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले बागलुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोबाट घरबास गुमाउनेहरुलाई सुरक्षित ठाउँमा सार्न माग गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गरी बाढीका कारण घर बस्ती ध्वस्त भएको र त्यही ठाउँमा पुन: घर बनाउन सम्भव नभएकाले पुनर्बास गराउनुपर्ने बताएका छन् ।

‘अहिले बागलुङमा यो घटनामा यति ठूलो संख्यामा घर बस्तीहरु ध्वस्त भएका छन् । घर बास गुमाउनेहरु गरीब छन् । त्यही ठाउँमा फेरि घर बनाउन सम्भव हुँदैन । त्यसकारण, त्यहाँ पुनर्वासको व्यवस्था गर्न हामीले जोड दिन्छौँ’ केसीले विज्ञप्तिमा भनेका छन् ।

पहाड र तराईमा समेत बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका तथा छरिएका घर बस्तीलाई सुरक्षित ठाउँमा सार्न एकीकृत ग्रामीण बस्तीको विकास गर्नुपर्ने राष्ट्रिय जनमोर्चाले बताएको छ ।

बिहीबार बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा बाढी र पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् । ७५ वटा घर बाढी र पहिरोले क्षति भएको छ भने एउटा प्राथमिक तहको स्कुल, एउटा आधारभूत तहको स्कुल, एउटा स्वास्थ्य चौकी, ६ वटा पुल, ३ वटा झोलुङ्गे पुल, ६ वटा विद्युत पावर हाउस र ६ वटा कुलोमा पनि क्षति पुर्‍याएको राष्‍ट्रिय जनमोर्चाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद खिमविक्रम शाहीको नेतृत्वमा एउटा टोली घटनास्थलमा गएको थियो । पीडितको उद्धार र राहतका लागि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापासहितको टोली घटनास्थलमा जाने जनमोर्चाले जनाएको छ ।

राजमोले बाढी र पहिरोमा परी जनधन क्षति हुनेलाई राहत दिन २ लाख रुपैयाँ पनि पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment