Comments Add Comment

यी ५ कारणले ट्रम्प राष्ट्रपतिमा दोहोरिन सक्छन्

२९ भदौ, काठमाडौं । फेरि दोहोरिने चाहना गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियताको अवस्था केही साताअघिको तुलनामा अहिले राम्रो देखिएको छ ।

अगष्ट महिनाको शुरुवातमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडन चुनावी दौडमा अगाडि थिए । तर, पछिल्लो १० दिनमा यो ट्रेन्डमा कमी आएको छ । फाइभथर्टिएट वेबसाइटका अनुसार बाइडनको अग्रता दुई प्वाइन्टले कमी आएको छ । गत जुलाईको अन्तिममा ४० दशमलव २ प्रतिशत मत पाएका ट्रम्पले अहिले ४३ दशमलव २ प्रतिशत मत पाएका छन् ।

यो आँकडाले मात्र राष्ट्रपति निर्वाचन टम्पको पक्षमा नतिजा जान्छ भन्ने सकिने अवस्था छैन । तर, पछिल्लो समय उनले चालेका कदमलाई मानिसहरुले मन पराएका हुन् कि भन्ने पछिल्लो ट्रेन्डले देखाएको छ ।

राजनीतिक विश्लेषकका भनाइलाई आधार मान्ने हो भने ट्रम्प पुनः एकपटक अमेरिकाको राष्ट्रपति बन्न सक्ने पाँच कारण छन् –

१. ट्रम्प समर्थकमा उत्साह

अमेरिकामा मतदान अनिवार्य छैन । त्यसैले यहाँको अवस्था जे पनि हुन सक्छ । यस्तोमा नेताहरुको काम मतदातालाई लोभ्याउने मात्र नभएर उनीहरुलाई मतदान स्थलसम्म आउन प्रेरित गर्नु पनि हुनेछ । अमेरिकामा मंगलबारको दिन निर्वाचन राखिएको छ । जुन दिन कुनै सार्वजनिक बिदा पर्दैन ।

अघिपछिको भन्दा यसपटकको अवस्था फरक छ । अहिले मानिसहरुलाई मतदान स्थलसम्म ल्याउनमात्रै होइन, कोरोना भाइरस (कोभिड–१९) को जोखिम मोलेर मतदान गर्न प्रेरित गर्नु नेताहरुको लागि चुनौती बन्नेछ । त्यसैले मतदाताहरु चुनावप्रति कत्तिको उत्साहित छन् भन्ने कुरालाई ध्यानमा राखिएको छ । जहाँ ट्रम्पका समर्थकहरु बढी उत्साहित देखिएका छन् ।

गत जुलाईमा युगोभ इन्स्टिच्युटले मतदातालाई आफ्नो मनपर्ने उम्मेदवारलाई भोट दिन कत्तिको उत्साहित हुनुहुन्छ ? भनेर प्रश्न गरेको थियो । जसमा बाइडनका ४० प्रतिशत समर्थकले उत्साहित रहेको बताएका थिए भने ट्रम्पका ६८ प्रतिशत समर्थकले उत्साह व्यक्त गरेका थिए ।

इन्स्टिच्युटले मतदाताहरुलाई नोभेम्बरमा हुन गइरहेको निर्वाचनमा मतदानको लागि जान को को तयार हुनुहुन्छ ? भनी गरेको प्रश्नमा ट्रम्पका ७६ प्रतिशत समर्थकले पक्का मतदान गर्ने बताएका थिए भने ११ प्रतिशतले निश्चित नभएको बताएका थिए । बाइडनको हकमा भने यो अनुपात ६९–१६ को छ ।

सीएनएनले अगष्टको मध्यसम्म दर्ता भएका मतदाताहरुमा गरेको सर्वेक्षणको क्रममा डेमोक्रेटिक पार्टीलाई ४९ प्रतिशत र रिपब्लिकन पार्टीलाई ४८ प्रतिशतले रुचाएको देखिएको थियो ।

२. राजनीतिक वृत्तभन्दा बाहिरका व्यक्ति

ट्रम्प सन् २०१६ मा राजनीतिक पृष्ठभूमिभन्दा बाहिरबाट आएर राष्ट्रपतिको उम्मेदवार बनेका थिए । जसको कारण राजनीतिमा धेरै चासो नभएका मानिसहरुले पनि राजनीतिमा उनको आगमनपछि केही चासो राख्न थालेका थिए ।

राजनीति त्यति मन नपराउने मानिसका लागि उनी एक विकल्प बनेका थिए । राष्ट्रपति बनेको चार वर्षपछि पनि उनी आफूलाई राजनीतिक वृत्तभन्दा बाहिरको व्यक्ति बताउँदै आएका छन् । यद्यपि अहिले त्यतिबेला उनीमा आशा देख्ने मानिसहरुले ट्रम्पले आशा गरिएअनुसारको काम गर्न नसकेको बताउँदै आएका छन् । केहीले भने हिलारी क्लिन्टन आएको भए आफूहरुको जिन्दगी झन् नराम्रो बन्न सक्ने बताउँदै आएका छन् ।

सन् २०१९ मा फ्लोरिडाको ओरल्याण्डोमा आफ्नो निर्वाचन प्रचारको शुरुवात गर्दै उनले अहिले सरकार ‘स्थायी राजनीतिक वर्ग’को घेरामा सीमित रहेको बताएका थिए । साथै उनले अझै पनि आफू राजनीतिक वृत्तभन्दा बाहिरको व्यक्ति भएको सन्देश दिने प्रयास गरिहेका छन् ।

साथै उनले मानिसहरुलाई बाइडनलाई भोट नदिन पनि आग्रह गरिरहेका छन् । बाइडन विगत ४० वर्षदेखि राजनीतिमा रहेका, ६ पटक सिनेट सदस्य रहेको र उपराष्ट्रपति पनि बनिसक्दा पनि उनले कुनै राजनीतिक विरासत बनाउन नसकेको भन्दै उनलाई भोट दिनु उचित नहुने ट्रम्पको तर्क छ ।

३. निर्वाचनमा इन्टरनेटको प्रयोग

सामाजिक सञ्जालमा ट्रम्पको धेरै रुचि छ । त्यसैले सामाजिक सञ्जालको माध्यमबाट उनको प्रचारप्रसार पनि बढी हुने गरेको छ । न्युयोर्क टाइम्समा प्रविधिको विषयमा लेख्ने केभिन रोस अहिले फेसबुकमा कम्तीमा लोकप्रिय दैनिक १० पोस्ट रिपब्लिकन पार्टी, कन्जरर्भेटिभ पार्टी र ट्रम्प समर्थकको विषयमा हुने बताउँछन् । पछिल्लो समय व्यापक मात्रामा सामाजिक सञ्जालको प्रयोग बढेको छ ।

यस्तो अवस्थामा मानिसहरुलाई कुनै सन्देश पुर्‍याउन सामाजिक सञ्जाल महत्वपूर्ण माध्यम हो । जसको प्रयोग ट्रम्पले गरिरहेका छन् । समाजिक सञ्जालको प्रयोग गर्ने धेरै गौण मतदाताहरुले ट्रम्पलाई मत दिन सक्छन् । जसले ट्रम्पलाई जित दिलाउन सहयोग पुग्न सक्छ ।

बाइडनको कुरा गर्ने हो भने सामाजिक सञ्जालमा उनका फओअर्स ट्रम्पको भन्दा १० गुणा कम छन् । साथै उनी धेरै विषयमा सामाजिक सञ्जालमा बोल्दैनन् । यस्तोमा अहिले सामाजिक सञ्जालमा ट्रम्पको प्रशंसा हुन थालेको छ । यस किसिमका चर्चाको असर मतदातामा कत्तिको पर्छ भन्ने त निर्वाचनले देखाउनेछ तर अहिले चिर्वाचनको प्रचारमा इन्टरनेटको प्रयोग महत्वपूर्ण बनेको छ ।

४. आफ्नो एजेन्डालाई निरन्तर अघि बढाउनु

ट्रम्प कुनै न कुनै विषयलाई समर्थन गरेर होस् वा त्यसलाई अस्वीकार गरेर निरन्तर चर्चामा आउने गरेका छन् । उनी सार्वजनिक बहस कसरी शुरु गर्ने भन्ने कुरामा माहिर छन् ।

उनले अमेरिकामा भइरहेको विरोध प्रदर्शनमा विपक्षीलाई निशाना बनाउने गरेका छन् । उनको यो तरिकाले मानिसहरुको ध्यान कोरोना भाइरसको महामारीको असफलताबाट अन्त मोडिएको छ । साथै यसले ट्रम्पलाई चर्चामा पनि ल्याएको छ ।

५. सरकारी संयन्त्रको प्रयोग

ट्रम्प निर्वाचनमा जित हासिल गर्न सरकारी संयन्त्रको पनि प्रयोग गरिरहेका छन् । जसको उदाहरण कोराना भाइरसविरुद्धको खोप निर्माणको काम तीव्र बनाउनु र महामारीमा समस्यामा परेको अर्थतन्त्रलाई सहयोगको योजना अघि सार्नु हो ।

ट्रम्पले आवश्यकता परेको खण्डमा सरकारी संयन्त्रको प्रयोग गर्न सक्ने बताएका छन् । आफूलाई किन जिताउनु आवश्यक छ भन्ने कुरा मानिसहरुमा पु¥याउन यसको प्रयोग गर्न सकिने उनको भनाइ छ ।

ट्रम्पले रिपब्लिकन पार्टीको सम्मेलनको दिन ह्वाइट हाउसअघि १५ सय पाहुनाहरुलाई एक घण्टा लामो भाषण दिएका थिए । उनले ह्वाइट हाउसका भवनलाई देखाउँदै भनेका थिए, ‘वास्तविकता यो छ कि म अहिले यहाँ छु, उनी होइनन् । मेरो लागि यो विश्वको सबैभन्दा सुन्दर भवनमध्येको एक हो । साथै यो भवन होइन, मेरो लागि यो घर हो ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment