Comments Add Comment

तीन करोड लिटर पानी हालेर भरिँदैछ रानीपोखरी

३ असोज, काठमाडौं । रानीपोखरी ५ वर्षपछि पुनः भरिने भएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरिरहेको हो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।

यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए।

यसअघि डिप बोरिङबाट पानी हालेपछि सम्पदा अभियान्ताले विरोध जनाएका थिए ।

थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिँदैछ । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिने चरणमा पुगेको छ ।

रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भवायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए । पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो ।

मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए । थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए ।

‘भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि लागि अनुरोध आए खानपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ’, थापाले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।

यो पनि पढ्नुहोस ‘स्विमिङ पुल’ बन्नबाट बचेको रानीपोखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment