
२४ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो ‘टाउको काट्ने’ चेतावनी दिने सञ्जय शाक्यलाई हिरासत मुक्त गर्न प्रहरीलाई आग्रह गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महर्जनले रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा भएको झडपको समयमा उत्तेजनामा आएर शाक्यले त्यस्तो धम्की दिएको भन्दै उनलाई हिरासत मुक्त गर्न आग्रह गरेका छन् ।
भदौ २१ गते प्रहरीले शाक्यलाई नख्खुबाट नियन्त्रणमा लिएको थियो । शाक्यले विभिन्न युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएपछि पक्राउ परेका उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्धामा अनुसन्धान गर्न म्याद थप गर्ने तयारी गरिरहेको छ ।
त्यस्तै, प्रमुख महर्जनले भदौ २१ गते धार्मिक प्रक्रिया र विधिपूर्वक स्वास्थ्य सतर्कता अपनाएर गरिएको रथयात्राले भदौ १८ गते संस्कृतिप्रेमीको मनमा पुगेको चोटमा मलमको काम गरेको समेत उल्लेख गरेका छन् ।
सो रथयात्राको क्रममा भएको झडपमा संलग्न रहेको भनेर प्रहरीले पक्राउ गरेका सबैलाई निःशर्त रिहाइको लागि समेत नगरप्रमुख सहित १९ जातीय संगठनले प्रहरीलाई आग्रह गरेको महर्जनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
१८ गते अव्यवस्थित रूपमा तानिएको रथलाई अहिले पुल्चोकस्थित १६ खुट्टेपाटीमा राखिएको छ । भदौ २९ गते मत्स्येन्द्रनाथलाई खटमा हालेर बुंगमती लैजाने र त्यसको ४ दिनपछि पुल्चोकमा नै रथ भत्काउने कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया 4