Comments Add Comment

फिल्मको काम अनिश्चित भएपछि वेव सिरिज बनाउँदै फिल्मीकर्मी

विगत ६ महिनादेखि नेपाली चलचित्रको काम ठप्प छ । न त चलचित्र भवन नै सुचारु हुन सकेका छन्, न त छायांकनको काम नै भएको छ । कोरोना संक्रमण बढेसँगै दोश्रो चरणको लकडाउन जारी छ । यसले, चलचित्रको काम कहिलेबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन । चलचित्रको छायांकन र हल संचालन अनिश्चित जस्तै बनेको छ ।

यसैले, चलचित्रकर्मीहरुले पनि चलचित्रको विकल्प खोज्न थालेका छन् । करिब ५ महिना मौन नै बसेका चलचित्रकर्मीहरु अहिले वेव सिरिज निर्माणमा मन बनाउन थालेका छन् । कतिपयले त, वेव सिरिजको छायांकन पनि गरिसकेका छन् ।
निर्देशक नवल नेपालले ३ वटा चलचित्रको स्क्रिप्टसँगै करिब ५ भागको वेव सिरिजको पनि स्क्रिप्ट तयार पारिसकेका छन् । दशैं–तिहारसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेका नवल यसपछि पनि चलचित्रको काम सुरु नभए वेव सिरिजको छायांकनमा लाग्ने बताउँछन् । उनी भन्छन्–‘आखिर काम त गर्नैपर्यो । चलचित्रको काम सुरु नभए यसै बस्ने कुरा पनि भएन । यसैले, वेव सिरिजको पनि स्क्रिप्ट लेखेको हुँ ।’

निर्देशक बसन्त निरौलाले चलचित्रमा काम गरिरहेका चल्तीका कलाकार लिएर वेव सिरिज बनाए । करिब ५ भाग खिचिएको यो सिरिजलाई चलचित्रकै शैलीमा खिचिएको छ । नाम तय नभैसकेको यो सिरिजको धुलिखेलको एक रिसोर्टमा करिब २ हप्ता लगाएर छायांकन गरिएको थियो । यो सिरिजमा नाजिर हुसेन, मुकुन भुषाल, रिस्ता बस्नेत, पवित्रा आचार्य, रविन्द्र झा, सुमन कोइराला लगायतका कलाकारको अभिनय छ ।

निर्देशक निरौलाले अब अर्को सिरिजको पनि छायांकन गर्ने तयारी भैरहेको बताए । तर, डिजिटल राइट्स भने कसैलाई पनि विक्री नगरिएको उनको तर्क छ । ‘राजनीति, आवेग’ जस्ता चलचित्रका निर्देशक निरौलाले चलचित्र निर्माणको वातावरण अहिले नभएकाले वेव सिरिज निर्माण गरेको बताउँछन् ।

यस्तै, कलाकार विनय श्रेष्ठले पनि ओएसआर डिजिटलसँग मिलेर ‘लभ सुत्र’ नामक वेव सिरिज निर्माण गरिरहेका छन् । करिब ५ भागको यो सिरिजको केही दिनको छायांकन भैसकेको छ । यो सिरिजमा विनय श्रेष्ठ, संजोग कोइराला, शिल्पा मास्के, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ । यो सिरिज कुन डिजिटल प्लेटफर्ममा रिलिज हुन्छ, पक्का छैन ।

नायिका नीता ढुंगाना पनि वेव सिरिजको तयारीमा छिन् । चलचित्र ‘माया’ निर्माण गर्ने तयारी गरेपनि लकडाउनपछि वातावरण नभएको भन्दै उनले वेव सिरिज बनाउन लागेकी हुन् । उनले, कृष्ण र अर्जुनको कथामा करिब ४० भागको वेव सिरिज बनाउँदैछिन् । नीताले बनाउन लागेको वेव सिरिजको नाम ‘श्रीमद्भागवद् गीता’ राखिएको छ । यो सिरिजका लागि कलाकार र निर्देशक फाइनल भैसकेका छैनन् ।

चलचित्रको काम सुरु नभएपछि अहिले चलचित्र मेकरहरु धमाधम वेव सिरिजमा मन बनाइरहेका छन् । कतिपयले वेव सिरिज भनेर खिचिएपनि पछि चलचित्रको रुपमै टेलिभिजन र डिजिटल प्लेटफर्ममा विक्री गर्ने सोच समेत बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment