+
+
Shares

पोखरा फुड्सका २५ जनासहित गण्डकी प्रदेशमा थपिए ६७ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते ७:२५

२२ भदौ, पोखरा । स्वास्थ्य कर्मचारी, पोखरा औद्योगिक क्षेत्रका कामदारसहित पोखरामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् । जोखिम क्षेत्रका व्यक्तिमा स्वाब परीक्षण गर्दा बिहीबारमात्र पोखरा औद्योगिक क्षेत्रका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘जोखिम समूहको स्वाब लिने क्रममा औद्योगिक क्षेत्रका कामदारको पनि स्वाब परीक्षण गरिएको थियो,’ पोखरा स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले भने, ‘त्यसैक्रममा सोमबारमात्र पोखरा फुड्सका २५ जना कामदारमा संक्रमण पुष्टि भयो ।’

पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ।

पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । अस्पतालका २ नर्स र २ जना कार्यालय सहयोगी गरी ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सूस्ता पूर्व) को देउचुली नगरपालिका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । देउचुलीमा स्वास्थ्यकर्मीसहित २१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको ब्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थपिएका सबै नयाँ संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

पछिल्लो समय पोखरामा तीव्र गतिमा कोरोना संक्रमणको दर बढिरहेको छ । समुदायका विभिन्न क्षेत्रमा संक्रमण फैलिएको छ । पोखरामा आइतबारमात्र २० जनामा संक्रमण देखिएको थियो ।

गण्डकी प्रदेशमा आइतबार ८५ जनामा थप संक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?