Comments Add Comment

गण्डकी प्रदेशसभा सचिवमा पोखरेल नियुक्त

सभामुखबाट लिए सपथ

२२ भदौ, पोखरा । गण्डकी प्रदेशसभाको सचिवमा अधिवक्ता हरिराज पोखरेल नियुक्त भएका छन् ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार पोखरेललाई नियुक्त गरेका हुन् । पोखरेललाई सोमबार सभामुख नेत्रनाथ अधिकारीले सचिवालयमा पद तथा गोपनीयताको सपथ गराएका छन् ।

नेपालको संविधानको १९५ को उपधारा १ ले सभामुखको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको सचिव नियुक्त गर्न सक्ने व्यवस्था छ । पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन माओवादीमा प्रवेश गरेका पोखरेलले प्रदेशसभामा नेकपाको बहुमत रहेका बेला प्रदेश सभाको सचिवको जिम्मेवारी पाएका हुन् ।

पोखरेलले लामो समयदेखि पोखरामा रहेर वकालत गर्दै आएका छन् भने छोरेपाटन उच्च माविमा कक्षा ११ र १२ लाई पनि पढाउँदै आएका थिए । उनी सभामुख अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, नेकपाका कास्की ईन्चार्ज राजकाजी गुरुङलगायत नेतासँग नजिक रहेको एक सांसदले बताए ।

पोखरेल नेकपा प्रवेश गर्नुअघि कांग्रेसको राजनीति गर्ने गरेको तत्कालीन माओवादीमा प्रवेश गराउन भूमिका खेलेका एक नेताले बताए । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेल अब ५ वर्ष प्रदेश सभाको सचिवको जिम्मेवारीमा रहने छन् ।

हाल पोखरा महानगरपालिका–१७, जागृतिटोल बस्दै आएका पोखरेलले सपथ लिएसँगै प्रदेश सभाको गरिमा बढाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कानुनी सल्लाहकारसमेत हुन् ।

कानुनअनुसार प्रदेश सभा सचिवको मर्यादाक्रम प्रदेशको प्रमुख सचिवसरह नै रहने छ ।

प्रदेश सभा सचिवालय सञ्चालन र व्यवस्था गर्न बनेको विधेयक २ वर्ष संसदमै अड्किँदा प्रदेशसभा सचिव नियुक्तिमा ढिलाइ भएको हो । दलहरुबीचको मतभेद मिलेपछि ४ साउनमा संसदले विधेयक पारित गरेपछि प्रदेशसभा सचिव नियुक्तिका लागि बबाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment