Comments Add Comment

सिरहा कारागारका ५९ कैदी बन्दीमा कोरोना

२५ भदौ, जनकपुरधाम । कोचाकोच गरेर कैदी बन्दी राखिएको सिरहा सदरमुकाम सिरहास्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमिहरु सबै पुरुष हुन् ।

केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको महतोले बताइन् ।

‘नयाँ आएका सात जना थुनुवालाई छुट्टै ठाउँमा राखेका थियौं । तर, उनीहरुलाई ज्वरो आएपछि जाँच गराउँदा पोजेटिभ देखिएको थियो,’ महतोले भनिन्, ‘उनीहरुमा पोजेटिभ देखिएपछि अन्यको पनि परीक्षण गराएका थियौं ।’ महतोले पहिला देखिएका ७ जना संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको जानकारी दिइन् ।

महतोले प्रत्येक वर्ष भदौ महिनामा कैदी बन्दीमा भाइरल ज्वरो देखापरेको बताउँदै यसपटक पनि देखिँदा कोरोनाको आशंकामा परीक्षण गराइएको बताइन् । यद्यपि उनीहरुको रिपोर्ट पोजेटिभ आउँदा अन्य सबैको परीक्षण गराउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

यसअघि रिहा गरिएको थियो २१ कैदी बन्दी

यसअघि सिरहा कारागारका २१ कैदी बन्दीलाई कोरोना भाइरस संक्रमण सर्ने भन्दै रिहा गरिएको थियो । गत चैतको दोस्रो साता जिल्ला अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका उनीहरुलाई रिहा गरिएको थियो ।

सिरहा कारागारको १ सय ५० जना कैदी बन्दी राख्ने क्षमता छ । तर, अहिले कारागारमा ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ । यसमध्ये १८ जना महिला र २ जना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताइन् ।

कारागारको क्षमताभन्दा धेरै कैदी बन्दी भएकाले संक्रमितलाई राख्ने ठाउँको पनि अभाव भएको छ । ‘उनीहरुलाई यहीँ त राख्ने हो के गर्ने ?’ महतोले भनिन्, ‘सतर्कता चाहिँ अपनाउन लगाएका छौं ।’

बिहीबार र शुक्रबार कारागारका सम्पूर्ण कैदी बन्दी र कर्मचारीको स्वाब संकलन गरिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment