Comments Add Comment

जाँदाजाँदै कुलमान घिसिङले दिए तीन प्रष्टीकरण

‘नेतृत्वमा सँधैभरी रहनुपर्छ भन्ने म मान्दिन’

३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षे कार्यकाल पूरा गरेका कुलमान घिसिङ गत आइतबार विदा भए । उनलाई पुनः नियुक्त गर्नुपर्ने भन्दै सडक आन्दोलनसमेत भएको छ । उर्जा मन्त्रालयले पनि पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ, तर, निर्णय भएको छैन ।

विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुले मंगलबार औपचारिक कार्यक्रम नै गरेर घिसिङलाई बिदाइ गरे । कार्यक्रममा चार वर्षे कार्यकालको अनुभव सुनाउँदै घिसिङले आफूमाथि लागेका मुख्य तीन वटा आरोपको प्रष्टीकरण दिए ।

पहिलो – सबै जस कुलमानले लिए

प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त हुँदा मुलुकमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो । २०७३ भदौ २९ मा जिम्मेवारी सम्हालेका उनले त्यसै वर्षको तिहारदेखि काठमाडौं उपत्यकाबाट अनौपचारिक रुपमा लोडसेडिङ मुक्त अभियान शुरु गरे ।

चार वर्षे कार्यकाल सकिँदासम्म घिसिङ त्यसमा सफल भए । अहिले देश लोडसेडिङमुक्त छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ  खुद नोक्सानीमा रहेको प्राधिकरणले कुलमान घिसिङ नेतृत्वमा आएपछि आव ०७३/७४ मा १ अर्ब ४७ करोड, आव ०७४/७५ मा २ अर्ब ८५ करोड, आव ०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ र आव ०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७२/७३ सम्म ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटा रहेकामा कुलमान आएपछि आव ०७३/७४ मा सञ्चित नोक्सानी २८ अर्ब १७ करोड, आव ०७४/७५ मा २५ अर्ब ५९ करोड, आव ०७५/७६ मा १२ अर्ब २३ करोड रुपैयामा झर्‍यो । आर्थिक वर्ष ०७६/७७ मा सञ्चित घाटा शून्यमा झारी ४ अर्ब ८७ करोड रुपैयाँ  नाफामा लैजान सफल भएको घिसिङले बताएका छन् ।

घिसिङ प्राधिकरण नेतृत्वमा जाँदा २५.२८ प्रतिशत विद्युत चुहावट थियो, अहिले १५.२७ प्रतिशतमा झरेको छ । यस्ता महत्वपूर्ण उपलब्धीको जस घिसिङ एक्लैले लिएको आरोप प्राधिकरणकै पूर्वकार्यकारी निर्देशकदेखि केही राजनीतिक नेताले लगाउँछन् ।

कुलमानले भने यो आरोप सत्य नभएको प्रष्टीकरण दिएका छन् । ‘विद्युत प्राधिकरण सरकारको एउटा मन्त्रालयभित्रको निकाय हो । सरकारको निर्देशन र अधिनमा रहेर काम गर्ने हो’ उनले भने, ‘त्यसकारण एक जना कार्यकारी निर्देशकले गर्‍यो भन्ने होइन । प्रधानमन्त्री, मन्त्री, बोर्ड, विभाग, कर्मचारी सबैको टिमवर्कको प्रतिफल हो यो ।’

उनले अघि भने, ‘लोड पर्ने समय बेला बिहान–साँझ कम विद्युत खपत गर्नुस् भन्दा आम नागरिकहरुले मान्नुभयो । त्यसकारण यसको जस सबैलाई जान्छ । प्रधानमन्त्रीलाई जान्छ, मन्त्री, कर्मचारी आम जनतालाई जान्छ । मैले कहिल्यै एक्लै गरेँ भनेको पनि छैन ।’

भारतबाट विद्युत ल्याएपछि लोडसेडिङ अन्त्य भएको, डाटा मिलाएर नाफा देखाएको भन्नेहरु पनि छन् ।

घिसिङको यसको पनि प्रष्टीकरण दिए । उनका अनुसार निरन्तर चार वर्ष नाफाको ग्राफ माथि माथि गएपछि डाटा मिलाएर नाफा देखाएको भन्ने आरोप स्वतः खण्डित भइसकेको छ ।ल

उनले भने, ‘भारतबाट विद्युत ल्याएर मात्रै लोडसेडिङ अन्त्य भएको होइन, नेपालमै पनि उत्पादन भएको छ । अर्को वर्ष हामी विद्युत निर्यात गर्ने ठाउँमा पुग्दैछौं, आत्मनिर्भर हुँदैछौं ।’

भारतबाट विद्युत ल्याएर लोडसेडिङ अन्त्य नगरेको तर, आयातित विद्युतले केही सहज भने भएको उनले बताए ।

दोस्रो – मिडिया परिचालन

घिसिङलाई लागेको अर्को आरोप हो, आफ्नो पक्षमा व्यापक मिडिया परिचालन गर्छ ।

उनले भने कहिल्यै मिडिया परिचालन नगरेको र कसैलाई ‘यस्तो लेखिदेऊ’ नभनेको प्रष्टीकरण दिएका छन् ।

