Comments Add Comment

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएस बालग्राममा

२६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको व्यवस्था मिलाइएको छ । उनीहरुको पालनपोषण, संरक्षण र शिक्षाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो ।

अभिभावक गुमाएका ७ जना बालबालिकाहरु २५ भदौमा एसओएस बालग्राम काभ्रे पुगिसकेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधासहित बस्नेछन् ।

‘यससँगै अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘यही भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुग्नुभएका सभामुख ज्यूले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताउनुभएको थियो ।’

वडाअध्यक्ष प्रताप लामा एसओएस बालग्रामलाई बालबालिका जिम्मा लगाउँदै

सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोली भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउने प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिए ।

पहिरोमा अभिभावक गुमाएका पाँचदेखि बाह्र वर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । लामाका अनुसार बालग्राम पठाइएकाहरुमा छ जना बालक र एक बालिका छन् ।

पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका वडा नं. १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयहरुबाट आवश्यक कागजपत्र तयार गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओएस बालग्राम पनौतिका निर्देशक अमगाईं, विनोदमणी भट्टराईसहितको टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए ।

गत साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने एसओएस बालग्राम पनौतिका निर्देशक अमगाईले जानकारी दिए ।

जुगल गाउँपालिका वडा नं. २ को लिदी पहिरोले ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । विस्थापितहरुको स्थायी बसोबासका लागि पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment