Comments Add Comment

भूमिसुधारको पक्षमा सरोकारवालाको जोड

४ असोज, काठमाडौं । भूमिअधिकारको पक्षमा काम गर्दै आएको ‘सामुदायिक आत्मनिर्भर सेवा केन्द्र’ले आइतबार आफ्नो पाँच वर्षे रणनीति’ सार्वजनिक गरेको छ । कार्यक्रममा सहभागी सरोकारवालाहरुले भूमिसुधार र समतामूलक कृषि रणनीतिमा जोड दिएका छन् ।

रणनीति सार्वजनिक गर्ने कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति सांसद पूर्णाकुमारी सुबेदीले गरिब र भोकमरीमा बाँचेका पिँधका श्रमिक नागरिकलाई न्याय गर्न आवास विहीनलाई आवास र कृषि श्रम गर्नेलाई कृषि भूमि उपलब्ध गराएर मात्र समतामुलक समृद्धि कायम गर्न सकिने बताइन् ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले हाल १५ औं पञ्चवर्षीय योजना कार्यान्वयन भइरहेको र यो योजनाले तय गरेको दीर्घकालीन लक्ष्य पूरा गर्नका लागि भूमि सुधार अपरिहार्य रहेको बताए ।

पत्रकार चन्द्रकिशोरले हाल कृषिमा श्रम गर्नेहरुको संख्या घट्दै गएको र खेतीपातीमा संलग्न किसानलाई समाजमा हेयको दृष्टिकोणले हेरिने परम्परा रहेका कारण कृषि काममा लाग्नेका लागि पनि उत्प्रेरणाको खाँचो रहेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले भूमिसुधारको उद्देश्य सामाजिक न्याय र उत्पादन वृद्धि हुनुपर्ने र यसका लागि नागरिक संगठनको भूमिका महत्वपूर्ण हुने बताए ।

आत्मनिर्भर केन्द्र करिब तीन दशकदेखि भूमिसुधार एवं जोताहा किसानको पक्षमा क्रियाशील रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment