Comments Add Comment

युवालाई विनाधितो ४ लाखसम्म कर्जा

२ असोज, बुटवल । तिलोत्तमा नगरपालिकाले जग्गा धितो राख्न नसक्ने निम्न आय भएकाहरुलाई लक्षित गरी विना धितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । कोरोना महामारीको कारण रोजगारीका अवसर संकुचित भइरहँदा नगरपालिकाले स्वरोजगार बन्न चाहने युवालाई नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चारलाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।

पहिलो चरणमा दुई करोड रुपैयाँ कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै सात सय मध्ये पहिलो चरणमा छनौट भएका ८७ जनालाई कर्जा दिन थालिएको हो ।

शुक्रबार नगरपालिकामा एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव घिमिरेले १५ जना लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण गरेका छन् । नगर प्रमुख घिमिरेले कर्जाको सदुपयोग गरी दिगोरुपमा व्यवसाय गर्न लाभग्राहीहरुलाई आग्रह गरे । नगरपालिकाले आगामी दिनमा सहुलियत कर्जा वितरणलाई विस्तार गर्दै जाने उनले बताए ।

प्रस्ताव पेश गरेकाहरुमध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले बताए ।

तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप ८ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना रहेको उनले बताए ।

नगरपालिकाले सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको संचित कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरेपछि बैंकले सहुलियत कर्जा दिएको हो ।

हालका लागि कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ३.९९ प्रतिशत र महिलाको हकमा वार्षिक २.९९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment