Comments Add Comment

समुदायमा संक्रमण बुझ्न सर्भे : सहभागी संख्यामाथि प्रश्न

२३ भदौ, काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले समुदायमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्था जान्न ‘सेरोप्रिभेलेन्स सर्भे’ गर्दैछ ।

तर जनस्वास्थ्य विज्ञहरुले भने ईडीसीडीको अध्ययनमा सहभागी गराइनेहरुको संख्या निकै कम भएकाले यसले सही जानकारी दिनेमा आशंका गरेका छन् ।

ईडीसीडीका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार पहिलो चरणमा एउटा प्रदेशमा ४५० जनाको दरले देशभर ३ हजार १५० जनाको एन्टीबडी परीक्षण गर्ने तयारी छ । यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले सोमबार मात्र अनुमति दिएको छ ।

अध्ययनमा सहभागीहरुको एन्टिजिन हेर्न खकार र नाकबाटै स्वाब संकलन गरिन्छ । तर यसलाई पीसीआर मेसिनमा हालिँदैन, छुट्टै किटमा राखेर परीक्षण गरिन्छ । यसबाट २० मिनेटमै नतिजा थाहा हुन्छ । ईडीसीडी प्रमुख डा. पाण्डेले भने, ‘एक महिनादेखि तयारी गरिरहेका थियौं । अब एक सातापछि फिल्डमा जान्छौं ।’

तर सेरोप्रिभेलेन्स सर्भे गर्नुपर्नेमा जोड दिँदै आएका अध्ययनमा सहभागी गराउन लागिएको संख्या कम भएको बताएका छन् । उनीहरुका अनुसार जनसंख्याको अनुपातमा ईडीसीडीले तोकेको संख्या ठीकै हो । तर भूगोल निकै ठूलो भएकाले ¥यान्डम स्याम्पल लिन गाह्रो हुन्छ र, यसले दिने निश्कर्ष यथार्थनजिक नहुन सक्छ ।

सरकारी कोभिड अस्पतालका एक चिकित्सक भन्छन्, ‘बाग्मती प्रदेशका ४५० जना कसरी छान्ने ? काठमाडौं उपत्यकाको जनसंख्या मात्र ६० लाख हाराहारी छ । यस्तो ठाउँमा ४५० जनाको नमुना लिएर के पत्ता लाग्छ होला र ?’ उपत्यकामा मात्र कम्तीमा ८÷१० हजार मानिसको नमुना संकलन गरेर अध्ययन गर्ने हो भने वास्तविकतासँग नजिक पुग्न सकिने उनको धारणा छ ।

अर्का जनस्वास्थ्य विज्ञ पनि ईडीसीडीले अध्ययनमा सहभागी गराउन लागिएको सख्ंया कम भएको मान्छन् । ‘जनसंख्याको आधारमा मात्र हेर्ने हो भने ठीकै होला, तर यति थोरै नम्बर लिँदा सहभागी गराउनुपर्ने मान्छेको छनोट गर्न निकै गाह्रो हुन्छ’ उनल भने, ‘कोरोनाबारे अहिलेसम्म भएको सबैभन्दा राम्रो सेरोप्रिभिलेन्स सर्भे स्पेनको मानिन्छ ।

५ करोड पुग नपुग जनसंख्या भएको त्यहाँ ३५ हजारमा अध्ययन गरिएको थियो । त्यसहिसाबले हामी कहाँ पनि १८÷२० हजार मानिसमा अध्ययन गर्न पाए निश्कर्ष राम्रो आउनसक्छ ।’

ईडीसीडीका निर्देशक डा. पाण्डे भने सर्भे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टेक्निकल सहयोगमा हुन लागेको र सबै मापदण्ड पूरा भएको दाबी गर्छन् । ‘हामीले कुन ठाउँमा कति जनसङ्ख्या छ र त्यहाँ पीसीआरमा कति मानिस प्रभावित छन् भन्ने डाटा तथ्यांक विभागबाट लिएका छौं’ उनले अघि भने, ‘संसारमा कत्राकत्रा रिसर्चहरु सय÷हजार जनाको स्याम्पल लिएर गर्छन् । हामी कहाँ अध्ययन नै नबुझ्नेहरु कम भयो भनेका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment