२१ कात्तिक, काठमाडौं । वैकल्पिक शक्तिहरूलाई ध्रुवीकृत गर्दै नयाँ दल गठन सामूहिक प्रयत्नमा सहमति जुट्न ढिलो भएसँगै चुनावी सरकारका मन्त्री कुलमान घिसिङ नयाँ दल दर्ताको अन्तिम चरणमा पुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालय एकसाथ सम्हालिरहेका घिसिङका लागि आउँदो चुनाव केन्द्रित भएर दल निर्माण गर्ने समय भने धेरै छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह पक्ष, विवेकशील साझा पार्टी, रास्वपाको पूर्व नेता सुमना श्रेष्ठ, जेनजी अगुवा सुदन गुरुङ लगायतसँग छलफलबाट एकीकृत दल गठन प्रयासमा ढिलाइ हुँदा घिसिङ तत्कालका लागि एक्लै अघि बढ्ने भएका हुन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही महिनाको मसान्तसम्म समयावधि तोकेको छ ।
मन्त्री घिसिङले रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, काठमाडौं महानगरका मेयर बालेनका निकटका व्यक्तिहरू, विवेकशील साझाका पदाधिकारी, सुमना श्रेष्ठ, जेनजीका अगुवाहरूसँग निरन्तर संवाद गरेका थिए । संवाद निष्कर्षमा पुग्न नसकेसँगै घिसिङले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरी दर्ताको प्रक्रियामा जान लागेका छन् ।
घिसिङ निकट मोहन गोलेका अनुसार आइतबार दल दर्ताका लागि आवेदन दिने तयारी छ । गोलेले अनलाइनखबरसँग भने, ‘दल दर्ताका लागि कागजपत्रहरू तयार हुँदैछ । हस्ताक्षर गराउने क्रम पनि भइरहेको छ । शुक्रबार दल दर्ता हुन नसके आइतबार हुन्छ ।’
घिसिङको नेतृत्वमा गठन हुने दलको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ । चुनाव चिन्ह बिजुलीको चिम अर्थात् बल्व प्रस्ताव गरिने भएको छ ।
मन्त्री पदमा बहाल रहेकै बेला पार्टी अध्यक्ष बनेर दल दर्ता गर्ने विषयमा सार्वजनिक रुपमा प्रश्न उठ्न सक्नेप्रति घिसिङले समाजका कतिपय व्यक्तिहरूसँग आवश्यक परामर्श पनि गरेका थिए । घिसिङ निकटका व्यक्तिहरूका अनुसार मन्त्री पदमा रहेको व्यक्तिले दल गठन गर्दा प्रधानमन्त्री सुशीला कार्कीले असहजता महशुस गर्ने आशंका पनि घिसिङले राखेका थिए ।
घिसिङ निकट व्यक्तिहरूको दाबी अनुसार दल दर्ता गर्ने जानकारी उनले प्रधानमन्त्री कार्कीलाई गराइसकेका छन् । ती व्यक्तिले अनलाइनखबरलाई दिएको जानकारी अनुसार कार्कीले वैयक्तिक स्वतन्त्रता भएको भन्दै दल दर्ताका लागि ‘ग्रिन सिग्नल’ दिएकी छन् । मन्त्री पदमा बहाल रहेरै घिसिङ दल दर्ता गर्ने निचोडमा पुगेका छन् ।
घिसिङ नेतृत्वको नयाँ दलमा केन्द्रीय समितिको आकार र व्यक्ति को को हुने बारे निर्क्यौल भइसकेको छैन । घिसिङ निकट गोलेका अनुसार केन्द्रीय समितिको आकार र व्यक्तिहरू बारे छलफल जारी छ ।
अन्य शक्तिसँग किन गठजोड हुन सकेन ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि दल दर्ता र आफ्नो अवस्था बुझ्नका लागि विभिन्न देशमा पुगेका थिए । विदेशमा रोजगारी, अध्ययन र व्यवसायमा संलग्नहरूसँग संवाद गरेर फर्केका कुलमानले दल दर्ता गर्ने चर्चा अलि अघि देखि नै चलेको थियो ।
उनी विभिन्न मुलुक फर्केपछि नेपालमा जेनजी विद्रोह भयो । जेनजी विद्रोहको बलमा चुनावी सरकारमा मन्त्री बने । विद्युत् प्राधिकरणमा करिब दुई कार्यकाल कार्यकारी निर्देशक बनेका कुलमानको अघिल्लो पदावधिमा ‘लोडसेडिङ हटाएको’ जस उनलाई जाने गरेको छ ।
त्यही बलमा राजनीतिमा होमिने निर्क्यौल गरेका कुलमानले मन्त्री भएलगत्तै दल गठनका लागि विभिन्न पक्षसँग संवाद गरेका थिए ।
वैकल्पिक शक्ति, समाजमा राम्रो छबि बनाएका व्यक्तिहरू, अभियन्ताहरूसँग सहकार्य वा पार्टी एकता गर्ने गरी संवादमा रास्वपा पनि जुटेको थियो । कुलमान मन्त्री भएको केही समयपछि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र उनी वीचमा लामो संवाद भएको थियो ।

त्यहाँ वाग्ले कुलमानका लागि उपसभापतिको पद नै छोड्न तयार भएको बताइरहेका थिए । रास्वपाको सभापति आफू हुनुपर्ने, दलको नाम, चुनाव चिन्ह लगायत परिवर्तन गर्नुपर्ने शर्त कुलमानले राखेपछि रास्वपासँग उनको संवादको च्याप्टर क्लोज’ भएको थियो ।
रास्वपाका शीर्ष तहका एक नेताले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘कुलमानजीको अलि बढी महत्वकांक्षा देखियो । सभापति रवि पदमुक्त गरेर त्यो पदमा अर्को व्यक्तिलाई ल्याउने, चुनाव चिन्ह फेर्ने, नाममा उज्यालो शब्द राख्नुपर्ने उहाँको शर्तमा सहमत हुन सकिएन ।’
व्यक्ति आयात गरेर नेतृत्वमा राख्न नसकिने रास्वपाले विस्तारित बैठकबाट समेत स्पष्ट पारेको छ ।
शुक्रबारदेखि जारी विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले सभापतिमा अर्को व्यक्ति ल्याउन नसकिने राजनीतिक प्रतिवेदनमा स्पष्ट पारेका छन् । अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘पार्टी रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भिर्त्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा–हुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन ।’
रास्वपासँग तत्कालका लागि च्याप्टर क्लोज भएपनि कुलमानले काठमाडौंका मेयर बालेन शाह, विवेकशील साझा, पूर्वमन्त्री सुमना, जेनजी अगुवा सुदन गुरुङ पक्ष लगायतसँग संवाद गरिरहेका थिए । तर, ती सबै पक्ष जोडिएर नयाँ दल गठन हुने निष्कर्ष शुक्रबार साँझसम्म हुन सकेको छैन । अन्य पक्षसँग सहमति नभएपनि दल दर्ता गर्ने निष्कर्षमा कुलमान पुगिसकेका छन् ।
काठमाडौंका मेयर बालेन पक्षधर कुलमानलाई अध्यक्ष स्वीकार्न तयार छन् । विभिन्न पक्षमा संलग्न एक व्यक्तिका अनुसार, पूर्वमन्त्री सुमनाले कुलमानलाई अध्यक्ष स्विकार्न हिच्किरहेकी छन् । अर्को पक्ष, विवेकशील साझाले कुलमान भन्दा जेनजीको अगुवा वा अन्य कुनै व्यक्ति भए उपयुक्त हुने धारणा राखेको थियो ।
नयाँ दल बनाउन सक्रिय रहेर संवादमा जुटिरहेका एक व्यक्तिका अनुसार कुलमान दल दर्ता गर्ने हतारो थियो । अन्य पक्षले एजेण्डामा सहमति गरेर जाऔं भन्नेमा कुरा अड्केको संवादमा सक्रिय एक नेताले जानकारी गराए । उनले भने, ‘एउटा चुनावका लागि मात्रै दल गठन हुने होइन । मुद्दाहरूमा पनि सहमति गरेर जाऔं भन्ने हाम्रो विचार थियो । कुलमान पक्षको अहिले दल बनाएर चुनावमा गइहालौं भन्ने थियो,’ संवाद संलग्न ती व्यक्ति भन्छन्, ‘चुनावमा जितेपछि सुधार गर्न गर्न सकिन्छ । चुनाव जितेपछि अरु कुराहरू मिल्दै जान्छन् भन्ने कुलमान पक्षको कुरा थियो ।’
उनका अनुसार तत्काल एकवद्ध हुन नसक्नुमा रास्वपाको विस्तारित बैठकको निर्णयको प्रतिक्षा गर्नु पनि एक कारण हो ।
चरण चरणमा संवाद भएपनि वैकल्पिक शक्तिहरू एकठाउँमा आउन नसकिरहेको संकेत बिहीबार पूर्वमन्त्री सुमनाले गरेकी थिइन् । नयाँ दलमा नेतृत्व कसले लिने विषयले सहमति जुट्न नसकेको उनको निर्क्यौल थियो ।
‘परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न । त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ । यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देख्दछु,’ सुमनाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिने विकल्प पनि सुमनाले अघि सारेकी छन् । नयाँ दलको नेतृत्वमा कुरा नमिलेपछि उनको प्रश्न छ, ‘कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न ?’
प्रतिक्रिया 4