‘कतिपयले प्रचार गरेको भन्छन् तर, कतिपय अवस्थामा मिडियासँग लुकीलुकी हिँडेको छु । हाम्रो कामको विषयमा मिडिया आफैँले फलो गरेको हो’ घिसिङ भन्छन्, ‘मिडियाले हाम्रा राम्रा पक्ष पनि ल्याएको छ, नराम्रा पक्ष पनि ल्याएको छ । त्यसकारण यो चार्ज (आरोप) सत्य होइन ।’

आफ्नो काममा मिडियाले चासो दिएको र भएका उपलब्धीबारे नियमित जानकारी गराउने गरेको उनले बताए ।

तेस्रो– कसैले भनेको मान्दैन

यो आरोप लगाउने चाहिँ घिसिङले नेतृत्व गरेको विद्युत प्राधिकरणका कर्मचारीहरु समेत छन् । घिसिङकै शब्दमा ‘सबै आफैँ निर्णय गर्छ, कसैलाई सोध्दैन’ भन्ने आरोप पनि लागिरह्यो ।

आफूले संस्थाको हितमा अडान राखेको तर, कसैलाई नसोधी एक्लै निर्णय नगरेको उनको प्रष्टिकरण छ । आफू नेतृत्वमा आएपछि ट्रेड युनियनका नेताहरुलाई समेत सञ्चालक समितिमा राखेर खुलमखुला छलफल गरेर संस्थालाई अगाडि बढाएको उल्लेख गर्दै घिसिङले कर्मचारीहरुकै अगाडि भने, ‘मैले मेरो लागि होइन, संस्थाको हितका लागि गर्दा कसैलाई चित्त दुखाइ भयो होला । यसमा चित्त दुखाइ गर्न हुन्न ।’

आफ्नो कार्यकालमा कर्मचारीको शाख बढेको उनले बताए । ‘हिजो प्राधिकरणमा को गयो को आयो थाहा हुँदैनथ्यो । अहिले चियोचर्चो हुन थालेको छ, साना बच्चालाई थाहा छ’ उनले भने ।

प्राधिकरणलाई नाफामा लगेर कर्मचारीलाई थोरै भएपनि बोनस खुवाउन सफल भएको भन्दै घिसिङले कर्मचारीकै अगाडि कर्मचारीहरुले नै लगाएको आरोपको खण्डन गरे । ‘टिमवर्क पनि हो । टिममा काम गर्‍यो नतिजा आयो’ उनले बिदाइ कार्यक्रममा भनेका छन् ।

अबको चुनौती – प्राप्त उपलब्धीको रक्षा

विद्युत प्राधिकरणको कार्यकारी निर्देशनबाट विदा भएका घिसिङले अबको मुख्य चुनौती आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु भएको बताएका छन् ।

उत्पादित विद्युतको वजार व्यवस्थापन, विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु पनि चुनौतीका रुपमा रहेको उनले बताए । संघीय संरचना र नयाँ विद्युत ऐन अनुसार संस्थागत पुनर्संरचना गरी प्रभावकारी संचालनमा ल्याउनुपर्ने उनले बताए ।

‘यसबाहेक अन्य व्यवस्थापकीय चुनौतीहरु थपिंदै जानेछन्’ जाँदा जाँदै घिसिङले भनेका छन् ।

‘नेतृत्वमा सँधैभरि रहनुपर्छ भन्ने मान्दिन’

विद्युत प्राधिकरणको नेतृत्वमा अब को आउलान् भन्ने टुंगिएको छैन । घिसिङलाई दोहोर्‍याउन सडकदेखि सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) नेतृत्वसम्मबाट लबिङ पनि भइरहेको छ ।

घिसिङ आफैंले चाहिँ नेतृत्वमा दोहोरिन चाहन्छन् कि चाहँदैनन भन्ने मुख खोलेका छैनन् । मंगलबारको बिदाइ कार्यक्रममा यसबारे बीचबीचमा रहेर सम्बोधन गरेका उनले भने, ‘एक जना सँधैभरि नेतृत्वमा रहनुपर्छ भन्ने म मान्दिन । म नहुँदा पनि यहाँ नेतृत्व पाएको हकमा सबैले काम गर्न सक्नुहुन्छ ।’

तर आफ्नो विषयमा मन्त्रिपरिषदमा प्रस्ताव गएकोबारे आफलाई कौतुहलता रहेको घिसिङले बताए । ‘तपाईहरुलाई जस्तै मेरो पनि कौतुहलता छ, यो बिदाइ हो कि के हो !’ उनले भने, ‘मन्त्रिपरिषदमा पुनः नियुक्तिको विषयमा छलफल भएको सुनेको हुँ । तर त्यसलाई हेरेर पर्खिएर अपेक्षा गरेर पनि होइन ।’

नेतृत्वमा निरन्तरता पाउने वा परिवर्तन भन्ने विषय स्वाभाविक भएको र स्वाभाविक रुपमा नै लिनुपर्नेमा घिसिङले जोड दिए ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

बिदाइ कार्यक्रममा घिसिङले आफूलाई प्राधिकरणको नेतृत्व दिएको भन्दै तत्कालीन प्रधानमन्त्री प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माप्रति आभार प्रकट गरे ।

यो पनि पढ्नुहोस ‘नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment