Comments Add Comment

पर्सामा मिर्गौला रोगीलाई कोरोना संक्रमण देखिएपछि …

२ असोज, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का समसुल होदाकी श्रीमतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भयो । मिर्गौलामा समस्या देखिएपछि नियमित डायलासिस गराउँदै आएकी उनमा संक्रमण पुष्टि भए पछि भर्ना गर्ने अस्पताल भएन ।

उनको जस्तै समस्या वीरगञ्ज महानगरपालिका–३ का ४५ मृगौला रोगी संक्रमितले पनि भोगे । उनलाई संक्रमण पुष्टि भएपछि बिहीबार बेलुका नै एम्बुलेन्स लिन आएको थियो । तर उनी मिर्गौलाका रोगी हुन् र नियमित डायलायसिस गराउनुपर्छ भनेपछि राख्ने ठाउँको अन्योल भएपछि फर्कियो ।

पर्सामा कोरोना संक्रमण पुष्टि भएकाहरुको मिर्गौलाको डायलासिस गराउनुपर्ने अवस्थामा कुन अस्पतालमा गराउने भन्ने टुंगो नहुँदा बिरामी समस्यामा परेका हुन् । पत्नीको उपचारको व्यवस्था मिलाउन समसुल कहिले नारायणी अस्पताल, कहिले प्रशासन कार्यालय त कहिले वीरगञ्ज हेल्थ केयर अस्पताल धाइरहे ।

‘डायलायसिस गराउन नपाए हात गोडा फुल्न थाल्छ । यहाँ त कोरोनाले भन्दा पनि उपचार नपाएरै मर्ने अवस्था आउने रहेछ’ उनले भने, ‘कहिले नारायणी अस्पताल त कहिले प्रशासन, अनि कहिले कुन अस्पताल जानुस् भनेर हैरान पारे, धेरै दौडधुपपछि एउटा पत्र बन्यो । अनि बल्ल हेल्थ केयर डायलायसिस गर्न तयार भयो ।’

डायलायसिसमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्था नारायणी अस्पतालले गर्ने ब्यहोरासहितको पत्र लिएर संक्रमितको आफन्त आएपछि हेल्थ केयर डायलायसिस सेवा दिन तयार भयो । उसले दुवै संक्रमितको शनिबार डायलायसिस गर्न समय दिएको छ । तर संक्रमितलाई राख्ने अस्पतालको अझै टुंगो लागेको छैन ।

किन आयो समस्या ?

हाल पर्साको नारायणी अस्पतालमा मिर्गौलारोगीको निशुल्क डायलासिस हुँदै आएको छ । यहाँ ३८ जना बिरामीले नियमित डायलासिस गराइरहेका छन् ।

यहाँका १० वटा डायलासिस मेसिनमध्ये ५ वटामात्रै सञ्चालनमा छ र बिग्रिएका मेसिन मर्मत गर्न कोरोना महामारीको जोखिमका कारण प्राविधिक आएका छैनन् । नारायणीमा कोरोना संक्रमितको डायलायसिस गराउँदा अरु ३८ जना डायलायसिस गराउनुपर्ने बिरामी अलपत्र पर्ने नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए ।

‘एउटा मेसिनमा ८/१० जना निर्भर हुन्छन्, दुई जना संक्रमितको डायलायसिस गराउँदा ३८ जना अलपत्र पर्ने अवस्था आउन दिनु त भएन नि !’ उनले भने ।

पर्सामा विगतमा कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएको वीरगञ्ज हेल्थ केयरले पनि मिर्गौला रोगीको डायलासिस गर्दै आएको थियो । तर संक्रमितको डायलासिस गर्दाको खर्च कसले ब्यहोर्ने भनी प्रश्न उठाएर उसले डायलासिस गर्न नमानेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने वीरगञ्ज हेल्थ केयरमै संक्रमितलाई राखिने र डायलासिसको प्रबन्ध पनि त्यहीँ गरिने बताए । ‘वीरगञ्ज हेल्थ केयरलाई हामीले छोडेका छैनौं । उनीहरुले डायलायसिस गराउनुपर्ने संक्रमितलाई राखेर सेवा दिनुपर्छ’ प्रजिअ तामाङले भने, ‘आवश्यक व्यवस्था अस्पतालले मिलाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment