Comments Add Comment

सौराहाका होटल आजबाट खुल्ने

१ असोज, चितवन । कोरोना भाइरसको संक्रमण जिल्लामा बढ्न थालेपछि गएको साउन २८ गतेबाट बन्द भएका चितवन सौराहाका पर्यटकीय होटलहरु आज (विहीबार)बाट खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गएको साउन ३२ गतेबाट जिल्लाभर निषेधाज्ञा जारी गरेपछि यहाँका होटलहरु बन्द भएका थिए । गएको साउन १५ गतेबाट खुलेका सौराहाका होटल पनि १३ दिन खुलेर बन्द भएका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनले वुधवार एक साता निषेषाज्ञा थप गर्दै अन्य होटल सञ्चालनमा रोक लगाएको छ भने, पर्यटकीय होटल सञ्चालनको मात्रै अनुमति दिएको छ । प्रशासनले पर्यटन विभागबाट स्वीकृत प्राप्त पर्यटक स्तरीय होटलहरुले पर्यटन बोर्डले तोेकेको मापदण्ड पालना गरी विदेशी र स्वदेशी पाहुना राख्न अनुमति दिएको छ । सौराहाका अधिकांश होटलहरुले पर्यटन विभागबाट स्वीकृति लिएका छन् ।

जति पर्यटक आउँछन् त्यतिलाई सेवा दिन सक्ने गरी जनशक्तिको विन्यास गरेर काम थाल्ने योजना व्यवसायीहरुले बनाएका छन्

आशा

सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै होटल खोल्ने तयारी गरिएको क्षेत्रिय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । उनले भने, ‘अघिल्लोपटक पनि होटल त खोलेका हौं, तर पछि बन्द गर्नुपर्ने अवस्था आयो, तर अब यसपटक फेरि बन्द गर्नुपर्दैन भन्ने विश्वास लिएका छौं ।’

सरकारले अब फेरि लकडाउन गर्दैन भन्ने विश्वासका साथ व्यवसायीहरू होटल खोल्न तयार भएको घिमिरले बताए । ‘लामो दूरीका सवारी पनि चल्ने, हवाई सेवा पनि सञ्चालन हुने भएपछि केही आशा जागेको छ,’ घिमिरेले भने, ‘अहिले तत्कालै पर्यटक नआए पनि विस्तारै वातावरण सहज हुँदै जाला भन्ने विश्वासमा छौं ।’

जति पर्यटक आउँछन् त्यतिलाई सेवा दिन सक्ने गरी जनशक्तिको विन्यास गरेर काम थाल्ने योजना व्यवसायीहरुले बनाएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा सरकारले तोकिदिएको सुरक्षा मापदण्ड अपनाएर आउने पर्यटकलाई सेवा दिन तयार भएको बताए । उनले विदामा रहेका कर्मचारीहरुलाई बोलाएर होटलको सरसफाइसँगै आवश्यक व्यवस्थापनका काम थालिएको बताए । सौराहाका व्यवसायीहरुले लामो समय होटल बन्द हुँदा पुनः पहिलाकै अवस्थामा सञ्चालनमा ल्याउन थप लगानीको आवश्यकता रहेको बताउँदै आएका छन् ।

संघका अध्यक्ष भट्टराईले दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरेर अहिलेबाट तयारी गरिएको बताए । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध र एक जिल्लाबाट अर्को जिल्ला केही सहज हुँदा पर्यटकीय गतिविधि पनि विस्तारै बढ्ने विश्वास यहाँका व्यवसायीको छ । तत्कालै विदेशी पर्यटक नआउने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटन मन्त्रालयले सातामा दुई दिन विदा दिने प्रस्ताव पनि अघि सारेको छ ।

चिन्ता

दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार थपिन सक्नेप्रति व्यवसायी चिन्तित पनि छन् । होटल पार्क सफारी रिसोर्टका सञ्चालकका महेश खनालले ७ महिनासम्म लकडाउनमा घर बसेर आत्तिएका नेपालीहरूलाई घुम्नका लागि सौराहा घुम्न आउने वातावरण तयार गरिनुपर्ने बताए । होटल मात्रै सञ्चालन नगरी स्तरीय सेवा, कोभिडबाट सुरक्षा र शुल्कमा सहुलियत दिए व्यवसायीहरूलाई केही राहत मिल्ने सञ्चालक खनालले बताए ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाका रेष्टुरेन्ट होटलसँगै क्रमशः खुल्ने बताए । सौराहाका साना रेष्टुरेन्ट तथा पसलहरु होटलसँग आश्रित छन् ।

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन गर्ने तयारी व्यवसायीको छ । सौराहामा हुने पर्यटकीय गतिविधिमा जंगल सफारी, जंगल वाक, डुंगा सफारी, हात्तीलाई नुहाउने लगायतका पर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जंगल वाक हुने गर्दछ । यस्तै, बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ ।

होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्ज र सामुदायिक वन सफारीका लागि खुल्ला गरिनुपर्ने क्षेत्रिय होटल संघका अध्यक्ष दीपक भट्टराईले बताए । निकुञ्जले हात्ती, डुंगा, जीप सफारी, जंगल सफारीलगायतका पर्यटकीय गतिविधि सबै रोकेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताए । निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको छ । निकुञ्जले हरेक वर्ष जीप सफारी बन्द गरेर बर्खामा भत्किएको सडक बनाउने गर्दै आएको छ । बरालले भने, ‘सबैतिर सहज हुँदा निकुञ्ज मात्रै बाधक बन्दैन, पर्यटकीय गतिविधि गर्न रोकिदैन ।’

सौराहामा ११० होटल र ५६ वटा रेवानमा आवद्ध रेष्टुरेन्टहरु छन् । सौराहामा होटलमा प्रत्यक्ष रूपमा पाँच हजार पाँच सयभन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment