Comments Add Comment

अनौठो गाउँ जहाँ घरज्वाइँ बस्नैपर्छ

काठमाडौं । हाम्रो सामाजिक परम्परा अनुसार बिहेपछि महिलाहरु जन्मघर छाडेर पतिको घर जान्छन् । यद्यपि अपवादको रुपमा कतिपय पुरुषहरु ससुरालीमा घरज्वाइँ पनि बस्ने गरेका हुन्छन् ।

उता छिमेकी मुलुक भारतमा एउटा पूरै गाउँ नै घरज्वाइँहरुले भरिएको छ । उक्त गाउँको प्रचलन अनुसार त्यहाँका चेलीहरु बिहेपछि पतिको घर जाँदैनन्, उल्टै उनीहरुका पति ससुराली आएर बस्दछन् ।

भारतको उत्तरप्रदेशस्थित कौशाम्बी जिल्लामा रहेको हिंगुलपुर गाउँ ‘घरज्वाइँ गाउँ’का नामले परिचित छ ।

कुनै समय कन्या भ्रुणहत्या तथा दाइजोका कारणले हुने गरेका दर्दनाक महिला हत्याका घटनाका कारण कुख्यात रहेको सो गाउँले आफ्ना छोरीहरु जोगाउन तथा छोरीहरुलाई पुरुषझैँ बलियो बनाउनका लागि अनौठो उपाय अपनाएको छ ।

केही दशक पहिले उक्त गाउँका भद्र भलादमीहरुले गाउँका चेलीहरु बिहेपछि पतिको घर नगई आफ्नै जन्मघर अर्थात् माइतीमै बस्ने फैसला गरे । सो फैसलालाई गाउँका मुस्लिम समुदायले समेत समर्थन गरे । र, अन्ततः घरज्वाइँ बस्ने प्रचलन गाउँको स्थापित परम्परा हुन पुग्यो । सो गाउँका युवतीहरुसँग नाता गाँस्न चाहने पुरुषहरुका लागि घरज्वाइँ बस्न सहमत हुनु सबैभन्दा महत्वपूर्ण शर्तको रुपमा रहेको छ ।

गाउँमा घरज्वाइँ भएर आउने पुरुषलाई रोजगारीको समस्या नहोस् भन्नका लागि गाउँलेहरु मिलेर काम÷रोजगारीको बन्दोवस्त गरेका हुन्छन् ।

हिंगुलपुर गाउँमा आसपासका कानपुर, फतेहपुर, प्रतापगढ तथा इलाहाबाद लगायतका जिल्लाबाट समेत पुरुषहरु घरज्वाइँ बनेर गृहस्थी जमाइसकेका छन् । कतिपय घरमा त घरज्वाइँको पुस्ता नै स्थापित भैसकेको छ ।

यद्यपि भारतमा हिंगुलपुर मात्र यस्तो गाउँ होइन, जहाँ घरज्वाइँ बस्ने प्रचलन छ । मध्यप्रदेशको नरसिंहपुर जिल्लामा रहेको बितली नामक गाउँ समेत घरज्वाइँ गाउँको नामले चर्चित छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment