+
+
Shares

मेलम्चीको सुरुङमा फेरि पानी हाल्न दुई महिनाभन्दा बढी लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १३:१८

२५ भदौ, काठमाडौं । मेलम्चीको सुरुङमा फेरि पानी भर्ने काम थाल्न दुई महिनाभन्दा बढी समय लाग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले कार्यतालिका पुनरावलोकन गर्दै ढोका (गेट)मा देखिएको समस्या समाधानका गर्न करिब दुई महिना समय लाग्ने बताएको छ ।

दुर्घटनाको सम्भावना नहुने गरी अडिट टनेलको गेटको डिजाइन गरेर आयोजनाले ठेकेकदारलाई छिटो जडान गर्न ताकेता गरेको छ । परामर्शदता र ठेकेदार कम्पनीले गेटको नयाँ डिजाइन बनाएर त्यसलाई स्वीकति गराएर काम पनि थालेका छन् ।

मेलम्चीको मुख्य सुरुङको ‘अडिट’ सुरुङमा पानी थुन्न बनाइएको ढोकाको डिजाइन र जडानमा भएको त्रुटिका कारण गत असार ३० गते एक जनाको मृत्यु र एक जना बेपत्ता हुने गरी दुर्घटना भएको थियो ।

दुर्घटनापछि खानेपानी मन्त्रालयले गरेको अध्ययनले सुरुङमा ढोका जोड्दा व्यवहारिकता अपनाउने नाममा लापरवाही गरिएको निष्कर्ष निकालेको थियो ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी नेतृत्वको समितिले आयोजनाको स्थलगत अध्ययन गरेर डिजाइनअनुसार गेट नजोड्दा सुरुङमा दुर्घटना भएको निष्कर्ष निकालेको  थियो ।

सुरुङभित्र पानीको चाप मापन गर्ने भरपर्दो र विश्वसनीय प्रणाली पनि नजोडिएकाले समस्या आएको थियो । सुरुङको ढोका खुल्नुमा आयोजना, ठेकेदार कम्पनी र परमर्शदाता सबै कम्पनी दोषी ठहर भएको थियो ।

तर, आयोजनामा भएको त्रुटि सच्याउँदै काम अघि बढाउने निर्णय गरेको छ । आयोजनाका उपकार्यकारी निर्देशक कमलदाश श्रेष्ठका अनुसार अडिट टनेल थुन्ने गेटभित्रैबाट खुल्ने गरी बनाइनेछ ।

‘ ढोका भनेभित्र नै खुल्ने तर बाहिरबाट पनि खोल्न र लाउन मिल्ने गरी डिजाइन फाइनल गरेका छौं ,’ उनले भने,’दुई वटा तयार गरेर ढोका जोड्नका लागि सुरुङ भित्र नै लगिसक्यौं ।’

गत असार ३० गते मेलाचीको सुरुङमा पानी भर्ने क्रममा अम्बाथानस्थित फ्लसिङ सुरुङको ढोकाबाट पानी बाहिर निस्किएको थियो । एक्कासी ढोका खुल्दा पानीको लिकेज जाँच्न पुगेका इन्जिनियर र सवारी चालकलाई पानीको बाहबले मेलम्ची खोलामा खसालिदिएको थियो ।

४ जनालाई बगाएकोमा इन्जिनियर सतिशकुमार गोइतको मृत्यु भएको थियो भने सवारी चालक राधाकृष्ण थापा मगर बेपत्ता छन् । दुई जना इन्जिनियर घाइते थिए ।

सुरुमा अडिट सुरुङ बन्द गर्ने ढोकाहरु भित्रबाट खुल्ने गरी जोेड्नुपर्ने थियो । त्यस्तो अवस्थामा पानीको जतिसुकै दबाव परे पनि फ्रेमले खुल्न दिँदैनथ्यो ।

तर, जडानका बेलामा भित्रबाट ढोका बन्द गर्दा प्राविधिक निस्कन समस्या पर्ने भएपछि बाहिरबाटै जोडिएको थियो । ढोका जोडेपछि गत असार २९ गतेदेखि सुरुङमा पानी भरेर परीक्षण गर्न सुरु गरिएको थियो । सुरुङमा अम्बाथानसम्म पानी भरिँदै गएपछि ढोकामा पानीको स्वभाविक चाप पर्न सुरु गरेको थियो ।

भित्रबाट पानीको चाप पर्न थालेपछि बाहिरबाट फिक्स गर्न प्रयोग गरिएका नट बोल्ट फुस्किएर गेटबाट एक्कासी पानी बाहरिएको थियो ।

आयोजनाका अनुसार घरको ढोका बाहिरपट्टी खुल्ने गरी राखेर बाहिरबाटै चुकुल लगाएजस्तै गरी नट बोल्टमार्फत सुरुङको ढोका बन्द गरिएको थियो ।

यदि सो ढोका भित्रपट्टि खुल्ने गरी राखेको भए फ्रेममा पनि पानीको चाप पर्थ्यो । अहिले जसरी ढोका बाहिरबाट फुस्किएर जाँदैन थियो ।

तर, जोड्ने क्रममा भित्रबाट ढोका बन्द गर्दा प्राविधिकलाई बाहिर निस्कन कठीन पर्ने भएपछि डिजाइनलाई लत्याएर ढोकालाई बाहरिबाट खुल्ने गरी जोडिएको थियो । जसमा परामर्शदाता इप्टिसाका प्रतिनिधिले पनि सहमति जनाएका थिए ।

बाहिरबाट कम चाप पर्ने भएकाले भित्रको पानीको चाप व्यवस्थापन गर्न फ्रेमलाई बलियो बनाएर ढोकालाई भित्रै खुल्ने गरी राख्नुपर्नेमा कमजोरी भएको आयोजनाले स्वीकार गरिसकेको छ ।

अब अम्बाथानसहित ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा यस्ता चारवटा गेटमा नै नयाा डिजाइन अनुसार गेट तयार गरेर जोडिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?