News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटमा काठमान्डु गोर्खाजलाई हराएर विजयी सुरुवात गर्यो।
- अमेरिकी खेलाडी हर्मीत सिंहले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै खेलको प्लेयर अफ द म्याच घोषित भए।
- काठमान्डु गोर्खाजले जोखिमपूर्ण ब्याटिङ गर्दा खेल गुमाएको काठमान्डुका प्रशिक्षक मोन्टी देसाइले बताए।
३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबारको खेल रोमाञ्चक रह्यो । गत संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई हराएर प्रतियोगितामा विजयी सुरुवात गर्यो ।
सुदूरपश्चिमको यो जित त्यति सजिलै प्राप्त भएको जित भने होइन । खेलको सुरुवातमा खराब अवस्थामा भएपनि उतारचढावका बीच अन्त्यमा शानदार पुनरागमनका साथ सुदूरपश्चिमले प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
सुदूरपश्चिमको यो रवाफमा नायक बनेका थिए अमेरिकी खेलाडी हर्मीत सिंह । पछिल्लो समय उत्कृष्ट लयमा रहेका हर्मीतले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिए ।
हर्मीत सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले रवाफ जमाउँदै राजधानीको टोलीलाई हारको बाटो देखायो । ब्याटिङमा विस्फोट गराएका हर्मीतले बलिङमा पनि ‘गेम चेन्जिङ’ प्रदर्शन गरे ।

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डु गोर्खाज आजको खेलमा भने सुदूरको ‘तुफान’ सामू घुँडा टेक्न बाध्य भयो ।
कप्तान करण केसीले ४ विकेट लिँदै बलिङ आक्रमणको नेतृत्व गरेपनि ब्याटिङमा हतासिएर लय गुमाउँदा काठमान्डु गोर्खाजले खेल नै गुमाएको हो ।
हर्मीतले देखाएको कौशल
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमको सुरुवात खराब भयो । सुदूरले पहिलो ओभरमै २ ब्याटरको विकेट गुमायो ।
करण केसीको बलमा जोश ब्राउन एलबीडब्लु धरापमा परे भने विनोद भण्डारी क्याचआउट भए । यो दशा त्यतिमै सकिएन । करणकै अर्को ओभर एवं खेलको तेस्रो ओभरमा अस्ट्रेलियन पावर हिटर क्रिस लिन पनि सस्तैमा पेभिलियन फर्केपछि सुदूर ३ ओभरमा ४-३ को अवस्थामा थियो ।
पावरप्लेको अन्तिम बलमा इशान पाण्डे पनि ११ रनमा आउट भए भने १०औं ओभरमा आरिफ शेख र १४औं ओभरमा नरेन साउद पनि आउट भएपछि सुदूर ७२-६ को अवस्थामा पुगेपछि क्रिजमा हर्मीतको प्रवेश भयो ।
हर्मीतले १६औं ओभरमा मिलिन्द कुमारलाई ३ छक्का प्रहार गरे । त्यस ओभरमा सुदूरले कुल २१ रन जोड्यो । १७औं ओभरमा हर्मीतले एक चौका र ३ छक्का प्रहार गरे । त्यतिबेलासम्म सुदूरको स्कोर १२५ पुगिसकेको थियो ।

१९ बलमा अर्धशतक पूरा गरेलगत्तै हर्मीत क्याचआउट भए । सुदूरले २० ओभरमा १४७ रन बनाएर डिफेन्ड गर्न सकिने माहोल बनाएको थियो ।
बलिङमा पनि हर्मीत चम्किए । १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८७ रन बनाएको काठमान्डुले त्यसपछि लय गुमायो । १२औं ओभरमा हर्मीतले सेट ब्याटर आकाश त्रिपाठीलाई आउट गरे भने लगत्तै आदिल आलमलाई पनि एलबीडब्लुमा फसाए । त्यही ओभरमा खेल परिवर्तन भयो र काठमान्डु ९६-६ को अवस्थामा पुग्यो जहाँबाट पुनरागमन गर्नै सकेन ।
यही खेल कौशल प्रदर्शन गरेका हर्मीत खेलको प्लेयर अफ द म्याच घोषित पनि भए ।
हर्मीतबाहेक स्कट कुग्लेइन र हेमन्त धामीले पनि २-२ विकेट लिएका थिए । हेमन्तले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीलाई सस्तैमा आउट गरेर काठमान्डुलाई ब्याकफूटमा राखेका थिए ।
त्यस्तै कुग्लेइनले मिलिन्द कुमार र करण केसीलाई आउट गर्दै सुदूरका लागि जितको अन्तिम ढोका खोले ।
खेलपछि कुरा गर्दै सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटाले हर्मीतको प्रशंसा गर्दै उनलाई दिइएको भूमिका र जिम्मेवारी राम्रोसँग निभाएको उल्लेख गरे ।
‘हामी संकटपूर्ण अवस्थामा भएपछि दीपेन्द्र र हर्मीतलाई २० ओभर खेल्नुपर्छ भनेर भनेका थियौं, दीपेन्द्रले पनि आफ्नो भूमिका निभाए । हर्मीतले पनि धेरै राम्रो गरे’ टमाटाले भने ।
हतासिएको काठमान्डु
काठमान्डु गोर्खाजले सहज रूपमा जित्न सक्ने खेल हतासिएर गुमायो । अन्तिम ६० बलमा ६१ रन आवश्यक हुँदाको अवस्थाबाट काठमान्डुले खेल गुमायो ।
१० ओभरको समाप्तिमा ८७-३ को अवस्थामा रहेको काठमान्डुका लागि आकाश त्रिपाठी र जोन सिम्पसन खेलिरहेका थिए । ११औं ओभरमा सिम्पसन इशान पाण्डेको बलमा रिभर्स खेल्ने धुनमा एलबीडब्लु आउट भए । जबकि काठमान्डुलाई यो जोखिम लिन आवश्यक नै थिएन ।
१२औं ओभरमा त खेलको मोमेन्टम नै परिवर्तन भयो । हर्मीत सिंहले आकाश र आदिललाई आउट गरेपछि सम्पूर्ण दबाब काठमान्डुमा थुप्रिएको थियो ।
सिम्पसन आउट भएपछि क्रिजमा आएका मिलिन्द कुमारले आकाश त्रिपाठीलाई साथ दिइरहेका बेला आकाश कभरमा पावरलेस शट खेलेर क्याचआउट भए । मिलिन्दले त्यहीबेला अचम्मित भएर शट खेल्न आवश्यक नरहेको संकेत गरेका थिए । यो जोखिम लिन पनि काठमान्डुलाई आवश्यक देखिएको थिएन ।

६ विकेट गुमिसकेपछि काठमान्डुका ब्याटरमा दबाब थपिएको थियो । १५औं ओभरमा मिलिन्द पनि ठुलो शट खेल्ने क्रममा आउट भए । त्यसपछिको ओभरमा राशिद खान एलबीडब्लु आउट भए भने करण केसी ठुलो शट खेल्ने क्रममा क्याच आउट भए ।
यसरी अनावश्यक दबाब लिएर जोखिमपूर्ण शट खेल्दा काठमान्डु गोर्खाजले राम्रो अवस्थाबाट खेल गुमायो ।
खेलपछि काठमान्डुका प्रशिक्षक मोन्टी देसाइले पनि हर्मीतको प्रदर्शनको तारिफ गरे । उनले १० ओभरपछि ब्याटरले केही लय गुमाएको बताए ।
‘साझेदारी बन्नुपर्थ्यो, किनभने १४८ चेज गर्न सकिने योगफल थियो’ उनले भने ।
प्रतिक्रिया 4