Comments Add Comment

बम पड्काएर १५ लाख फिरौती माग्ने समूहका एक फरार अभियुक्त पक्राउ

७ असोज, वीरगञ्ज । ईंट्टा उद्योगमा बम पड्काएर फिरौती माग्ने समूहको एक फरार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका–१ घर भएका ३६ वर्षीय कपिलदेव महतो पक्राउ परेका हुन् ।

परवानीपुर गाउँपालिका–४ स्थित एमएस ईंट्टा उद्योगका सञ्चालकलाई एसएमएस र फोनमार्फत धम्की दिँदै फिरौती माग्ने कार्यमा कपिलदेव समेत संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

घटनापछि फरार उनी केही दिनअघि नेपाल प्रवेश गरी पुनः आपराधिक गतिविधिमा संलग्न हुन लागेको सूचनाको आधारमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनी बारा र इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले कपिलदेवलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार मंगलबार राति १० बजे घेराबन्दी गरी परवानीपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिएका कपिलदेवलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

के थियो घटना ?

एमएस ईंट्टा उद्योगका सञ्चालकलाई बारा परवानीपुर गाउँपालिका–४ बस्ने वर्ष ३१ वर्षीय प्रमोद साह गोढको समूहले २/३ महिना पहिलादेखि पटक–पटक फोन गरी १५ लाख फिरौती माग गरेका थिए । फिरौती रकम दिन अस्वीकार गरेपछि २०७६ कात्तिक ४ गते ईंट्टा उद्योगमा बम विष्फोट गरिएको थियो । विष्फोटपछि ‘फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुनेछ ।’ भनी एसएमएस तथा फोनबाट धम्की दिइएको थियो ।

०७६ मंसिर ५ गते प्रमोद साह गोढको समूहले पूनः फोन गरी फिरौती रकम ३ लाख लिएर परवानीपुर ४ स्थित चैनपुरमा आउनु भनी बोलाएका थिए । ईंट्टा उद्योगका सञ्चालकले यसबारेमा प्रहरीलाई पनि जानकारी गराएका थिए । प्रहरीले त्यसबखत फिरौती रकम लिन पुगेका परवानिपुर–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जीतपुर–सिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका ३ बस्ने ३९ वर्षीय दिपेन्द्रकुमार धानुक समेत चारजनालाई पक्राउ गर्न सफल भएको थियो ।

उनीहरुविरुद्ध आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दा दर्ता गरिएको थियो । बारा जिल्ला अदालतको ०७६ माघ २७ गतेको आदेशले उनीहरुलाई पूर्पक्षका लागि कारागार कार्यालय वीरगञ्ज चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment