
२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरिएकोमा साझा पार्टीले आपत्ति जनाएको छ ।
राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका र भ्रष्टाचारको आरोपसमेत लागेका व्यक्तिलाई लैजानु घातक भएको साझाको टिप्पणी छ ।
वामदेवलाई मनोनित गरेर राष्ट्रपतिले नै राष्ट्रिय सभाको गरिमा थप खस्काउन सहयोग गरेको र यो विडम्बना भएको साझाको बुझाइ छ ।
साझा पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो। लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो।’
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया-१ बाट पराजित भएका नेता गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि बिहीबार सपथ लिएका छन् ।
प्रतिक्रिया 4