Comments Add Comment

विश्व प्रतिष्ठित ‘टोरिनो’मा नेपाली फिल्म ‘होरी’ छनोट

होरीका लेखक अरुणदेव जोशी

२१ भदौ, काठमाडौं । नेपाली फिल्म ‘होरी’ विश्वकै प्रतिष्ठित मानिने इटालीको ‘टोरिनो फिल्म ल्याब (टिएफएल)’मा छनोट भएको छ ।

अरुणदेव जोशीको लेखन तथा निर्देशनमा बन्ने फिल्म टोरिनोल्याबको ‘टिएफएल नेक्स्ट- फिल्म डेभलोपमेन्ट’ कार्यक्रमअन्तर्गत समावेश हुन सफल भएको हो ।

टोरिनोको यस कार्यक्रममा विश्वभरिबाट १२ फिल्म छनोट हुँदा दक्षिण एसियाबाट दुई फिल्ममात्र छनोट भएका छन् । नेपालको ‘होरी’सँगै भारतबाट सुमन सेनको ‘सोलो’ छानिएको छ । तर भारतीय फिल्मको निर्माता भने फ्रान्सेली छन् । नेपालको ‘होरी’का निर्माता सरोज शर्मा सापकोटा हुन् ।

यसअघि नेपालबाट टिएफएलको ‘स्क्रिप्ट ल्याब’मा मीन भामको ‘चिसो वर्ष’ सहभागी भएको थियो । डोटेली भाषामा बन्ने ‘होरी’को कथा सुदूरपश्चिमको दार्चुलाको परिवेशमा बुनिएको छ ।

फिल्मको नाम ‘होरी’ डोटेली भाषाबाट लिइएको हो । होली अर्थात् फागूलाई डोटेली भाषामा होरी भनिन्छ । माओवादी जनयुद्धको समयलाई लिएर त्यसको स्थानीय जनजीवनमा परेको प्रभावलाई दृश्यभाषामा परिकल्पना गरिएको छ ।

जोशीले यसअघि सर्ट फिल्महरु र डकुमेन्ट्री बनाएका छन् । उनको सर्ट फिल्म ‘कमारो’ले ‘काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)’मा उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो । अर्को फिल्म ‘दियाली’ पनि ‘साउथ एसियन फिल्म फेस्टिभल’, ‘गोवा फिल्म फेस्टिभल, भारत’, बंगलादेश, स्पेनलगायतका विभिन्न फेस्टिभलहरुमा छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment