Comments Add Comment

शल्यक्रियाको पर्खाइमा महिलाको मृत्यु, मृत्युपछि कोरोना पुष्टि

३१ भदौ, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएकी एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

पित्तथैलीको शल्यक्रियाका लागि भर्ना भएकी मोरङ बेलबारी नगरपालिका– ७ बाहुनीकी ६४ वर्षीय महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

कलेजका प्रबन्धक नारायण दाहालका अनुसार महिला २८ भदौमा भर्ना भएकी थिइन् । अत्यधिक पेट दुख्ने समस्या देखिएपछि भर्ना भएकी उनको पित्तथैलीमा पत्थरी देखिएको थियो ।

अस्पतालले शल्यक्रिया गर्नुअघि कोरोना संक्रमण परीक्षण गर्नुपर्ने बतायो । पीसीआर परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै मंगलबार राति महिलाको मृत्यु भएको हो । बुधबार रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको दाहालले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर अवस्थाका बिरामीको उपचारका लागि पीसीआर रिपोर्ट नपर्खी सतर्कता सावधानी अपनाएर उपचार गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ । तर नोबेलमा पीसीआर रिपोर्ट पर्खदा पर्खदै महिलाको मृत्यु भएको हो ।

दाहालका अनुसार महिलाको बुधबार शल्यक्रिया गर्ने तयारी थियो । मृतक महिलामा अत्याधिक पेट दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या भएर अस्पताल आएकी थिइन् ।

यी महिलाको मृत्युसँगै मोरङको बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि बेलबारी – ५ की एक वृद्धाको मृत्यु भएको थियो । मोरङ जिल्लाभरमा मृतकको संख्या २९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment