+
+
Shares

बुसानको मूख्य प्रतिस्पर्धामा नेपाली चलचित्र ‘ऐन झ्यालको पुतली’ छनौट

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते २१:५७

२५ औं संस्करणको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ छनौट भएको छ । यो चलचित्रका लेखक-निर्देशक सुजित बिडारी हुन् ।

बुसानको मूख्य प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली चलचित्र हो यो । यसलाई बुसानको सर्वाधिक पुरस्कार राशी भएको ‘न्यु करेन्ट सेक्सन’ अन्र्तगत प्रतिस्पर्धामा राखिएको छ । उक्त सेक्सनमा बाजी जित्ने चलचित्रले ३० हजार डलर प्राप्त गर्नेछन् ।

विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एक हो, बुसान । यसपाली कोरोना महामारीको कारण यो फेस्टिभल भर्चुअल रुपमा आयोजना हुने बताइएको छ । अक्टोबर २१ म सुरु हुने फेस्टिभल ९ दिनसम्म जारी रहनेछ ।

यसअघि नविन सुब्बाको चलचित्र ‘गुडबाई काठमाडौं’ बुसानको ‘किम जेसिओके अवार्ड’मा छनौट भएको थियो । न्यु करेन्टपछिको ठूलो पुरस्कार राशी भएको अवार्ड हो यो । यसको पुरस्कार राशी १० हजार अमेरिकी डलर छ ।

सुजितको पहिलो फिचर फिल्म हो, ऐन झ्यालको पुतली । यसअघि उनले छोटो फिल्म ‘सावित्री’ निर्देशन गरेका थिए ।

चलचित्रको कथा एक ग्रामिण बालिकाको हो, जो शहरमा पढ्न चाहन्छिन् । बालिका १३ बर्षकी छे । उनको नाम विद्या । विद्यालाई शहरमा पढाउनका लागि ९ बर्षिय भाईले पनि सहयोग गरिरहेका छन् ।  तर, विद्याले शहरमा पढ्नका लागि जति प्रयास गर्छिन्, उत्तिनै अनेकन बाधा झेल्नुपर्ने अवस्था आइलाग्छ । यसलाई निर्देशकले ऐना झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेका छन् । निर्देशक सुजितले भनेका छन्, ‘यो हाम्रो देशका समग्र महिलाहरुको नियती पनि हो ।’

चलचित्रमा सिरु विष्ट, कन्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायतले अभिनय गरेका छन् । आइसफल प्रोडक्सन र लोकल सिनेमाको संयुक्त व्यानरमा बनेको चलचित्र सावा करोड बजेटमा तयार भएको बताइन्छ । यसको छायांकन अमर महर्जन,  संगीत पुष्प संगम, सम्पादन किरण श्रेष्ठले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?