Comments Add Comment

लिदीका पहिरो पीडितलाई ठोरीको राहत

२० भदौ, काठमाडौं । सिन्धुपाल्चोकको लिदीका पहिरो पीडितलाई पर्साको ठोरीबाट गएको एक टोलीले राहतस्वरुप नगद सहयोग गरेको छ ।

अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका–१ स्थित बाँसखर्क पुगेर शनिबार बिहान ६ लाख ४३ हजार रुपैयाँ नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले बताए ।

पाख्रिनका अनुसार पहिरोले पूर्णरुपमा घर क्षति भएका र आफन्त समेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजार, घरमात्र क्षति भएर विस्थापन भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५ सयका दरले र एक जना घाइतेलाई रु १० हजार राहत रकम प्रदान गरिएको छ ।

लिदीका पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन ठोरी गाउँपालिकामा राहत संकलन समिति गठन गरिएको थियो ।

सोही समितिमार्फत संकलित रकम शनिबार प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराइएको पाख्रिनले बताए ।

प्राकृतिक विपत्तिका कारण समस्यामा परेका लिदीका पहिरो प्रभावितको दुःखमा सघाउन आफूहरु थोरै भएपनि राहत लिएर लिदी पुगेको उनको भनाइ छ ।

साउनको अन्त्यतिर लिदीमा गएको पहिरोमा परेर तीन दर्जन भन्दा बढीले ज्यान गुमाए भने ३५ घर पुरिएका थिए ।

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment