Comments Add Comment

भुक्तानी नपाएपछि लन टेनिस कोर्टमा ठेकेदारको ताला

२९ भदौ, बुटवल । निर्माण कार्य सम्पन्न गरेको तीन वर्षसम्म बक्यौता भुक्तानी नपाएपछि ठेकेदारले बुटवलस्थित लन टेनिस कोर्टमा ताला लगाइदिएका छन् ।

रुपन्देही लन टेनिस संघले निर्माण गरेको उक्त कोर्ट निर्माणको बक्यौता रकम पाउन लिखित निवेदन दिंदा समेत नपाएपछि सोमबार निर्माण व्यवसायीले ताला लगाएका हुन् ।

१७ लाख रुपैयाँभन्दा बढी पाउनुपर्ने रकम पटक पटक माग गर्दा नदिएर आलटाल गरेकाले बाध्य भएर ताला लगाउनुपरेको व्यवसायी अशोक कुँवरले बताए । कोर्ट निर्माण हुंदा लन टेनिस संघका अध्यक्ष अशोक गुरुङ थिए ।

९६ लाख २५ हजार रुपैयाँमा निर्माण सम्झौता भएकोमा अझै १७ लाख २२ हजार रकम भुक्तानी दिन बाँकी रहेको निबर्तमान अध्यक्ष अशोक गुरुङले बताए ।

भुक्तानी माग्न जाँदा निवर्तमान अध्यक्षसँग कुरा गर्नु भनेर आलटाल गरिएको अर्का ब्यबसायी राजकुमार भट्टराईले बताए । नयाँ कार्यसमितिलाई खर्च आम्दानी हस्तान्तरण गरेर तिर्न बाकि भुक्तानी दिने निर्णय समेत भएकोले आफु यसको जिम्मेबार नभएको निबर्तमान अध्यक्ष अशोक गुरुङले बताए ।

लन टेनिस संघका अध्यक्ष संजय कुमार श्रेष्ठले जिल्ला खेलकुद बिकास समितिले लन टेनिसको कार्यसमितिलाई कुनै पनि संलग्नता नगराई आफ्नो काम गरेकाले बक्यौता रकमबारे आफूहरुलाई जानकारी नभएको बताए । लन टेनिस कोर्ट साझा सम्पत्ति भएकाले भुक्तानीका लागि समन्वय गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment