Comments Add Comment

के देशमा अवसर छैन र ? मारवाडी समुदायलाई हेरौं

दुई–अढाई शताब्दीदेखि हामी संसारमा कसैको गुलाम बनेनौं भन्ने सामूहिक आत्मरति लिइरहेका छौं । यद्यपि, चुलो बाल्नका लागि, नुन–मट्टितेल, बिजुलीजस्ता आधारभूत आवश्यकताका लागि विदेशीसित जहिले पनि हात थापिरहेका छौं ।

एकातिर गुलाम बनेका छैनौं भन्दै भट्याइराख्ने, अर्कोतिर इतिहासमा थुप्रै देशलाई गुलाम बनाएकै देशतिर आफ्नो भविष्य खोज्न पनि हामीले छाडेका छैनौं ।

आधारभूत कुरामा आत्मनिर्भर बनेमात्र स्वतन्त्रताको कुराले अर्थ राख्छ भन्नेतिर सायद हामीले ध्यान दिन जरुरी ठानेनौं । हामी शिक्षा, स्वास्थ्य, सबैमा परनिर्भर छौं । अन्य उपभोग्य सामग्रीका अतिरिक्त शिक्षाका नाममा, स्वास्थ्य सेवामा हामीले खर्बौं विदेशमा बुझाएका छौं । राजनीतिक विचारधारा र आन्दोलनमा पनि हामी विदेशीको मुखापेक्षी भएको इतिहास छ– ७ साल र १२ बुँदे यसका उदाहरण हुन् । तर पनि हामी संसारमा कहिल्यै कसैको अधीनमा रहेनौं भनेर सामूहिक मूर्खता गरिरहेका छौं ।

लक्ष्मण पन्त

मेचीदेखि महाकालीसम्म लाखौं बिघा जमिन बाँझो छ । विदेशबाट आएको ‘रेमिट्यान्स’को सबैजसो हिस्सा खानेपिउने चिज, लत्ताकपडा किन्दा उतै फर्किन्छ । तर पनि हामी रेमिटेन्सले देश धानेको भन्दै आत्मरतिमा बाँचेका छौं । खाडी मुलुकमा बगाउने पसिना देशकै माटोमा बग्ने हो भने कम्तिमा पनि खर्बौंको खाद्यान्न, फलफूल तरकारीको आयात गर्नुपर्ने थिएन । हामी सबै सामूहिक मूर्खताको शिकार भएका छौं ।

यसमा मुख्यतया सरकार र सरकार सञ्चालन गरेको दल तथा समाजको अगुवा बनेका राजनीतिक दलले पहल लिनुपर्ने हो तर सबै मौन छन् । मुलुकमा खेतीपातीको प्रवर्द्धन गरेर जनशक्तिलाई यतै अड्याइराख्ने योजना बन्नुपर्नेमा सबै दलहरू आफ्नै ‘खेती’मा व्यस्त छन् । यो सामूहिक मूर्खताको पराकाष्ठा हो जसको अगुवाई देशको मुहार बदल्ने कसम खाएका दलहरूले नै गरिरहेका छन् ।

गुमेको भागसहितको नक्सा प्रकाशनको वर्तमान सरकारको स्वागतयोग्य कदममा हामी रमाउने र आत्मरति लिने र त्यसलाई भजाउने काममात्र भएको छ । तर गुमेको भूभाग कसरी फिर्ता लिने, नेपालको सार्वभौमसत्तालाई गिज्याइरहेको भारतसितको खुलासीमालाई कसरी नियन्त्रण गर्ने वा असमान सम्बन्धलाई कसरी समानताको पटरीमा ल्याउने भन्ने कुरामा मौन छौं । यसमा पनि हामी सामूहिक मूर्खताको शिकार भएका छौं ।

नागरिकताको विषय र त्यससँंग जोडिएको राष्ट्रियताको विषय पनि हाम्रो आत्मरति, अतिरञ्जना र सामूहिक मूर्खताको शिकार भएको छ । नेपालका बौद्धिक प्रतिभासमेत युरोप–अमेरिकातिर जाँदैछन् । उतैको नागरिक बनेका छन् वा त्यसक्रममा छन् ।

प्रतिभा पलायन मुलुकले भोगेको अर्को ठूलो समस्या बनेको छ । बरू हामीले विदेशी नै भए पनि प्रतिभा कसरी आकर्षित गर्ने भन्नेतिर पो छलफल चलाउने कि ! किनकि अमेरिकालाई बनाउने युरोपियन, अफ्रिकन, ल्याटिन अमेरिकन र एसियन आप्रवासी हुन् । सिंगापुरलाई भारतीय र चिनियाँ आप्रवासीले बनाए । कतार, दुबई विदेशीले रंगीचंगी पारे ।

देशमा अवसर छैन भन्नेहरूका लागि पनि मारवाडी समुदायको उद्यमशीलता सायद एउटा गतिलो जवाफ हो । त्यसैले अब राष्ट्रवादको भाष्यलाई नया शिराबाट निर्माण जरुरी देखिन्छ

केही हदसम्म नेपालको हकमा पनि यही कुरा लागू हुन्छ । विगतमा राणाहरूले उद्योग–व्यापारका लागि कलकत्ता रोज्दा चौधरी, गोल्छालगायतका व्यवसायिक घरानाले नेपालजस्तो यातायातको कुनै पनि साधन नभएको ठाउँलाई आफ्नो कर्मथलो बनाए । त्यसको विपरीत, आफ्नो मुलुक कहिल्यै गुलाम नभएको मिथ्याभाष पाल्ने आफूलाई खाँटी नेपाली ठान्नेहरूले सुख र दौलतका लागि बेलायती वा भारतीय सेना रोजे । अब कसलाई राष्ट्रवादी भन्ने !

थोरै भएपछि नेपालमा उद्योगहरूको जग बसाल्ने मारवाडीहरू राष्ट्रवादी कि निजी समृद्दिका लागि विदेश जान मरिहत्ते गर्नेहरू राष्ट्रवादी । हाम्रो मुलुकको जनशक्तिलाई विदेश जान बाटो खोलिदिनेहरूले मारवाडी समुदायले देश खायो भनेर गुनासो गर्नुको कुनै अर्थ रहन्छ र ! मुलुकलाई कमसेकम एक हजार प्रतिभावान ‘चौधरीहरू’को आवश्यकता छ । मुलुकलाई कमसेकम ‘कर्ण शाक्य’ र उनीजस्ता १० हजार प्रतिभाशाली उद्यमीहरूको आवश्यकता छ, विदेशमा अवसर देख्ने पलायनवादीहरूको होइन, चाहे उनीहरूले जति नै देशभक्तिका कुरा गरून् वा उनीहरूले मुलुकमा अवसरै नभएको मिथ्या कुरा किन नगरून् ।

देशमा अवसर छैन भन्नेहरूका लागि पनि मारवाडी समुदायको उद्यमशीलता सायद एउटा गतिलो जवाफ हो । त्यसैले अब राष्ट्रवादको भाष्यलाई नया शिराबाट निर्माण जरुरी देखिन्छ ।

काठमाडौंका दशौं लाख जनसंख्यालाई बिहानैबिहानै ताजा फलफूल र तरकारी उपलब्ध गराउने मजदुरहरूलाई आफ्नै नागरिकका रूपमा सम्मान गर्ने कि विदेशी भनेर अपहेलित गर्ने ? मुलुकको सेवा गरेकालाई विदेशी भनेर दुत्कार्ने अनि विदेशमा भविष्य देखेर मुलुकबाट पलायन हुनेलाई नागरिक ठान्ने यो द्वैधचरित्र र सामूहिक मूर्खताबाट हामी मुक्त हुनु जरुरी छ ।

मुलुक यतिखेर अर्को एउटा सामूहिक मूर्खताको शिकार हुन खोजेको छ– कुलमान प्रकरणमा । हिजोदेखिका पाइपलाइनमा रहेका जलविद्युत उत्पादनका योजनाबाट विद्युत उत्पादन सुरु हुन लाग्दै गर्दा र भारतबाट केही सय मेगावाट बिजुली आयातको योजनाले पूर्णता पाउँदै गर्दा कुलमानले पदभार ग्रहण गरेपछि सीमित रूपमै भए पनि बिजुलीको सप्लाइमा सुधार आएको हो । कुलमानले जादुको छडी घुमाएर वा हावाबाट बिजुली उत्पादन गरेर लोडसेडिङको अन्त्य भएको होइन ।

स्वयं कुलमानले पनि ‘मैले त आफ्नो कर्तव्यमात्र पुरा गरेको हो यो टिमवर्कको प्रतिफल हो’ भनेर वक्तव्य दिइसक्दा पनि जनमत अर्को मूर्खताको शिकार भएको देखिन्छ । अझै सत्ताधारी पार्टीकै एकजना वरिष्ठ नेताका तर्फबाट कुलमानको पुनर्नियुक्तिको पक्षमा वकालत गरेको देख्दा अचम्म लाग्छ– विशेषतः सम्बन्धित नेतृत्वकै निकटस्थ व्यक्तिहरूको जलविद्युत क्षेत्रमा लगानीलाई हेर्दा ।

बुझ्नैपर्ने कुरा यो हो कि, जलविद्युत क्षेत्र खर्बौंको लगानी भएको क्षेत्र हो । त्यसैले कुलमानको पुनर्नियुक्तिको पक्षमा यति ‘जनमत’ उर्लिएको देख्दा जनमतको अपमान गरेको बात लागे पनि यो कहीँ नै कहीँबाट प्रायोजित छ भनेर भन्नैपर्ने हुन्छ । यो प्रयोजनमा जलमाफियाको हात छैन भनेर भन्न सकिन्न । एकपटक कुलमानबाट नै ‘मेरो यो पुनर्नियुक्तिमा कुनै रुचि छैन’ भन्ने कुरा नआउँदासम्म शंकाको सुई उनीतर्फ नै सोझिन्छ । कुलमान प्रकरणमा पनि नेपाली जनता सामूहिक मूर्खताको शिकार भएका छन् भन्दा अन्यथा हुने छैन ।

अब ‘लोडसेडिङ अन्त्य’ गरिएको कुरा गरौं । मुलुकमा तीन करोड जनसंख्याका लागि अहिले जम्मा चानचुने हजार– बाह्रसय मेगावाट सप्लाइ छ भनिएको छ । हाम्रो आफ्नो उत्पादन एक हजार मेगावाटभन्दा पनि कम छ । विद्युतको गुणवत्ता हेर्दा लोडसेडिङको अन्त भएको भए बत्तीले शहर बस्ती झिलिमिली पारेको देखिनुपर्ने तर शहर–बस्ती झिलीमिली छैनन् । त्यहाँ त मात्र टिलपिल बिजुली बलेको देखिन्छ । शहरभित्र बत्ती खोज्नुपर्ने अवस्था छ ।

झिलिमिली के हो भन्ने कुरा बुझ्न लण्डन, वासिङ्टन वा दिल्ली–बम्बई गइरहनु पर्दैन । बीस मीटरको फरक दुरीमा रहेका सुनौली बजारका नेपाल र भारततर्फका पसलहरूलाई बेलुकी सात–आठ बजेतिर गएर हेर्दा पुगिहाल्छ, झिलिमिली के हो भन्ने ।

भारततर्फ हेर्दा आँखै तिरमिराउने झिलिमिली नेपालतर्फ हेर्दा बल्बको उज्यालो कता छ भनेर खोज्नुपर्ने । अथवा ३० किलोमिटरमा रहेको भारतको सिलिगुढी बजार र काँकडभित्ता बजार रातिमा हेर्ने हो भने थाहा भइहाल्छ ।

हाम्रोमा बिजुलीको हालत कति टिठलाग्दो छ भन्ने कुरा बेलुकी आठ बजेतिर ‘पिक आवर’मा काठमाडौं ल्याण्ड गर्दै गरेको जहाजबाट टिलपिल टिलपिल बत्तीहरूका बीचमा शहर खोज्नुपर्ने अवस्थाबाट राम्ररी बोध गर्न सकिन्छ । अहिले नै एउटा ३–४ सय मेगावाट चाहिने मल कारखाना सञ्चालनका लागि आवश्यक पर्ने बिजुली हामीसित छैन ।

न त तीन–चार सय मेगावाटको थप औद्योगिक आवश्यता धान्ने बिजुली नै छ । घरमा दुइचार वटा ट्युबलाइट र बल्बले दिएको मधुरो प्रकाशलाई हामी लोडसेढिङमुक्त भनेर आत्मरति लिएका छौं । यो एउटा सामूहिक मूर्खता हो ।

सामूहिक मूर्खताको शिकार हुँदासम्म कुनै पनि मुलुक बन्न सक्तैन । तर सबै ‘तैँ चुप मै चुप छन्’ किनकि एकथरिलाई बोल्यो भने भएको पनि गुम्ला भन्ने डर अर्कोथरिलाई आउन थालेको गुम्ला भन्ने डर छ ।

(पन्त नेकपाका केन्द्रीय नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment