+
+
Shares

केन्द्रिकृत सत्ता सन्चालनको दुष्प्रयास : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते ११:१९
Photo Credit : UP Lamichhane

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार केन्द्रिकृत सत्ता सन्चालनको ध्याउन्नमा रहेको बताएका छन् । संघीय संविधान जारी भए पनि सरकार त्यसको भावना र मर्मविपरीत हिँडेको नेता सिंहको आरोप छ ।

प्रदेश तथा स्थानीय सरकारलाई चाहिने कतिपय कानुन निर्माणमा सरकार उदासिन रहेको बताउँदै नेता सिंहले भने, ‘रवैया कस्तो छ भने संविधानमा जे लेखेता पनि उहाँहरु केन्द्रिकृत रुपमा जाने दुष्प्रयास गरिरहनु भएको छ ।’

आज जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा आज विहान ठमेलको चाक्सीबारीस्थित आफ्नै निवासमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘आम नेपाली जनताले यो सरकारको हरेक गतिविधिलाई एकदम सुक्ष्म तवरले विश्लेषण गरिरहेका छन् । यो संविधानको भावना र मर्मविपरीत कदम सरकारले उठाउनु हुँदैन भन्ने कुरा सबैको भनाइ रहेको छ ।’

सरकारले जनतालाई सुशासन दिनुपर्ने बेलामा कोरोनाविरुद्धको औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप उनले लगाए ।
सरकारका गलत कामबारे ब्याख्या गर्ने क्रममा वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास जग्गा प्रकरण, ओम्नी, यती होल्डिङ्सलगायतको प्रसंग उठाउँदै पूर्वउपप्रधानमन्त्री सिंहले भने, ‘थुप्रै करप्सनै करप्सन गर्न दुई तिहाइ मत दिएको त होइन नि । सुशासन होस्, जनताको पीरमर्कामा सरकारले सम्बोधन गरोस् भनेर दिएको हो ।’

गणेशमान सिंहले रैतीको अवस्थामा रहेका नेपालीलाई सार्वभौमसत्ता नागरिकको दर्जा दिलाउनमा ठूलो योगदान गरेको स्मरण गर्दै उनले आजको दिनमा सबै दलका नेता तथा कार्यकर्ताहरु गणेशमान सिंहको आदर्श र प्रेरणाको मार्गमा हिँडेमा मात्र नेपाली जनताको भलो हुने बताए ।

‘उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यही मार्गमा हिँडेको खण्डमा मात्रै नेपल र नेपालीको भलो हुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य सिंहले पिता गणेशमानलाई स्मरण गर्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?