Comments Add Comment

संक्रमण पुष्टि भएको एक महिना नहुँदै गयो ज्यान

१ असोज, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ कि ५७ वर्षीया महिला यस वर्ष हरितालिका तीजमा व्रत बसिन् । उनी मात्रै होइन वरपरका सबै मिलेर पूजा गरे । त्यसको केही दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भयो ।

उनीसँगै व्रत बसेका ७० प्रतिशत बढीमा संक्रमण पुष्टि भएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ‘उनका परिवारका सबै सदस्य र उनको घरको डेरामा बस्ने गरी ८ जनामा संक्रमण पुष्टि भएको हो,’ जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘अहिले ७ जना ठीक भइसके । उहाँ आज बित्नु भयो ।’

गत भदौ १७ गते ती महिलामा कोरोना पुष्टि भएको थियो । उनमा संक्रमण सुरु हुँदाबाटै सास फेर्न  समस्या भयो । १९ गते उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भइन् । ‘त्यो बेलादेखि नै उनको स्वास्थ्य गम्भिर अवस्थामा थियो,’ जनस्वास्थ्य निरीक्षक उपाध्यायले भने, ‘सुरुमा उहाँलाई आइसियु र त्यसपछि भेन्टिलेटरमा राखियो ।’

१९ गते अस्पताल भर्ना भएपछि पनि स्वास्थ्यमा सुधार नआएपछि २१ भदौमा प्लाज्मा थेरापी गरियो । धनगढी उपमहानगरपालिका १४ का एक किशोरले महिलाको लागि प्लाज्मा दिएका थिए । सुदूरपश्चिम प्रदेशमा उनीमै पहिलो पटक प्लाज्मा थेरापी गरिएको थियो । तर सुगर र थाइराइडबाट पनि पीडित उनको स्वास्थ्यमा सुधार आएन । उनको प्लाज्मा थेरापी गरिएको १० दिनपछि मृत्यु भयो ।

समुदायमा संक्रमण

बुधबार धनगढीमा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये सबै स्थानीय हुन् । एक १९ वर्षीया किशोरी घरबाट बाहिर ननिस्किएको ३ महिना भयो ।

‘परीक्षा आउँदै छ त्यसैले बाहिर कहि निस्केको छैन कसरी संक्रमित भए अचम्म लाग्यो,’ संक्रमित किशोरीलाई उद्धृत गर्दै जनस्वास्थ्य निरीक्षक उपाध्यायले भने ।

पछिल्लो समय धनगढीमा स्थानीय संक्रमण बढिरहको छ । तीमध्ये अधिकांसको ट्राभल हिस्ट्री छैन ।

धनगढीमा अहिले १९२ जना एक्टिभ केस छन् । तीमध्ये सबैजसो स्थानीय हुन् । ३६ सयको पिसिआर परीक्षण गर्दा  धनगढीमा ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समुदायस्तरमा कोरोना फैलिएको स्वास्थ्य शाखाले जनाएको छ । बुधबार मृत्यु भएकी महिलामा पनि स्थानीय संक्रमण भएको हो । यसअघि मृत्यु भएकी एक महिलामा पनि स्थानीय संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment