Comments Add Comment

गौतमबुद्ध क्रिकेट रंगशालालाई बाग्मती प्रदेशले तीन करोड दिने

धुर्मस भन्छन्– परियोजना अघि बढाउन टेवा पुग्छ

१ असोज, चितवन । कोरोना भाइरसको महामारी र जारी निषेधाज्ञाका बीच पनि चितवनको रामपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले तीन करोड रकम दिने भएको छ ।

धुर्मुश–सुन्तली फाउन्डेसनले बनाइरहेको रंगशालालाई बागमती प्रदेश सरकारको बुधवार बसेको बैठकले सशर्त अनुदान स्वरुप आर्थिक बर्ष २०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।

बागमती सरकारका प्रदेश सचिव डा. मानबहादुर बिके केही दिनअघि रंगशाला निर्माणको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा आएका थिए । डा. बिकेले प्रदेश सरकारले रंगशाला निर्माणका लागि सहयोग गर्ने वचन दिएर फर्किएलगत्तै प्रदेश सरकारले धुर्मुस–सुन्तली फाउण्डेशनको कामको उच्च प्रशंसा गर्दै अनुदान रकम दिने निर्णय गरेको हो ।

रंगशाला निर्माणको गतिमा आर्थिक अभावका कारणले कमी नआओस् भन्ने उद्देश्यले प्रदेश सरकारले सहयोग गरेको प्रदेश सचिव डा. बिकेले बताए । उनले आर्थिक सहयोगले समयमा नै रंगशाला निर्माणमा सघाउ पुग्ने बताए । प्रदेश सरकारले उपलब्ध गराएको रकमको खर्च तथा रेखदेख सम्वन्धमा भरतपुर महानगरपालिकालाई लेखेर पठाइने उनले बताए ।

रंगशाला निर्माणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले ३० लाख रकम सहयोग गरेको थियो । त्यसबाहेक अन्य कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग भएको छैन । जनस्तरबाट संकलित रकमबाट नै रंगशालामा निर्माणको काम भैरहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताए ।

बागमती प्रदेश सरकारले अनुदानमा उपलब्ध गराउने रकमले रंगशाला निर्माणमा टेवा पुग्ने अध्यक्ष कट्टेलले बताए । ‘प्रदेश सरकारबाट रकम प्राप्त भएपछि अन्य स्थानीय सरकारहरुले पनि सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं,’ अध्यक्ष कट्टेलले भने, ‘जनताको स्तरबाट मात्रै आएको सहयोगले यतिको काम गरेका छौं, अब सरकारको पनि थपिँदा अझै उत्साह बढेको छ, कामले थप गति लिन्छ, थप विश्वास आर्जन गरेकोमा खुसी छौं ।’ उनले राष्ट्रिय गौरवको परियोजना भएकाले केन्द्र सरकारले पनि रंगशाला निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

यसअघि, गत आर्थिक वर्षमा प्रदेश सरकारले दिने भनेको पाँच करोड रकम फ्रिज भएको थियो । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष दिने भनेको ६ करोड ४५ लाख रकम अझै दिएको छैन । कानुनी अड्चनका कारणले दिन नमिलेको र प्रदेश सरकारले दिएपछि रकम दिने भन्दै महानगरपालिकाले भन्दै आएको छ । महानगरले चालु वर्ष ४ करोड दिने भनेको छ ।

गएको माघमा रंगशाला निर्माणका लागि धनधाञ्चाल महोत्सव आयोजना गरी नगद करिब सात करोड उठाइएको थियो । महायज्ञमा जिल्लाका सबैजसो स्थानीय तहले आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए तर ती स्थानीय तहले पनि अहिलेसम्म सहयोग गरेका छैनन् । जिल्ला समन्वय समितिले दिने भनेको रकम पनि दिएको छैन ।

कहाँ पुग्यो निर्माण ?

कोरोना भाइरसको कारण गएको चैत ९ गतेबाट रोकिएको रंगशालाको काम गत बैशाख २० गतेबाट पुनः सुरू भएको थियो ।

हाल रंगशालामा १ सय ५० भन्दा बढी मजदुरलाई क्वारेटिनमा राखेर काममा लगाइएको छ । अब थप मजदुर ल्याएर काम गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजस्तो गति अझै नपाइरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।  रंगशालामा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) आफैँ पनि खटिरहेका छन् । पिलर उठाउने काम सुरु भएसँगै रंगशालाले विस्तारै आकार लिन थालेको छ । रंगशालामा प्याराफिट निर्माणको बेस र पिलरको काम भैरहेको छ । झण्डै १५ हजार दर्शक अट्ने प्याराफिट ‘ए’ स्ट्याण्डको काम धमाधम भैरहेको छ ।

प्याराफिट ‘ए’ को पिल्लरको काम जारी रहकै बेला प्याराफिट ‘बी’ को पनि काम सुरु भएको छ । प्याराफिट ‘बी’ पनि १५ हजार दर्शक क्षमताको नै हुनेछ । साथैं, प्याराफिट ए मा ढुंगाको वाल उठाएर पार्टेसन गर्ने काम पनि अघि बढेको छ ।

आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर मणि दासले दिएको जानकारी अनुसार एक लाइनमा पाँचवटा पिलर रहनेछ । त्यस्ता १४० पिलर खडा गरिएको छ । प्याराफिटको पहिलो स्टेप डीपीसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने अन्तिम पाँचौ पिलर २१ मिटर उचाइको हुने दासले बताए ।

रंगशाला निर्माणमा गत साउन मसान्तसम्म २३ करोड ७४ लाख ६४ हजार खर्च भइसकेको छ । परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म १८ करोड ५३ लाख ४२ हजार मात्र सहयोग प्राप्त भएको छ । विभिन्न सहयोगीहरूसँग ५ करोडभन्दा बढीको सामाग्री उधारोमा ल्याएर काम गरिएको छ । यसअघि बोलकबोल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा अगामी १८ महिना भित्र रंगशालाको काम सकिने विश्वास फाउण्डेशनलाई छ ।

२०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयबीच कृषि विश्वविद्यालयले चर्चेको २० विघा ६ कठ्ठा जग्गा रंगशाला बनाउन दिने त्रिपक्षीय सम्झौता भएको थियो । भरतपुर महानगरपालिकाले विश्वविद्यालयले दिएको बराबरको जग्गा अन्यत्र सोधभर्ना गर्ने भने पनि अहिलेसम्म गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment