News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा ओखर आयात परिमाण र मूल्य दुवै अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ।
- भन्सार विभागको तथ्यांक अनुसार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको ९४ लाख किलो ओखर आयात भएको छ जुन अघिल्लो वर्षको तुलनामा १ सय ३२ प्रतिशतले बढी हो।
- नेपाल र भारतबीचको भन्सार महसुलको अन्तरका कारण चीनबाट आयात गरिएको ओखर अवैध रूपमा भारततर्फ तस्करी भइरहेको जानकारहरूले बताएका छन्।
८ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा ओखर आयातमा अस्वाभाविक उछाल आएको छ । भर्खरै सकिएको आर्थिक वर्ष २०८२/८३ मा ओखर आयात परिमाण र मूल्य दुवैमा अघिल्लो आव २०८१/८२ भन्दा दोब्बर बढीले उछाल आएको सरकारी तथ्यांकले देखाउँछ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आव २०८२/८३ मा व्यापारीले ३ अर्ब ५३ करोड ६६ लाख ९२ हजार रुपैयाँ बराबरको ९४ लाख ८ हजार २ सय ६२ किलो (९ हजार ४ सय ८ टन) ओखर आयात गरेका छन् ।
जबकि, अघिल्लो आव २०८१/८२ मा १ अर्ब ५२ करोड ३१ लाख ८४ हजारको ४३ लाख ३१ हजार ३ सय १५ किलो (४ हजार ३ सय ३१ टन) मात्र आयात गरेका थिए । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष ओखर आयात परिमाणमा १ सय १७ प्रतिशत र बाहिरिने रकममा १ सय ३२ प्रतिशतले वृद्धि भएको छ ।
ओखर आयात ह्वात्तै बढेसँगै सरकारले संकलन गर्ने भन्सार राजस्वमा पनि वृद्धि भएको छ । आव २०८१/८२ मा ओखर आयातबाट ६२ करोड ९६ लाख राजस्व संकलन भएको थियो भने आव २०८२/८३ मा यो रकम बढेर ८६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
बजारका जानकारहरू भने पछिल्लो समय व्यापारीले ओखरलाई पनि कमाइको बाटो बनाएको बताउँछन् ।
यसअघि सुपारी, केराउ, मरिच र छोकडाजस्ता वस्तुको तस्करीका लागि बदनाम सीमानाका पछिल्लो समय तरबुजाको बियाँ र ओखर तस्करीको नयाँ गन्तव्य बनेको उनीहरूको भनाइ छ ।
आयात ग्राफ : २ करोडबाट साढे ३ अर्ब
भन्सार विभागको पछिल्लो एक दशकको तथ्यांक हेर्ने हो भने ओखर आयात ग्राफ ठाडो रूपमा उकालो लागेको छ । आव २०७२/७३ मा नेपालमा ५ करोड रुपैयाँभन्दा बढीको ओखर आयात भएको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार उक्त आव बोक्रासहित र बोक्रा नभएको गरी कुल २ लाख ४१ हजार ८ सय ८४ किलो ओखर नेपाल भित्रिएको थियो ।

यसरी आयात गरिएको ओखरको कुल मूल्य ५ करोड ९ लाख ४९ हजार रुपैयाँ थियो । ओखर आयातको मुख्य हिस्सा भारतले ओगटेको छ भने चीन र फ्रान्सबाट समेत सामान्य परिमाणमा ओखर भित्रिएको तथ्यांकले देखाउँछ ।
बोक्रासहित ओखर मुख्य गरी तीन देशबाट आयात भएको देखिन्छ । यसमध्ये भारतबाट मात्रै २ करोड २८ लाख २२ हजारको १ लाख ७३ हजार ५ सय ७० किलो बोक्रासहित ओखर आयात भएको छ ।
चीनबाट ७७ हजार रुपैयाँ बराबरको ५ सय ६० किलो र फ्रान्सबाट २७ हजार बराबरको जम्मा २५ किलो बोक्रासहित ओखर नेपाल भित्रिएको तथ्यांकमा उल्लेख छ ।
तर, गत आव यो परिमाण विगतका सबै रेकर्ड तोड्दै ९४ लाख ८ हजार २ सय ६२ किलो (९ हजार ४ सय ८ टन) पुगेको छ ।
एक दशक अघिसम्म नेपालमा आयात हुने कुल ओखरमध्ये ९९ प्रतिशत हिस्सा भारतको थियो । तर, अहिले अवस्था उल्टिएको छ । गत आव भारतबाट ९ सय ६१ किलोमात्र ओखर भित्रिएको छ । नेपाली बजार अहिले पूर्णरूपमा चीनले कब्जा गरेको छ ।
गत वर्ष आयात भएको कुल ९४ लाख किलोमध्ये ७७ लाख ४५ हजार किलो (२ अर्ब ९२ करोड रुपैयाँ बराबर) ओखर चीनबाट मात्र भित्रिएको छ ।
त्यसबाहेक दक्षिण अमेरिकी राष्ट्र चिलीबाट १२ लाख २२ हजार किलो र अमेरिकाबाट ४ लाख ३८ हजार किलो भित्रिएको छ । अहिले यी दुई राष्ट्र पनि बलियो आपूर्तिकर्ता बनेका छन् ।
कुनै बेला ३ देशमा सीमित ओखर आयात अहिले बहराइन, बेलायत, जापानदेखि यूएईसम्म गरी १५ देशमा फैलिएको छ ।
ओखरलाई ‘ब्रेन फुड’ मानिन्छ । यसमा पाइने ओमेगा–३, प्रोटिन, भिटामिन र मिनरल्सका कारण विशेष गरी कोभिड महामारीपछि नेपालीमा स्वास्थ्यप्रति सचेतना बढेको छ र नियमित ओखर खाने चलन पनि बढेको छ । तिहारको भाइटीकामा मात्र सीमित हुने ओखर माग अहिले बाह्रै महिना हुने गरेको व्यवसायी बताउँछन् ।
तर, नेपालमा ओखर आयात अस्वाभाविक बढ्नुका पछाडि आन्तरिक खपत मात्रै जिम्मेवार छैन । भारत सरकारले आफ्ना कश्मिरी किसानलाई संरक्षण गर्न अमेरिका, चीन लगायत तेस्रो मुलुकबाट आउने बोक्रासहित ओखर र गुदी ओखरमा १ सयदेखि १ सय २० प्रतिशतसम्म आधारभूत भन्सार महसुल लगाएको छ ।
नेपालमा भने ओखर आयात गर्दा जम्मा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याटमात्र लाग्छ ।

करिब शतप्रतिशतको यही भन्सार महसुल अन्तरको फाइदा उठाउँदै व्यापारीले चीनबाट सस्तोमा नेपालमा ओखर ल्याउने र अनधिकृत बाटो (तस्करी) मार्फत भारत पठाउने गरेका छन् ।
भारततर्फ ओखर तस्करी भइरहेको छ भन्ने कुरा गत जेठको घटनाले पनि पुष्टि गर्छ । ३ जेठमा सशस्त्र प्रहरीले सिरहा सीमावर्ती ठाउँमा ठूलो परिमाणमा नेपालबाट भारततर्फ लैजान लागिएको अवैध ओखर बरामद गरेको थियो ।
सरकारी अधिकारीहरू पनि ओखर अलि महँगो हुनाले आयात भएको जति सबै आन्तरिक खपत नहुने बताउँछन् ।
‘भन्सारको तथ्यांकले देखाएजस्तो त्यति धेरै परिमाणमा आयात भएको सबै ओखर नेपालमा खपत हुँदैन,’ यस विषयमा जानकार एक सरकारी अधिकारीले भने, ‘पहिला–पहिला सीमावर्ती क्षेत्रबाट भारत तस्कर भएका घटना छन्, अहिले पनि भारतको भन्सार नीतिका कारण व्यापारीले अवैध रूपमा उतै पठाएका हुन सक्छन् ।’
उनका अनुसार विगतमा चीन लगायत तेस्रो देशबाट बोक्रासहित ओखर आयात गरी त्यसलाई फुटाएर गुदीमात्र भारततर्फ निर्यात गर्ने प्रवृत्ति नेपालमा थियो । आयात तथ्यांक अस्वाभाविक देखिनुमा त्यसले पनि भूमिका खेलेको उनको भनाइ छ ।
‘विगतमा चीन अथवा तेस्रो देशबाट ओखर ल्याएर, फुटाएर भ्यालु एड गरेर पाम आयल जस्तै कन्टेनरका कन्टेनर भारत जान्थ्यो,’ उनले भने, ‘यद्यपि, त्यो राम्रो अभ्यास होइन भनेर पछिल्लो समय सरकारले त्यसलाई अलिकति नियन्त्रण गरेको छ ।’
यस्तो छ ओखर आयात तथ्यांक
आव २०७३/७४ मा नेपालले ९ करोड ७ लाख ३४ हजार बराबरको ३ लाख ६४ हजार ८ सय ७८ किलो ओखर आयात गरेको थियो । त्यसपछिका वर्षहरूमा यो क्रम लगातार उकालो लाग्यो ।
२०७४/७५ मा १४ करोड ४२ लाख ५ हजार बाहिरिँदा ६ लाख २ हजार ३ सय ६७ किलो ओखर भित्रियो भने २०७५/७६ मा २१ करोड ७८ लाख ४७ हजारको ७ लाख ७९ हजार ४ सय ६२ किलो आयात भयो ।
२०७६/७७ मा आयातमा अस्वाभाविक वृद्धि देखियो । अघिल्लो वर्ष २१ करोडको आयात भएकोमा यस वर्ष एकैचोटि ७७ करोड ४४ लाख ८३ हजार रुपैयाँ बाहिरियो । आयात परिमाण पनि ह्वात्तै बढेर २४ लाख ५३ हजार ४ सय ९ किलो पुगेको थियो ।
बढ्दो आयातको यो क्रम २०७७/७८ पुग्दा पहिलो पटक अर्बको बिन्दु पार भयो । उक्त वर्ष नेपालले १ अर्ब ५ करोड ९७ लाख ३ हजार रुपैयाँ बराबरको ३४ लाख ७९ हजार ८ सय ३७ किलो ओखर आयात गरेको तथ्यांक छ ।

लगातार बढेको आयात २०७८/७९ मा भने केही घटेको देखिन्छ । अघिल्लो वर्ष १ अर्ब नाघेको आयात यस वर्ष घटेर ७२ करोड ८५ लाख ६२ हजारमा झरेको थियो । रकम घटेसँगै परिमाण पनि घटेर २३ लाख ७९ हजार १ सय ९७ किलो ओखरमात्र आयात भएको थियो ।
यद्यपि, ओखर आयातमा देखिएको यो गिरावट लामो समय टिकेन । २०७९/८० मा आयात पुन: बढेर ९१ करोड ५२ लाख ४६ हजार बराबरको २८ लाख ६ हजार ८ सय ७१ किलो ओखर भित्रियो । यसैगरी २०८०/८१ मा १ अर्ब १४ करोड १३ लाख बराबरको ३३ लाख किलो आयात भएको थियो ।
ओखरमा आत्मनिर्भर बन्न सक्ने प्रचुर सम्भावना
पछिल्लो समय नेपालमा ओखर आयात अस्वाभाविक बढिरहेका बेला सरकारले भने स्वदेशमै ओखर उत्पादन क्षेत्र विस्तार गरी आत्मनिर्भर बन्न सकिने बताएको छ ।
राष्ट्रिय फलफूल विकास केन्द्र प्रमुख महेशचन्द्र आचार्यले नेपालको पहाडी क्षेत्रका बाँझो जग्गामा राम्रो जातको ओखर खेती गर्न सके नेपाल ओखरमा आत्मनिर्भर बन्न सक्ने बताए ।
आचार्यले स्वदेशमै ओखर माग धान्न र उत्पादन बढाउन केन्द्रले विभिन्न कार्यक्रम अघि बढाएको जानकारी दिए । विशेषगरी पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) प्रोजेक्ट अन्तर्गत ओखरलाई मुख्य बालीका रूपमा अघि सारिएको उनले बताए ।
‘नाफा प्रोजेक्टले ओखरलाई एउटा मेन क्रप (मुख्य बाली) कै रूपमा लिएको छ,’ आचार्यले भने, ‘पहाडी क्षेत्रमा जुन बाँझो हुँदै गएको जग्गा छ, त्यहाँ ओखर एउटा सम्भाव्य बाली हो भनेर हामीले प्राथमिकता दिएका छौं ।’
नेपालमा कर्णाली, गण्डकी र सुदूरपश्चिमका २० भन्दा बढी जिल्लामा यसको खेती हुने गरेको छ । नेपालमा परम्परागत रूपमा कडा बोक्रा भएको हाडे ओखर र दाँते ओखर फल्छ । नेपालमा व्यावसायिक रूपमा ओखर खेती सुरु भएको करिब १५ वर्ष भए पनि पछिल्लो ९–१० वर्षयता मात्रै किसानले यसलाई जीविकोपार्जनको मुख्य स्रोत बनाउन थालेका छन् । प्रदेश र स्थानीय सरकारको अनुदानपछि किसानको आकर्षण बढेको छ ।
नेपालमा कति हुन्छ उत्पादन ?
कृषि, वन तथा पर्यावरण मन्त्रालयले तयार पारेको ‘स्टाटिस्टिकल इन्फर्मेसन अन नेप्लिज एग्रिकल्चर २०८१/८२’ को तथ्यांक अनुसार पछिल्लो ११ वर्षमा ओखर खेती हुने कुल क्षेत्रफल बढे पनि उत्पादनमा भने एकरूपता छैन ।

तथ्यांक अनुसार आव २०७१/७२ मा नेपालमा कुल ७ हजार ८ सय ३९ टन ओखर उत्पादन भएको थियो । त्यसपछिका लगातार चार वर्षसम्म उत्पादनमा सामान्य तर निरन्तर वृद्धि भएको पाइन्छ ।
जसअनुसार २०७२/७३ मा ७ हजार ९ सय ५१ टन पुगेको उत्पादन, २०७३/७४ मा ८ हजार १ सय ७६ टन पुग्यो । त्यसैगरी २०७४/७५ मा ८ हजार २ सय १३ टन ओखर फलेकोमा २०७५/७६ मा बढेर ८ हजार ९ सय ३४ टन पुगेको थियो ।
सुरुवाती वर्षहरूमा निरन्तर उकालो लागेको उत्पादन २०७६/७७ मा पहिलो पटक १० हजार ५१ टन पुगेको तथ्यांकले देखाउँछ ।
आव २०७७/७८ मा उत्पादन घटेर ९ हजार १ सय ६२ टनमा खुम्चियो । त्यसपछिको वर्ष अर्थात् २०७८/७९ मा पुन: उत्पादन बढेर १० हजार ८ सय ९५ टन पुगे पनि लगत्तै २०७९/८० मा फेरि ओरालो लाग्दै ९ हजार ९ सय ६० टनमा झरेको थियो ।
११ वर्षको समग्र तथ्यांक केलाउँदा सबैभन्दा उच्च उत्पादन २०८०/८१ मा भएको देखिन्छ । यस वर्ष २ हजार ८ सय ११ हेक्टर उत्पादनशील जग्गाबाट एकैचोटि १३ हजार ३ सय ११ टन ओखर फलेको थियो । यो वर्ष उत्पादकत्व पनि बढेर प्रतिहेक्टर ४.७४ टन पुगेको थियो ।
तर, हालसम्मकै उच्च उत्पादन भएको लगत्तै पछिल्लो वर्ष २०८१/८२ मा भने ओखर उत्पादन झरेर ९ हजार ३ सय ६६ टनमा सीमित हुन पुगेको छ ।
यस अवधिमा फल दिने (उत्पादनशील) क्षेत्रफल घटेर २ हजार १ सय ६१ हेक्टरमा झरेको छ भने उत्पादकत्व पनि ४.३४ टन प्रतिहेक्टर छ ।
आव २०७१/७२ मा नेपालभरि ३ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा ओखर खेती हुने गरेकोमा २०८१/८२ सम्म आइपुग्दा यो क्षेत्रफल बढेर ५ हजार २ सय ७३ हेक्टर पुगेको छ ।
प्रतिक्रिया 4