Comments Add Comment

वीरगञ्जमा २२ वर्षे युवकको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन

२४ भदौ वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका–४ सपहीका २२ वर्षीय विक्रम चौधरीलाई ज्वरो आइरहेको थियो । गाउँकै मेडिकलबाट ल्याएको ज्वरोको औषधि खाए । ज्वरो ठीक हुँदै थियो । प्रेसर पनि कम देखिएपछि चिसो रियल जुस पनि खाएका रहेछन् । ज्वरो ठीक भएको महसुस भएपछि साथीभाइसँग फुटबल खेल्ने पनि गरिरहेका थिए । सामान्य अवस्थामा दिनचर्या बितिरहेको थियो ।

तर एक दिन अचानक श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भदौं २१ गते बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगियो । एक्स–रे लगायत विभिन्न जाँच गरेपछि अस्पतालले कोरोना संक्रमणको आशंका गर्‍यो र पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा रिफर गर्‍यो । बिहान ११ बजेतिर नारायणीमा भर्ना गरिएका उनको बेलकी ८ बजेतिर मृत्यु भयो । अति सघन कक्षमा उपचारकै क्रममा विक्रमको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आफन्त भन्छन्- उपचारमा लापरबाही भयो

आइसियूमा उपचाररत उनी एक्लै पिसाब गर्न शौचालय गएको र फर्केर आएपछि स्थितिमा सुधार नआएको आफन्तको भनाइ छ । कोभिडको आशंका गरिए पनि उनको जीन एक्सपर्ट र आरटी पीसीआर दुवै रिपोर्ट नेगेटिभ आएको थियो ।

विक्रम चौधरी

शुरुमा न्याय नपाएसम्म शवसमेत नउठाउने अडानमा थिए आफन्त । उनीहरुले उपचारमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट घटनाको निष्पक्ष अनुसन्धान हुने आश्वासन पाएपछि आफन्तले विक्रमको शव बुझे र दाहसंस्कार गरे ।

विक्रमका आफन्तलाई नारायणीमा गरिएको उपचारमा चित्त बुझेको छैन । उनीहरु राम्रोसँग उपचार नगरेकै कारण विक्रमलाई गुमाउनुपरेको दाबी गर्छन् । विरामीको अवस्था गम्भिर भएपनि अस्पतालमा सोहीअनुसार उपचार नगरिदिएकाले भाइलाई गुमाउनुपरेको दाबी दाजु अनिल कुमार चौधरीको छ ।

‘इमर्जेन्सीमा लैजानेबित्तिकै पानी चढाए, अक्सिजन लगाइदिए, त्यसपछि छोडिदिए,’ अनिलले भने, ‘फर्म भर्नुस् अनि आइसियूमा बेड खाली छ कि छैन बुझेर आउनुस् भने । आइसियूमा बेड त खाली रहेछ तर स्यानिटाइजेसन गरेको रहेनछ । त्यो स्यानिटाइजेसन गरेर सार्न नै ४ बजाइदिए । पटक–पटक जाँदा स्यानिटाइजेसन गर्ने मान्छे समान किन्न गएको छ भनेर फर्काउँथे ।’ आइसियूमा पनि राम्रोसँग उपचार नभएको गुनासो उनको छ ।

‘भाइको अवस्था विग्रनुको कारण यो–यो हुनसक्छ भनेर सबै बताएका थियौं,’ उनले भने ‘आइसियूमा पनि अक्सिजन लगाएर राख्नेबाहेक केही पनि गरेनन् । लापरबाही नगरी उपचार गरेको भए भाइ बाँच्थ्यो भन्ने लाग्छ ।’

जीन एक्सपर्ट प्रविधिबाट एक–दुई घण्टामै कोरोना संक्रमण भए–नभएको पुष्टि हुने भनिए पनि स्वाब संकलन गरेको लामो समयसम्म परीक्षण नभएको उनले सुनाए ।

चिकित्सक भन्छन् : अस्पताल ल्याउँदा नै बिरामीको अवस्था गम्भीर थियो

तर अस्पतालले भने उपचारमा कुनै पनि लापरबाही नभएको दाबी गरेको छ । कोभिड शंकास्पद केस भएकाले सामान्य बिरामीलाई जसरी सेवा नदिए पनि आवश्यक उपचार गरेको दाबी अस्पतालको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंह महिला चिकित्सकको निरन्तर निगरानीमा विक्रमको उपचार भएको बताउँछन् ।

‘विरामीका आफन्तले डाक्टर नै आएनन् भनेको पनि सुनियो, महिला चिकित्सक विरामीसँगै हुनुहुन्थ्यो । उपचारमा कुनै लापरबाही भएको छैन,’ उनले भने, ‘इमर्जेन्सीमा आउने ५ जनामध्ये ३ जनामा कोरोना संक्रमण देखिरहेको हुन्छ । आवश्यक नपर्दा बिरामीको नजिक जाने कुरा पनि भएन ।’ डाक्टर सिंहका अनुसार विरामीलाई गम्भिर अवस्थामा नै नारायणीमा ल्याइएको थियो ।

छानबिन समिति गठन

आफन्तको असन्तुष्टिपछि नारायणी अस्पतालले घटनाबारे छानबिन गर्न एक समिति गठन गरेको छ । क्रिटिकल केयर अब्जरभेसन वार्डका प्रमुख डाक्टर रामपुकारको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिलाई तीन दिनभित्र रिपोर्ट दिन भनिएको छ । बिहीबारसम्म छानबिन समितिको रिपोर्ट आउने र दोषी देखिए उपचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जय ठाकुरले बताए ।

‘उपचारमा लापरबाही भयो भनेर जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको रहेछ,’ उनले भने, ‘हामीले छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेका छौं । कुनै स्वास्थ्यकर्मी वा चिकित्सक दोषी ठहरिए नियमानुसार कारबाहीका लागि सिफारिस गर्छौं ।’

पीडितको निवेदन स्वास्थ्य मन्त्रालयमा पठाइयो

अस्पतालको लापरबाहीले नै भाइको मृत्यु भएको दाबीसहित अनिलले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका छन् । उनले उपचारमा लापरवाही गर्नेलाई कारबाहीको माग गरेका छन् ।

सो निवेदनउपर आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

जिल्ला प्रशासनले मन्त्रालयमा पठाएको पत्रमा विक्रम चौधरीको उपचारको क्रममा मृत्यु भएकाले छानबिन गरिदिन अनुरोध गरिएको छ ।

‘अस्पतालमा उपचारको क्रममा लापरबाही गरेका कारण नै विक्रमको मृत्यु भएको भन्दै निवेदन आएको थियो । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयलाई घटनाको छानबिनका लागि अनुरोध गरेका छौं,’ प्रशासकीय अधिकृत श्रीवास्तवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment