Comments Add Comment

झापा हत्या प्रकरणमा एक जना पक्राउ

साङ्केतिक तस्वीर

१९ भदौ, झापा । जिल्लाको शिवसताक्षी नगरपालिकामा २८ वर्षीय गोमानसिंह मगरको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय मनकुमार लिम्बु छन् ।

मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बुले गोमानसिंहको हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय, झापाका एक अनुसन्धान अधिकृतले बताएअनुसार मगरले नयाँ नम्बरबाट फोन गरेर लिम्बुलाई भेट्न बोलाएका थिए ।

साँझ ६ बजे प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा घरबाट निस्किएका मगरलाई आरोपी लिम्बुले शिवसताक्षी बजारमा भेटेको पाइएको छ । त्यहाँबाट उनकै मोटरसाइकलमा चढेर एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ ।

‘त्यही क्रममा छुराले घाँटी रेटेर हत्या गरेको लिम्बुले स्वीकारेका छन्’, जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले भने, ‘बयानका आधारमा गरिएको अनुसन्धानका क्रममा मृतक र लिम्बुले प्रयोग गरेको गरी दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ ।’

प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए । आरोपी लिम्बु पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरी स्रोतले बतायो ।

प्रहरी अधिकृतहरुका अनुसार बरामद मोबाइलसहित अन्य प्रमाणको प्राविधिक विश्लेषणले पनि घटनामा लिम्बुको संलग्नता पुष्टि भएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले भने हत्यामा अन्य कारण पनि हुनसक्ने बताउँदै अनुसन्धान जारी रहेको उल्लेख गरे । ‘यो विषयमा जानकारी दिन शनिबार पत्रकार सम्मेलन राखेका छौं’, उनले अनलाइनखबरसँग भने ।

प्रारम्भिक अनुसन्धानमा अपराधमा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले पुष्टि नगरेको स्रोत बताउँछ ।

प्रहरीले मगरको शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश नं. १ प्रहरी कार्यालयबाट तालिम प्राप्त ट्याकर कुकुर मगाएको थियो । जसले आरोपी राजमार्गतिर भागेको संकेत गरेको थियो । त्यसपछि भने कुकुर अलमलिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

यो पनि पढ्नुहोस झापामा एक पुरुषको घाँटी काटेर हत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment