Comments Add Comment

पत्रकारमाथि दुर्ब्यवहार गर्ने प्रहरी अधिकृतलाई कारबाहीको माग

२ असोज, काठमाडौं । पत्रकार संघ-संगठनहरूले समाचार संकलन गरिरहेका पत्रकारमाथि दुर्ब्यवहार गर्ने प्रहरी अधिकृतलाई कारवाहीको माग गरेका छन् । शुक्रबार नयाँ बानेश्वरमा अन्तर्वार्ता लिईरहेका अनलाइनखबरकर्मी रोयल आचार्य र चन्द्रबहादुर आलेलाई प्रहरीले दुब्र्यबहार गरेको थियो ।

आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लगायतका संघ-संगठनहरुले घटनामा संलग्न प्रहरी निरीक्षक डिल्लीराम सापकोटालाई कारबाही गर्न माग गरेका हुन ।

नाफिजका केन्द्रीय अध्यक्ष सिताराम भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नाफिज प्रेस स्वतन्त्रताको संवैधानिक हकको प्रत्याभुति र भयरहित वातावरणमा काम गर्न पाउने वातावरण निर्माण गर्न सरकार समक्ष अनुरोध गर्दै प्रहरी निरीक्षक डिल्लीराम सापकोटा नेतृत्वमा  रहेको टोलीले गरेको दुर्ब्यवहारमा संलग्नहरूलाई  कडा कारवाहीको माग गर्दछ ।’

नेपाल पत्रकार मञ्चले पनि घट्नामा संलग्न प्रहरीलाई कारवाहीको माग गरेको छ ।

‘अन्तर्वार्ता लिईरहेका पत्रकारहरूमाथि प्रहरीले गरेको दुर्ब्यवहारले प्रेस स्वतन्त्रताको हनन् मात्र गरेको छैन, अभिव्यक्ति स्वतन्त्रताको समेत धज्जी उडाएको छ’ मञ्चका महासचिव विमलकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रहरी प्रशासनबाट भएका यस्ता हर्कतले सम्पूर्ण प्रेस जगत र मानवअधिकारको समेत हनन् भएको महशुस गर्दै घटनाको स्पष्ट छानबिन गरी दोषीमाथि कडा कारवाहीका लागि सरकारसँग माग गर्दछ ।’

नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाले पनि प्रहरी ज्यादतीको कडा शब्दमा भत्सर्ना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment