Comments Add Comment

संक्रमित मन्त्रीको दैनिकी : नेताका पुरानो भाषण सुन्ने र योग गर्ने

'कोरोनाले मान्छेअनुसार फरक असर गर्नेरहेछ'

२६ भदौ, विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे १२ दिनयता होम आइसोलेसनमा छन् । सुरुका केही दिन स्वास्थ्यमा समस्या देखिए पनि घिमिरे सामान्य अवस्थामा फर्किदैछन् ।

आइसोलेसन बसाइको समय उनले अध्ययनमा लगाइरहेका छन् । भदौ १५ गते कोरोना पोजेटिभ देखिएका घिमिरेको शुक्रबार पुनः जाँचको रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।

मन्त्री घिमिरेका अनुसार कोरोना संक्रमण पुष्टि भएको ४–५ दिनसम्म झाडापखाला र ज्वरोको समस्या नियमित देखियो । ज्वरो र झाडा पखाला निको भएपछि केही जीउ दुख्ने, जोर्नी दुख्ने र टाउको दुख्ने समस्या पनि देखियो ।

हिजोआज भने अवस्था सामान्य छ । ‘खोकी अझै पनि छ । सुरुका केही दिन अलिक गाह्रो भयो । अहिले सामान्य हुँदैछ’ मन्त्री घिमिरेले भने ।

घिमिरेले आयुर्वेदिक औषधि र जडिबुटी खाइरहेका छन् भने नियमित योग गरिरहेका छन् । ‘आफू बसेको कोठा, शौचालय दैनिक आफैं सफा गर्छु । मैले प्रयोग गरेका कपडा दैनिक धुन्छु’ उनले भने ‘गुर्जाे, ज्वानो, बेसार पानीलगायत आयुर्वेदिक औषधि नियमित सेवन गर्छु ।’

दिउँसोको समयमा भने नेताको पुरानो भाषण सुन्ने र पुस्तक अध्ययन गरिरहेको उनले बताए । घिमिरेले जननेता मदन भण्डारी, नेताहरु गिरिजाप्रसाद कोइराला, प्रचण्ड, केपी शर्मा ओली, माधव नेपाल र शेरबहादुर देउवाको पुरानो भाषण सुनिरहेका छन् । मनोरञ्जनका लागि मनोज गजुरेल, सुबोध गौतम र सन्दीप क्षेत्रीको भिडियो हेर्ने गरेको घिमिरे बताउँछन् ।

घिमिरेको बुझाइमा कोरोनाले व्यक्ति अनुसार फरक फरक असर गर्ने गरेको छ । ‘कोरोना केही होइन, सामान्य रुघाखोकी मात्र हो भन्ने पनि सुनेको थिएँ, कोरोना संक्रमणबाट गम्भीर अवस्थाबाट फर्किएकाहरुको कुरा पनि सुनेको थिएँ’ उनले भने ‘कोरोनाले व्यक्तिअनुसार असर गर्दोरहेछ ।’

उनले कोरोना भाइरस कमजोर हो भनी लापरवाही नगर्न र संक्रमित भएमा आत्मबल दह्रो बनाउन सुझाव दिए । आइसोलेसनमा रहे पनि फोनमा मन्त्रालयको नियमित ब्रिफिङ लिने र निर्देशन दिने काम गरिरहेको घिमिरे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment