+
+
Shares

जेनजी अगुवाको समर्थनमा खुल्दैछ नयाँ दल, यी हुन् सम्भावित अनुहार

दुई दिनभित्र घोषणा हुने तयारीमा रहेको दलको चुनाव चिह्न बिजुलीको चिम हुनेछ । अगुवाहरू दलको नाम तथा खाकासहित सार्वजनिक हुँदैछन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ कात्तिक १६ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आउँदो चुनावका लागि नयाँ दल दर्ता गर्न १३ दिन बाँकी रहँदा सुदन गुरुङ समूहले पार्टी गठनमा आन्तरिक तयारी गरिरहेको छ।
  • गुरुङ समूहले कुलमान घिसिङ र सुमना श्रेष्ठसँग निरन्तर छलफल गरी नयाँ दल छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
  • पार्टी नेतृत्वमा टुंगो नलागे पनि कुलमानले सरकार छोडेर नेतृत्व गर्ने सम्भावना उच्च छ र सुमना उपाध्यक्ष बन्ने देखिन्छ।

१६ कात्तिक, काठमाडौं । आउँदो चुनावका लागि नयाँ दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने समय १३ दिन बाँकी रहँदा जेनजीसहितका केही नेताहरू निरन्तर छलफलमा छन् ।

एकातिर, रक्षा बम, युजन राजभण्डारी लगायतका युवाले ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरेका छन् । अर्कोतिर, जेनजी मुभमेन्ट अलायन्स भन्दै अमित खनाल ‘उर्जा’ लगायतले चुनाव केन्द्रित अभियान चलाइरहेका छन् ।

यद्यपि, यी समूह आफैँ दलको रूपमा चुनावमा जानेभन्दा पनि चुनावलक्षित बहस चलाउने र जनचेतनामा काम गर्ने बताइरहेका छन् ।

जेनजी आन्दोलनमा संयोगबस अगुवाको रूपमा उदाएका सुदन गुरुङ समूह भने दलको लागि आन्तरिक गृहकार्यमा देखिन्छ । कोही लोकप्रिय व्यक्तिलाई अघि सारेर नयाँ दल बनाउने योजनाबारे यो समूहभित्र छलफल चलिरहेको छ ।

यो समूहले प्रदेश संयोजक बनाएर केही समय अघिदेखि नै आन्तरिक संगठन मजबुत बनाउन काम गरिरहेको थियो, जसले केही दिनभित्र हरेक जिल्ला तहमा पनि संयोजक तोकेर अगाडि बढ्ने तयारी गरिरहेको छ ।

‘हामी आन्तरिक रूपमा मजबुत हुन संगठन बनाइरहेका छौँ । केही दिनमै तपाईंहरूलाई ७७ वटै जिल्लाका संयोजकका नाम–सूची उपलब्ध गराउँछौँ,’ एक प्रदेश संयोजकले अनलाइनखबरसँग भने ।

उनका अनुसार प्रदेश संयोजकहरू आन्तरिक संगठन बलियो बनाउन लाग्दै गर्दा शीर्ष नेतृत्व (सुदन गुरुङ र उनीनिकट समूह) भने दल खोल्ने विषयमा विभिन्न व्यक्ति वा समूहसँग निरन्तर छलफलमा छन् ।

‘दल खोल्ने विषयमा छलफल भइरहेको सत्य हो । तर कसरी कस्तो दल आउँछ भन्ने टुंगो भने लागिसकेको छैन,’ ती प्रदेश संयोजकले भने ।

गुरुङनिकट स्रोत पनि दल खोल्ने विषयमा मोटामोटी ६० प्रतिशत सहमति भइसकेको बताउँछ । यद्यपि, यो समूहभित्रै सहमति भने जुटिसकेको छैन ।

समूहभित्र तत्काल दल खोल्न वा कोहीसँग जोडिन हतार गरिहाल्ने कि जेनजी आन्दोलनको रक्षा गरेर छुट्टै तरिकाले जाने भन्ने विषयमा मतभेद देखिन्छ । कतिपयले दल खोलेर जानुपर्ने बताइरहँदा कतिपयले भने तत्काल आन्दोलनको मर्म जोगाउन सडकमै रहनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

यद्यपि, समूहभित्र विभिन्न बहस र विषय आए पनि यो समूह दल खोल्ने र त्यसको लागि आन्तरिक तयारीमा लागिरहेको देखिन्छ । ‘जे भने पनि आन्दोलन जोगाउन नै जेनजीसहितको समर्थनमा नयाँ दल चाहिन्छ । त्यो दलबारे छिट्टै सबै कुरा सार्वजनिक हुन्छ,’ गुरुङनिकट स्रोतले अनलाइनखबरसँग भन्यो ।

यसरी भित्रभित्रै पार्टी गठनको कुरा पक्कापक्की भइसके पनि सुदन गुरुङ समूहका प्रदेश कमिटीहरू अधिकांश कुरामा बेखबर जस्तै देखिन्छन् ।

स्रोत भन्छ, ‘उहाँहरू हाम्रो लागि ब्याक–फोर्सजस्तै हो । पछि परिआए संगठनदेखि अन्य अभियानको लागि यी समूह महत्वपूर्ण छन् । तर यो उच्चस्तरको भेटघाट र पार्टी गठननजिक पुगेको कुरामा भने उहाँहरू त्यति जानकार हुनुहुन्न ।

गुरुङसहितका व्यक्ति जोडिएर बन्ने यो दल कस्तो हुन्छ त ? स्रोतका अनुसार यो समूहले चर्चित अनुहार खोजिरहेको छ । आफूहरू मात्र हुँदा विश्वसनीयता कम हुनसक्ने जोखिम देखेकाले कुनै लोकप्रिय व्यक्तिलाई अघि सारेर जाने ध्याउन्नमा यो समूह छ ।

यसको लागि विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङ र पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ लगायतसँग निरन्तर छलफलमा छ, जसले चाँडै नै मूर्त रूप लिएर पार्टीको रूपमा सार्वजनिक हुने गुरुङनिकट स्रोत बताउँछ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ‘बालेन्द्र’ सँग छलफल गर्ने भनिए पनि प्रत्यक्ष संवाद नभएको स्रोतको दाबी छ । तर बालेन सचिवालयका विभिन्न व्यक्तिहरू भने यो समूहसँग निरन्तर छलफलमा छन् ।

त्यसैले कुलमान घिसिङ वा सुमना श्रेष्ठलाई नेतृत्व स्वीकारेर सुदन गुरुङ, सागर ढकाल लगायतका व्यक्ति जोडिएर नयाँ पार्टी घोषणा हुने तयारी चलेको छ । यो पार्टीमा तत्काल बालेन आफैँ नजोडिए पनि उनका सचिवालय वा उनी निकटका केही व्यक्ति भने जोडिने विश्वस्त स्रोतले बतायो ।

गुरुङ समूहले पार्टीमा आफू जोडिनको लागि केही सर्तहरू पनि अघि सारिरहेको छ । पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने, क्षमताका आधारमा ल्याटरल इन्ट्री गर्ने सुविधा हुनुपर्ने र संविधानवादलाई मान्नुपर्ने जस्ता प्रस्ताव यो समूहले सारेको छ । यो प्रस्तावमा सहमत हुनेहरूबीच नयाँ दलको लागि संवाद भइरहेको स्रोतले बतायो ।

पार्टी नेतृत्वमा को रहने भन्ने चाहिँ अहिलेसम्म टुंगो लागिसकेको छैन । कुलमान घिसिङले पार्टीको नेतृत्व गर्ने भए तत्काल सरकार छोड्नुपर्ने कतिपयको माग छ । घिसिङले सरकार छोडेर आए पार्टीको नेतृत्व गर्ने सम्भावना उच्च देखिन्छ ।

त्यसो हुँदा सुमना श्रेष्ठ उपाध्यक्ष हुँदै सुदन गुरुङ, सागर ढकालले पनि महत्वपूर्ण पद लिने देखिन्छ । यो पार्टीको केन्द्रीय कमिटीमा जेनजीसहितका सदस्य रहने स्रोतले बतायो ।

‘नामको हकमा पनि विभिन्न नामहरूबारे सुझाव आइरहेका छन् । चुनाव चिह्न चाहिँ बिजुलीको बल्ब (चिम) राख्न करिबकरिब सहमति देखिन्छ । सम्भवत: दुई दिनभित्र पार्टीका सबै विस्तृत विवरण तपाईंहरूले थाहा पाउनुहुन्छ,’ पार्टी गठनको लागि आन्तरिक रूपमा सक्रिय एक सदस्यले अनलाइनखबरसँग भने ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?