Comments Add Comment

आईपीएल : युएईमा मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

८ असोज, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ ।

उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको हो ।

युएईमा मुम्बईले आइपीएलमा पहिलो खेल जितेको हो । यसअघि सन् २०१४ मा युएईमा आइपीएल हुँदा मुम्बईले ५ खेल हारेको थियो । जितपछि २ खेलबाट २ अंक जोडेको मुम्बई राम्रो रनरेटसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

कोलकाताले भने सन् २०१३ पछि आइपीएलमा आफ्नो पहिलो खेल हारबाट सुरुवात गरेको छ ।

इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए । उनले १२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।

आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्ता दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे । मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए ।

मुम्बईका लागि ट्रेन्ट बोल्ट जेम्स व्याटिनसन जसप्रित बुमराह र राहुल चाहरले २-२ विकेट लिए । बुमराहले १६औं ओभरमा रसेल र मोर्गनलाई आउट गर्दै खेल मुम्बईको पक्षमा पारेका थिए ।

त्यसअघि अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको बानदार ब्याटिङमा २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ८० रन बनाए ।

अर्धशतकबाट ३ रनले चुकेका सूर्य कुमार यादवले रोहितलाई गतिलो साथ दिए र यी दुईले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । यादवले २८ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ४७ रन जोडे । कोलकाताका लागि शिवम माभीले २ विकेट लिए । सबैभन्दा महँगा बनेका कमिङ्सले ३ ओभरमा ४९ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment