Comments Add Comment

पूर्व-पश्चिम र हुलाकी राजमार्गमा २० वटा पेट्रोल पम्प बनाउँदै निगम

२८ भदौ, काठमाडौं । पूर्व-पश्चिम र हुलाकी राजमार्गमा सुविधासम्पन्न ‘सेमी नमूना’ पेट्रोल पम्प बनाइने भएको छ । कार्डबाटै नगद भुक्तानी गर्नेदेखि सुविधा सम्पन्न पार्किङ, उच्च गुणस्तरको अग्नि सुरक्षा प्रविधि र खाजा घरसहितको २० वटा पम्प खोल्ने प्रक्रिया अघि बढाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।

यसअघि भैरहवामा निर्माण गरेर निगमले सञ्चालनमा ल्याएको प्रकृतिकै थप २० वटा पम्प खोल्न लागिएको उपाध्यायको भनाइ छ । पम्प स्थापनाबारे थप अध्ययन गर्न निगमकै आपूर्ति तथा वितरण विभाग उपनिर्देशकको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।

एउटा पम्प निर्माण गर्न झण्डै १० कठ्ठा जग्गा आवश्याक हुने र जग्गाको लागतबाहेक ५ करोड रुपैयाँ हाराहारी खर्च हुने निगमको प्रारम्भिक अनुमान छ ।

उच्चतम् प्रविधियुक्त यस्ता पम्पको मौज्दात लगायतको गतिविधि निगमको प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयबाट समेत हेर्न मिल्ने किसिमको हुने निगमले जनाएको छ ।

निगमले सञ्चालन गर्ने यस्ता पम्पहरु २४ सै घण्टा सञ्चालन हुनेछन् । सोलारबाट वैकल्पिक विद्युतीय सुविधा हुने यस्तो पम्पमा आगो नलाग्ने संरचना बनाइने निगमले जनाएको छ ।

पम्प स्थापना गर्ने जग्गा उपलब्ध गराइदिन निगमले प्रदेश र स्थानीय सरकारलाई पत्राचार गरिसकेको छ । सकेसम्म सरकारी वा कुनै सरकारी संस्थाको जमिनमा नै पम्प बनाउने गरी प्रक्रिया थालिएको प्रवक्ता उपाध्यायले बताए ।

प्रदेश र स्थानीय तहले जग्गा उपलब्ध गराउन नसकेमात्रै जग्गा प्राप्ति प्रक्रियामा निगम जाने उनको भनाइ छ ।

निजी क्षेत्रको व्यापार खोस्न नभई सुविधा सम्पन्न पम्प कस्तो हुन्छ भन्ने देखाउनका लागि निगमले आफ्नै पम्प सञ्चालन गर्न लागेको दावी गरेको छ ।

पम्प बनाउने स्थान र जग्गाकै टुंगो लागिनसकेका कारण आयोजना कहिले सम्पन्न हुन्छ भन्ने यकिन गर्न नसकिने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment