Comments Add Comment

भारतीय नाकामा तस्करसँग बारम्बार झडप

२४ भदौ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा ओसार्दै गरिएको काठ नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि २१ भदौको राति ढुँगामुडा गरियो ।

स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको गोलिया काठ ओसार्न लागेको सूचना पाएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीमाथि झण्डै ७० जनाको समूहले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षक दिलिप राय र प्रहरी जवान रामविश्वास पण्डित घाइते भए । प्रहरीको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सीसासमेत फुट्यो ।

यो घटनाको १० दिनअघि मात्रै तस्करीको सामान नियन्त्रणमा लिन गएका प्रहरीमाथि पनि ढुंगामुढा भएको थियो । यद्यपि प्रहरीले काठ भने नियन्त्रणमा लिन सफल भयो ।

धनुषाकै भारतीय सीमावर्ती क्षेत्र विदेह नगरपालिका २, दुहबीमा भारतीय बजारबाट भन्सार छलेर ल्याइएको सामान स्थानीय राजिव महासेठको घरमा भण्डारण गरिएको सूचना पाएपछि गएको प्रहरी टोलीमाथि १२ भदौको दिउँसो करिब ५ सय जनाले ढुंगामुढा गरेका थिए ।

भन्सार छलेर ल्याइएको सामान नियन्त्रणमा लिन खोजेपछि सीमापारीको बस्तीबाट करिब पाँच सय जनाको समूह आएर प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीको भनाइ छ । उक्त घटना नियन्त्रणमा लिन प्रहरीले हवाईफायर नैगरेको थियो । झडपकै बेला तस्करीका सामान अर्काे ठाउँमा सारिएको पाइएको प्रवक्ता मकेन्द्र मिश्रले बताए ।

एक बर्षअघि मुखियापट्टी मुसरनियाँ गाउँपालिकामा मदिरा तस्करी भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीको हतियार नै तस्करहरुले खोसेका थिए ।

१९, वैशाख २०७६ मा भारततर्फ लैजाँदै गरेको रक्सी नियन्त्रणमा लिन पुगेका मुखियापट्टी मुसहरनियाँ प्रहरी चौकीको प्रहरी टोलीमाथि रक्सी तस्कारले आक्रमण गर्दै प्रहरी सहायक निरीक्षक (असई) प्रमोदकुमार साहले बोकेको चाइनिज पेस्तोल नै खोसेका थिए । र, तस्करको समूहले रक्सीको पोका बोकेर फरार भए । सोही दिन साँझपख उक्त हतियार सीमा नजिकैको झाडीमा फेला पर्‍यो ।

यी दृष्टान्तले धनुषा जिल्लामा तस्कर समूह बलियो हुँदै गएको देखाउँछ । प्रदेश २ का धनुषासहित आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएका कारण तस्करलाई खुला सीमाबाट सामान ओसार पसार गराउन सजिलो छ । तर प्रहरी सक्रिय भएर यस्ता सामान तस्करी रोक्ने र नियन्त्रणमा लिने गर्न थालेपछि तस्कर समूहबाट आक्रमण भएको देखिन्छ ।

बटेश्वरमा ओसार्दै गरिएको काठ नियन्त्रणमा लिन जाने प्रहरीमाथि हमला गर्ने ५ जनालाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

बटेश्वर घटनाका पाँच जनालाई पक्राउ गरिए पनि विदेह घटनाका भने कोही पक्राउ परेका छैनन् । धनुषाका प्रहरी प्रमुख रमेशकुमार बस्नेत भन्छन्, ‘ती घट्नामा संलग्न सबै भारततिर गएका छन् । हामी खोजी गरिरहेका छौं ।’

प्रहरी प्रमुख बस्नेत सीमा क्षेत्रमा भएको तस्करी नियन्त्रण गर्नु प्रहरीको दायित्व नै भएकाले तस्करी नियन्त्रणका क्रममा झडप हुनु सामान्य घटना भएको बताउँछन् ।

‘खुल्ला बोर्डरमा तस्करी मौलाउनु, नियन्त्रणमा लिन जाँदा झडप हुनु, उताबाट ढुँगामुढा हुनु, प्रहरीलाई हतियार चलाउनुपर्ने स्थिति आउनु स्वाभाविकै हो’ बस्नेतले भने ‘कि त राज्यले सीमा सिल गर्नुपर्‍यो ।’

उनी प्रहरीमाथि आक्रमण भइरहेपनि काम नरोकिएको बताउँदै मंगलबार पनि एउटा पिकअप गाडीमा लोड गरिएको तस्करीका सामान, दुई वटा मोटरसाइकलसहित रक्सी नियन्त्रणमा लिएको बताए । ‘हामी तस्करी नियन्त्रणमा गम्भीर छौं’ उनी भन्छन्, “तर यसमा सबैको सहयोग अपरिहार्य छ ।’

भन्सार छलेर ल्याउने, थुपारेर राख्ने

२० भदौको राति १२ः३० बजेतिर गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिदेह नगरपालिका ९ खरियानी बस्ने गफुर नदाफको गाई गोठमा भन्सार छलेर ल्याइएका २ लाख १३ हजार रुपैयाँ बराबरका सामान फेला पार्‍यो ।

इलाका प्रहरी कार्यालय औरही र प्रहरी चौकी इटहर्बाबाट खटिएको टोलीले नदाफको घर खानतलासी गर्दा हरियो केराउ, रेडिमेड कपडा, चप्पलसहितका सामान बरामद गरी भन्सार कार्यालय जनकपुरधाममा बुझायो ।

८ साउनमा जनकनन्दनी गाउँपालिका ३ महुवास्थित जितेन्द्रलाल दासको फुसको घरमा लुकाएर राखिएको ५० किलोको १०५ बोरा छोकडा, २५ केजीको २९ बोरा केराउ, ५० केजीको ३६ बोरा केराउ प्रहरीले बरामद गर्‍यो ।

धनुषा जिल्लाको दक्षिणवर्ती क्षेत्र सबै भारतसँग जोडिएको छ । तस्करीमा संलग्न व्यक्ति भारतबाट दैनिक उपभोग्यसहित विभिन्न सामान ल्याउने र यताबाट रक्सी र केराउ पुर्‍याउने काम गर्दै आएका छन् ।

भारतबाट ल्याउने सामान सीमा नजिकै कसैको घरमा थुपारेर राख्छन् र विस्तारै जनकपुरधामसहित नजिकका व्यापारीलाई बेच्ने गर्छन् । यसरी भन्सार छलेर ल्याउँदा सामानको मूल्य बजार भाउभन्दा धेरै सस्तो हुन्छ र त्यसैलाई महंगोमा बेच्ने गरिन्छ ।

नेपालबाट भारततर्फ लगिने रक्सी, केराउसहितका सामान पनि सीमा नजिकै कसैको घरमा राख्ने गरिन्छ । र, मौका मिल्नेवित्तिकै भारततर्फ पठाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment