Comments Add Comment

कालापहाड जान नपाएपछि जडीबुटी खोज्न पाटन हिँडे युवा

२९ भदौ, खलङ्गा । जुम्लाको तिला गाउँपालिका-९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लाग्नुभएको छ ।

हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उनी यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिँडेका हुन् ।

रावत केही युवाको समूह लिएर जडीबुटी सङ्कलनमा जुटेका छन् । ‘आम्दानीको कुनै स्रोत छैन’, उनले भने, ‘परिवारको गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ । लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन ।’ त्यसैले पैसा कमाउनका लागि जडीबुटी सङ्कलन गर्न पाटनतिर गएको उनको भनाइ छ ।

रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडीबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् ।

तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी सङ्कलन गर्न हिँडेका छन् । उनले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताए ।

एक दिनमा सेतोचिनी सङ्कलनबाट न्यूनतम एक हजारसम्म आम्दानी गर्न सकिने उनीहरु बताउँछन् । सेतो चिनी सुकाएको प्रतिकिलो ५०० र काँचो प्रतिकिलो २५ मा बिक्री हुन्छ । एक दिनमा एकजनाले एक क्विन्टलसम्म कोर्न सक्ने ती युवाको अनुभव छ । सेतोचिनी कोर्न भने धेरै दुःख हुने उनीहरू बताउँछन् ।

जडीबुटी सङ्कलनका लागि आवश्यक खाद्यान्न, नून, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ । स्थानीय एक युवक भन्छन्, ‘सबै बोकेर लानुपर्छ, दाउरा र पानी पनि टाढाबाट बोक्नुपर्छ । अचानक बिरामी हुँदा समस्या हुन्छ । पाटनमा चट्याङको डर पनि उत्तिकै हुन्छ,’ ज्यानको बाजी थापेर खर्च जुटाउन भए पनि पाटनतिर जान बाध्य भएको ती युवकले सुनाए ।

तातोपानी-७ सर्मीका प्रेम कुँवर पनि दशैँ खर्च जुटाउनका लागि एक महिना पाटनमै बस्ने योजनामा छन् । अव्यवस्थित ढङ्गले सेतोचिनी सङ्कलन हुँदै जाँदा अहिले नजिकनजिक पाउन छाडेको उनले बताए ।

उनका अनुसार यसको बिउ नपाक्दै सङ्कलन गर्नाले लोप हुने खतरा बढेको छ । कात्तिकदेखि मङ्सिरसम्म राख्ने हो भने यसको बिउ पाक्छ तर आजभोलि नै सङ्कलन गर्ने प्रतिस्पर्धा चलिरहेको उनले बताए ।

जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्तमात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔँले, सतुवा, पदमचाललगायत थुप्रै जडीबुटी पछिल्लो समय लोप हुँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment